Showing posts with label पत्रपत्रिका. Show all posts
Showing posts with label पत्रपत्रिका. Show all posts

Saturday, July 11, 2020

‘ए, त्यो त मैले उहिले पढेको’

पठन-संवाद

‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७) र ‘घर फर्किरहेको मानिस’ (२०६८) कविता संग्रह अनि ‘आफैँ आफ्नो साथी भएँ’ (२०६३) गीत संग्रहका लेखक रमेश क्षितिज कविता र गीतको क्षेत्रमा स्थापित नाम हो। प्रस्तुत छ, क्षितिजसितको पठन-संवाद  : 

कत्तिको फुर्सदमा हुनुहुन्छ ? 
फुर्सद र व्यस्त दुवै छु भनेजस्तो भएको छ। जुन जिम्मेवारी बहन गरिरहेको छु, त्यसमा साँझ, बिहान, बेलुकी र बिदाको दिन भन्ने अवस्था छैन। त्यसमा पनि अहिले जटिल अवस्थामा बाढी-पहिरोलगायतका विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र यससँग सम्बन्धित व्यवस्थापनका लागि बढी व्यस्त रहनुपर्ने अवस्था छ। तर, बचेको टुक्राटाक्री समय चाहिँ फुर्सद नै हो।

Sunday, August 16, 2015

कवि मनको डाक्टर

प्रेम र कविताका कुरा गर्दा उनले एक जोक सुुनाए ।
एक पतिले आफ्नी श्रीमतीलाई भनेछन् । ‘बूढी मलाई एकदम छाती दुुखेर आयो’
पत्नीले भनिन्– ‘ए हो लौन के भयो ?’
पतिः अइया अइया मरें ।
पत्नीः खोई तपाईंको मोबाइलको पासवर्ड दिनुुस् त, डाक्टरलाई फोन गरौं ।
पतिः ‘बूढी अहिले त अलि ठीक भएर आयो । बिस्तारै सन्चो होला जस्तो छ, भो पर्दैन डाक्टरलाई फोन नगर ।’
कवि रमेश क्षितिजले भनेको जोक हो यो ।
आफूलाई भुुलिरहें, बिर्सनेलाई सम्झिरहें
के के सोचें रातभरि ब्युुझिरहें, ब्युुझिरहें,
जिस्काइर≈यो जुुनेलीले बतासले पोलिर≈यो
उध्रिएको छातीभित्र रातले बल्छी खेलिर≈यो

यो गीत सुुनाएपछि गत बुुधबार घोस्ट राइटिङ नेपालद्वारा आयोजित सिर्जनात्मक लेखन प्रशिक्षणमा सहभागी राजन सिम्खडाले क्षितिजलाई प्रश्न गरे– ‘यति राम्रो गीत कसरी रच्नुुभयो ?’ उत्तर त्यही जोक थियो । मोबाइलभित्र धेरै कुरा रहेजस्तै जीवनमा पनि छन् । संकेत जोकमै थियो उनको ।

Saturday, June 27, 2015

अनुहार हराएको अनुहार

‘हेर्नुस्न, मैले त आफ्नो अनुहार नै हराएँ । यसपाला दसैंमा गाउँ जानुछ तर अनुहार हराएपछि साथी–आफन्तलाई कसरी भेट्नु ? टीका कसरी लगाउनु ? सबभन्दा ठूलो कुरा त बा–आमालाई कसरी आफ्नै परिचय दिनु । म त साह्रै अप्ठ्यारोमा परें ।’


रमेश क्षितिज
असार ११ - 

(आदरणीय पाठकलाई म आग्रह गर्दछु– बिहानको समय पत्रिका पल्टाउँदै चिया पिइरहेको एक व्यक्तिको आकृति र टेबुलमा फिँजारिएका विभिन्न पत्रिकाको दृष्य कल्पना गर्नुहोस् र हामी कथा सुरु गरौं ।)

‘हजुर... हजुरलाई एकदम छिटो बोलाएर ल्याउने भन्नु भ’को छ । उहाँको अनुहार हरायो भनेर घरमा हल्लिखल्ली भइरहेको छ ।’

