Saturday, July 11, 2020

‘ए, त्यो त मैले उहिले पढेको’

पठन-संवाद

‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७) र ‘घर फर्किरहेको मानिस’ (२०६८) कविता संग्रह अनि ‘आफैँ आफ्नो साथी भएँ’ (२०६३) गीत संग्रहका लेखक रमेश क्षितिज कविता र गीतको क्षेत्रमा स्थापित नाम हो। प्रस्तुत छ, क्षितिजसितको पठन-संवाद  : 

कत्तिको फुर्सदमा हुनुहुन्छ ? 
फुर्सद र व्यस्त दुवै छु भनेजस्तो भएको छ। जुन जिम्मेवारी बहन गरिरहेको छु, त्यसमा साँझ, बिहान, बेलुकी र बिदाको दिन भन्ने अवस्था छैन। त्यसमा पनि अहिले जटिल अवस्थामा बाढी-पहिरोलगायतका विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र यससँग सम्बन्धित व्यवस्थापनका लागि बढी व्यस्त रहनुपर्ने अवस्था छ। तर, बचेको टुक्राटाक्री समय चाहिँ फुर्सद नै हो।

टुक्राटाक्री फुर्सदमा यहाँ के गर्नुहुन्छ नि ?
फुर्सदमा केही पढ्ने अथवा संगीत सुन्ने मेरो बाल्यकालदेखिकै रहर हो। त्यो अहिले पनि छँदै छ।  

पछिल्लोपटक कुन किताब पढ्नुभयो ?
पढाइको क्रम अहिले नियमित र निरन्तर छैन। पछिल्लोपटक स्वामी रामाको ‘लिभिङ विथ द हिमालयन मास्टर्स’ हो।

कस्तो लाग्यो भनेर सोधेँ भने...
अध्ययन र दर्शन रुचाउनेका लागि विनासर्त मन पर्ने किताब हो यो। अति प्रिय किताबको सूचीमा राखेको छु मैले यसलाई। स्वामी रामा २०औँ शताब्दीका एक विशिष्ट साधक हुनुहुन्थ्यो। तथापि यो उहाँको आध्यात्मिक यात्रा र साधनाको आत्मसंस्मरण हो। यस किताबमार्फत अध्यात्मको अतल गहिराइ र सृष्टिको रहस्यलाई सरल र सरस भाषामा बुझाइन्छ। किताब पठन सुरु गरेदेखि अन्त्यसम्म रोचक र सुन्दर यात्रामा निस्किएको अनुभूति हुन्छ।

सिरानीमा किताब ?
काठमाडौँ छँदा सिरानी वरपर छरपस्ट किताब हुन्थे। सधैँजसो केही न केही पढिरहने अवसर हुन्थ्यो। केही समयदेखि काठमाडौँबाहिर छु। अहिले चाहिँ सिरानीनेर नेपालीमा अर्थसहितको गीताको सानो किताब मात्र छ।

थाती राखेको किताब ?
थाती राखेका केही किताब घरमै छाडेर आएको छु। भाषा र शैलीले तानेन भने किताब पढ्नुमा मज्जा छैन मेरा लागि। पढ्दापढ्दै नपढेर थन्क्याएका धेरै किताब छन्। त्यसमा ठूलाठूला पुरस्कार पाएका र चर्चामा आएका किताब पनि छन्।

धेरैपल्ट पढेको किताब ?
मन परेका किताब समय-समयमा दोहोर्‍याएर पढ्ने बानी छ मेरो। ‘योगीको आत्मकथा’, ‘सुम्निमा’, ‘घामका पाइलाहरू’, ‘विचार विज्ञान’ र ‘द सेक्रेट’ यस्ता किताब हुन्।

पहिलो (बच्चाको) किताब ? 
‘गौरी’ र ‘मुनामदन’ बाल्यकालमा पढेका पुस्तक हुन्। सबैभन्दा पहिला यिनकै सम्झना हुन्छ।

धेरैपल्ट उपहार दिए-पाएको किताब ?
आफूलाई मन परेका किताब अरूले पनि पढे हुन्थ्यो जस्तो लाग्छ। ‘योगीको आत्मकथा’ र ‘त्रिभुवनकी एरिका’ मैले धेरै उपहार दिएका किताब हुन्। हामीकहाँ पुस्तक उपहार संस्कृति कम नै छ जस्तो लाग्छ। मलाई यसो लाग्नुको कारण आफूले किताब उपहार पाएको घटना दुर्लभ भएर पनि हुन सक्छ कि !  