एउटा किशोरले दौड्दै आएर भनेपछि एकछिन त म रनभुल्लमा परेँ । उहाँ भनेको को ? अनुहार हराएको भनेको के हो ? यस्तै प्रश्नहरू मनमा आइरहँदा उसले आफू आएको घर औंलाले देखायो । त्यो एक उच्च पदस्थ व्यक्तिको घर थियो जससंँग मेरो खासै निकटता थिएन । एउटै टोलमा बस्ने भएकाले आक्कल–झुक्कल भेट भने हुन्थ्यो । 

Saturday, May 17, 2014

लेखन साधना हो, आराधना हो

रमेश क्षितिज समकालीन नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । विशेषगरी कविता र कथा लेखनमा कलम चलाइरहेका क्षितिज आफूलाई कविका रुपमा परिचित गराउन चाहन्छन् । अर्को साँझ पर्खेर साँझमा (२०५७), घर फर्किरहेको मानिस (२०६८) कविता सङ्ग्रहका साथै क्षितिज गीति एल्बमलगायतका रचनाहरु प्रकाशन गरिसकेका क्षितिजसँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले गरेको कुराकानी ।

कानूनको विद्यार्थी भएर पनि तपाईं साहित्यमा कसरी प्रवेश गर्नुभयो ?


जीवन कैयौं संयोगहरुको श्रृंखला हो । स्कूलमा विज्ञान र अप्सनल म्याथ लिएर पढेको थिएँ । विज्ञान वा साहित्य पढ्थें हुँला । त्यसो त कानूनको विद्यार्थी हुनुअघि नै म साहित्यको विद्यार्थी थिएँ । फेरि कवि, कलाकार हुनु भनेको कुनै कोर्स वा उपाधि पनि होइन ।

Saturday, April 12, 2014

यस्तो रह्यो २०७० साल फर्केर हेर्दा

हामी यतिखेर ७० सालको विदाई र नयाँ बर्ष ७१ सालको स्वागातार्थ जुटिरहेका छौं । ७० सालको आखिरिमा आएर हामी यो बर्ष आफूले कमाएको कमाईको समिक्षा गरिरहेछौं । धेरैका लागि यो बर्ष त्यती फलदायी भएन होला ।  कतिका लागि मध्यम, कतिका लागि उत्तम त कतिका लागि साह्रै असन्तोषको बर्ष बन्यो २०७० साल ।  गएको सालको समिक्षा गर्ने क्रममा कसरी बित्यो २०७० साल र कस्ता सपना बोकर आउँदै छ २०७१ साल नेपाली स्रष्टाहरुका लागि ।

कवि तथा गीतकार रमेश क्षितिजका लागि यो बर्ष निक्कै महत्वपूर्ण बर्षका रुपमा देखियो । उनले २०७० सालमा महत्वपूर्ण केही साहित्यीक कार्यक्रममा सहभागिता जनाउने देखि थुप्रै सिर्जनात्मक कार्यक गर्न भ्याए। यो बर्ष क्षितिजले केही राम्रा कविताहरु लेखे । केही कथाहरु लेखे र केही कवितासम्बन्धी लेहरु लेखे । २०७० सालमै उनले अजित बरालसँग खस्राङ, सिक्किम, दार्जलिङ् हुदै कालिङपोङसम्मको एक हप्ता लामो भ्रमण गर्न भ्याए ।

Tuesday, April 8, 2014

आर्काइभमा स्रस्टा

धरान, चैत्र २४ -

विश्व प्रख्यात सेलिब्रेटी लेखकबारे सूचना खोज्नु पर्‍यो भने गुगल जिन्दावाद ! त्यसमाथि निःशुल्क इन्साइक्लोपेडियाको रूपमा विकिपेडिया हाजिर छ । पाउलो कोयलो खोज्ने कि हारुकी मुराकामी ? अथवा सन् २०१२ मा नोबेल साहित्य पुरस्कार पाएका छिमेकी चीनका लेखक मो यानको नालीबेली खोतल्नु छ भने पनि विकिपेडिया निकै भरपर्दो माध्यम बन्न सक्छ । नेपाली स्रष्टाको हकमा भने एकाध बाहेक विकिपेडियाले खासै सहयोग पुर्‍याउने छैन । यस्तैमा मोफसलको एउटा साहित्यिक संस्थाले नेपाली स्रष्टालाई विकिपेडियामा व्यवस्थित गर्ने प्रयास गरेको छ । धरानको केही जुझारु साहित्यप्रेमी तन्नेरीको पहलमा डेढ वर्षअघि स्थापना गरिएको फ्यान क्लब अफ रमेश क्षितिजले यस्तो काम थालेको हो ।

Friday, February 7, 2014

मदानीमा शब्द–मन्थन

आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।

सभापतिलाई सुन्ने बेला सभाहल लगभग रित्तिइसकेको हुन्छ। छिटफुट आयोजकबाहेक कोही हुँदैन। सामान्यतः हाम्रा साहित्यिक कार्यक्रमहरूको ढाँचाढंग यस्तै कार्यसूचीअन्तर्गत चल्ने गर्छ। मानौं, यो कुनै कर्मकाण्ड हो।

Saturday, February 1, 2014

अन्सारी रोडमा अनुवाद

मितिः २०७० माघ १८, कान्तिपुर कोसेली
 फुलमान बल

माघ १७ -
'रात में
दुसरी ओर फोन पे रो रही है एक लड्की
याद करता हुँ उसके मुस्कुराते आँखे
उजाला चेहरा और उसकी गहरी भावुकता
और जिन्हे उसने चाहा उनसे मिले आघात
अनायास हवा में लहराते हैं हाथ
जैसे की- मैं पोंछ रहा हुँ उसके आँसु
दूर बहुत दूर से...'

दिल्लीको एक चिसो बिहान । दरियागन्जस्थित गोल्छा सिनेमाको अपोजिट साँघुरो गल्ली हुँदै अघि बढ्दा चार नम्बर अन्सारी रोडमा भेटिए राजकुमार श्रेष्ठ । दुब्लो ज्यान, छिर्केमिर्के गलबन्दी र ज्याकेटधारी यी कविको नाम केही अघि अनलाइनतिर पढेको थिएँ, अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले गरेको अन्तर्राष्ट्रिय गीत प्रतियोगितामा यिनको 'भोलि खोज्न नपरोस् माटो...' शीर्षकको रचना उत्कृष्ट बनेको थियो ।

Saturday, January 18, 2014

रुमाल भेटेपछि कविता

कविका कुरा

दुईवटा कविताकृति निकालिसकेका कवि रमेश क्षितिज एउटै कविता छान्न पर्दा गाह्रो मान्छन् । तैपनि उनलाई आफ्नौ कवितामध्ये मनपर्ने एउटा कविता 'लडाकुको रुमाल' हो । केही दिनअघि उनले काठमाडौको कविता वाचनमा पनि त्यो कविता सुनाए । त्यो कविता रमेशले रोल्पामा छंदा लेखेका हुन् । उनले त्यो कविता ०६८ सालवरपर लेखेका हुन् । त्यतिबेला क्यान्टोनमेन्टबाट केही पूर्वलडाकु फर्किरहेका थिए, स्वेच्छिक अवकाश लिएर । एकदिन उनी दाड०बाट रोल्पा जांदा दहवनमा एउटा रुमाल भेटे चिया पसलमा । चिया पसल्नी दिदीले त्यो रुमाल पूर्वलडाकुको हो भनिदिइन् । त्यसले जन्माइदियो रमेशको कविता ।

Thursday, January 16, 2014

सर्वनाममा रमेश र मोमिला

काठमाडौं:

उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सात्को एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
वर्षौँ पुरानो देशभक्त अमर सिंहको
तस्बिरबाट
अचानक आँखा झरेछन्
हुनसक्छ, ठीक त्यहीबेलादेखि
देशका मार्गदर्शकहरुले
दृष्टि गुमाएको हुनुपर्छ......

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरले संयुक्त रपमा बुधबार आयोजना गरेको 'हामी कवि र कविता' मा कवि मोमिलाले 'भीमसेन थापाको सुसाइड नोट' शीर्षकको कविता हो यो ।

Wednesday, January 15, 2014

सर्वनाममा क्षितिज र मोमिला


काठमाडौं– 'हामी कवि र कविता'को १२ औं शृंखलामा कवि रमेश क्षितिज र मोमिला जोशीले कविता सुनाएका छन्। श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा कविद्वयले बुधबार सर्वनाम नाट्यघरमा कविता सुनाएका हुन्। आधा–आधा घन्टाको वाचनमा दुवैले करिब एक दर्जन कविता सुनाए।

सुनिए रमेश र मोमिला

कान्तिपुर संवाददाता
काठमाडौ, माघ १ -

स्वैच्छिक अवकाश लिएर
घर फर्किरहेको पूर्व लडाकुले
बिर्सेर हिँडेछ बाटो छेउको
झुपडीजस्तो चिया पसलमा
पसिना पुछेर राखेको रुमाल...

कवि तथा गीतकार रमेश क्षितिजले यसरी कविता सुनाउँदै 'हामी' शृंखलाको माघ संस्करण सुरुवात गरिरहेको बेला बुधबार दर्शक दीर्घा नोस्टाजिक बने । यस अर्थमा कि धेरैले पछाडि फर्केर मुलुक र द्वन्द्वका दुःखद् क्षणहरू सम्झे । जागिरको (एलडीओ) सिलसिलामा रोल्पा बस्दा एक दिन दहवनको बाटोमा भेटिएको रुमालमाथि क्षितिजले लेखेको कवितामा भने सिंगो माओवादी सशस्त्र युद्धले देखेको आकांक्षामाथि कुठाराघातको सन्दर्भ थियो । एउटा नागरिकलाई राजनीतिले कसरी सपना देखाउने बनाउँछ र त्यही राजनीतिले कसरी उसको सपना खोस्छ भन्ने सन्दर्भ भावुक रूपमा बनिएको यो कविता सुनाउनुअघि क्षितिजले नर्वेको ओस्लोमा लेखिएको 'समुद्र किनारमा एक शुभेच्छुकसँग' सुनाएका थिए, जसमा पलायन भएरभन्दा पनि मुलुक फिरेर केही गर्नुपर्छ भन्ने थिम समेटिएको थियो ।

क्षितिज र मोमिलाको कविता वाचन


 कवि रमेश क्षितिज र मोमिला जोशीले राजधानीमा कविता वाचन गरेका छन् । बुधबार राजधानीको सर्वनाम थियटरमा उनीहरुले संयुक्त रुपमा कविता वाचन गरेका थिए । हामी कवि र कविता श्रृंखला अन्तर्गत उनीहरुले आफ्ना नौ–नौ कविताहरु वाचन गरेका हुन् । प्रत्येक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं भन्ने नाराका साथ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले गर्दै आएको यो १२ श्रृंखला अन्तरर्गत माघ १ बुधबारका दिन कवि क्षितिज र मोमिलाले कविता वाचन गरेका हुन् ।

Tuesday, January 14, 2014

भोलि सर्वनाममा क्षितिज र जोशी प्रस्तुत हुदै

 ‘परेलीको बर्सातले छातीभित्र पैरो गयो’, ‘बटुवा हो मान्छे भन्नु यो संसारमा’ जस्ता थुप्रै लोकप्रिय गीतका गीतकार तथा प्रसिद्ध कवि रमेश क्षितिजका कविता माघ १ गते बुधबार काठमाण्डौंको सर्वनाम थिएटरमा प्रस्तुत हुने भएका छन । संगै गुञ्जने छ ‘जुनकिरीहरु ओर्लीरहेछ’, ‘दुर्गम उचाईमा फूलको आँधी’, ‘सेलेक्टेड पोयम मोमीला’ लगायतका कवितासंग्रहकी कवयत्री तथा यो पुस्ताकी शक्तिशाली कवि मोमीला जोशीको आवाज ।

Thursday, November 7, 2013

विरहका गीतको 'गुञ्जन'

दाङ, कार्तिक २१ -

सन्तोष श्रेष्ठले संगीत भरेका अधिकांश गीत विरहबाट जन्मेका हुन्छन्, त्यत्तिकै चर्चा पाउँछन् पनि । अरूले निकाल्ने एल्बममा संगीत भरेर चर्चा कमाएका श्रेष्ठले गीतकार प्रकाश केसीसँग मिलेर आफ्नै उत्पादनका रूपमा एउटा एल्बम तयार पारे- 'गुञ्जन ।' यही एल्बमको समीक्षा गर्न उनले बुधबार दाङमा चर्चित गीतकारहरू जम्मा गरे । रमेश क्षितिज, गायक तथा अधिवक्ता भीमार्जुन आचार्य, कृष्णराज डीसी र नारायण नेपालले उनका गीतका भाव केलाउँदै भने, 'गीतहरू विरहबाट जन्मेका रैछन् ।' 

Friday, October 11, 2013

कवितालाई वान्स मोर

कति कठिन छ हेर्नु
आफ्नै आँखाअघि आफ्नै अंगपतन !

खसे मेरा आँखा—बने नुनिलो पानीको तलाउ
खसे परेलाहरू— उम्रो उदासीको दुबो भएर
नाक खस्यो—बन्यो निराशको अँध्यारो सुरुङ

हात खसेर बने पीडाका रूखहरू/हाँगाहरू
खस्यो चिउँडो— बन्यो पीडाको पहाड
करङ खसेर बने— मान्छे उक्लिने भर्‍याङ

कमलादीस्थित नेपाल एकेडेमीको डबलीले थेग्न नसक्ने भिडमाझ कवि रमेश क्षितिजले अर्को स्वस्थानी शीर्षकको माथिको कविता सुनाउँदा ताली पाए । क्षितिजको कवितामा मात्र होइन, कविता सत्रमा विक्रम सुब्बा, मणि लोहनी, शकुन्तला जोशी, विमला तुम्खेवा, निभा शाह, रावत, मोमिलालगायतका कविताले पनि दर्शकबाट ‘वान्स मोर’ पाए । साहित्यिक विधामा धेरै लेखिने तर कम पढिने भनिएको कविताले वान्स मोर बिरलै पाउँछ । तर, कमलादीमा चार दिन चलेको एनसेल नेपाल लिटरेचर फेस्टिभलको अन्तिम कार्यक्रम कवितावाचनमा कविता सुन्ने दर्शकको माहोल नै बेग्लै थियो । कार्यक्रममा १८ कविले कविता वाचन गरेका थिए ।

Saturday, October 5, 2013

साहित्यकारको आँखामा दमिनी भीर

राजनलाई चिट्ठा पर्‍यो

-खगेन्द्र संग्रौला

मदन पुरस्कार मूलत: सत्ताधारीले पाउने पुरस्कार हो । कहिलेकाहीँ अलिकति उदारता र दया देखाउन अलिकति परका लेखकलाई पनि दिने गरिन्छ । यसपटक पनि यस्तै भएको हो । त्यस हिसाबले राजन मुकारुङलाई चिट्ठा परेको छ । तिनलाई चिट्ठा परेकोमा म खुसी छु ।

साहित्यिक कृतिलाई एक नम्बर, दुई नम्बर, तीन नम्बर दिएर मूल्यांकन गर्ने कुनै गणितीय मानक हँुदैन । तर, मेरो दृष्टिमा दमिनी भीर गत वर्ष प्रकाशित राम्रा पुस्तकहरूमध्येमा पर्छ । जुन दृष्टिकोणबाट पुरस्कृत गरिए पनि यो किताब आफैँमा वजनदार छ । नेपाल परिवर्तनको प्रक्रियामा रहेको र सीमान्तकृत नागरिकले आफ्नो अधिकार खोजेको वेलामा किताबले उनीहरूको बोली बोलेको छ ।

Wednesday, July 10, 2013

हृदय छुने कवि र कविता

–यशोदा तिम्सिना

कविता लेख्नेहरूले सोच्दा होलान्– आफ्नो लेखनीको मर्म के? धर्म के? या किन लेख्ने? लेख्नका लागि लेख्नेको त के कुरा भो र? लेखेपछि अरूको मथिंगल रिंग्याएर वा हृदय झंकृत पारेर लेख्नेहरू विरलै हुन्छन्। निशुःल्क चिया पिलाएर कविता सुनिदेऊ भन्दै अर्को व्यक्तिलाई अनुनय–विनय गर्ने कविहरूको भीडमा यस्ता पनि कवि छन् जसलाई सुन्न, पढ्न र बुझ्न चाहने पारखीको कुनै कमी छैन। त्यस्ता लोकप्रिय कवि हुन्, रमेश क्षितिज।

पछिल्लो पुस्ताका कविमा अग्रपंक्तिमा दरिएका रमेश यो धर्तीका यस्ता पुत्र हुन् जसले वन जंगल, आगो, हावा, पानी, ढंुगा, माटो, जनवार, मान्छे सबैसँग उसैगरी मित्रता गरेका छन्। प्रेम गरेका छन्। समग्रमा, संसार बुझ्ने चेष्टा गरेका छन्।

Saturday, March 16, 2013

फ्यान क्लबमा कवि

स्वेच्छिक अवकाश लिएर
घर फर्किरहेको पूर्व लडाकूले
बिर्सी हिंडेछ बाटोछेउको झुपडी जस्तो
चियापसलमा
पसिना पुछेर राखेको रुमाल..