पुस्तक प्राय : कहाँ कसरी किन्नुहुन्छ ?
कुनै निश्चित पसल छैन। मुख्यत : काठमाडौँका पुस्तक पसल र विदेश जाँदा जुन सहरमा पुगेको हुन्छु, त्यहीँबाट ल्याउने हो।

कुन समय धेरै किताब पढ्नुभयो ?
स्कुल र कलेज जीवनमा धेरै किताब पढियो। तर, मेरो पढाइ भनेको समुद्रमा बँुदजस्तो हो सायद। संसारमा यति सुन्दर किताब छन्, सधैँ पढेर मात्रै एक जुनी बिताइयो भने पनि त्यो थोरै हुन्छ होला। मानिसले अमूल्य उमेर खर्चेर लेखेका अद्भुत किताब कति छन् कति। पढ्ने प्यास भएका बेला धेरै किताब उपलब्ध हुने अवस्था नै कहाँ थियो र !

मन परेको पुस्तकालय ?
त्यसो त पुस्तकालयमा बसेरै पढ्ने बानी छैन मेरो। तर, केशर पुस्तकालय विशेष मन पथ्र्याे मलाई। एउटै भवनमा रहेको शिक्षा मन्त्रालयमा काम गर्थें, कुनै बेला म। फुर्सदमा त्यहाँ जाने गरिन्थ्यो। नजिकै स्वप्न बगैँचा पनि थियो, छ। 

पढिसकेपछि राम्रो लागेका किताबबारे भन्न खसखस लाग्दैन ?
पढेर राम्रो लागेका कुरा साथीहरूलाई भन्छु, कहिलेकाहीँ सामाजिक सञ्जालमा लेख्छु। बाँड्न मन त लाग्छ नै, आफ्नो अनुभव।

पुस्तक समीक्षा-समालोचना पढ्नुहुन्छ ? 
हामीकहाँ लेखनको गहिराइमा पुगेर स्वतन्त्र र निष्पक्ष समीक्षा भएजस्तो लाग्दैन। तर, सौरभ, हरि अधिकारी, राजकुमार बानियाँले कुनै पुस्तकको समीक्षा लेखे ध्यान दिएर पढ्छु। 

पढ्दै गर्दा मन परे-नपरेको कुरा अन्डरलाइन गर्ने, गाता हाल्ने, केरमेट गर्ने, पन्ना दोबार्ने, पन्ना पल्टाउँदा औँलामा थुक लगाउने, नयाँ किताबको वास्ना सुँघ्ने जस्ता बानी पनि छ कि ?
अन्डरलाइन गर्ने, पन्ना दोबार्ने बानी छ। किताब दोहोर्‍याउँदा छोटो समयमा कुनै पाना मात्र पढ्नु पर्दा यसले मद्दत गर्छजस्तो लाग्छ। गाता हाल्ने, पाना पल्टाउँदा थुक लगाउने बानी (कोभिडमा झन्) अब चाहिँ छैन। नयाँ किताबको वास्ना त, अहा ! पहिलोपल्ट वर्षा हुँदा आउने माटोको सुगन्ध र नयाँ किताबको वास्ना खुबै प्रीतिकर लाग्छ, मलाई।

यात्रामा पढ्ने बानी छ ? 
विदेश यात्राका बेला जहाजमा वा ट्रान्जिटमा लामो समय छ भने  पुस्तक पढ्नु आनन्ददायक लाग्छ, मलाई। तर, नेपालको सार्वजनिक सडक यातायातमा यात्रा गर्दा पढ्ने कोसिस गरेको छैन मैले। सहज होलाजस्तै लाग्दैन। फेरि देशभित्रको यात्रा गर्दा बदलिरहने हाम्रा दृश्य किताबका शब्दभन्दा झनै सजीव पो लाग्छ, मलाई। 

कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
कुनै निश्चित समय छैन। शान्त वातावरणमा कुनै पनि बेला। तर, यस्तो समय साँझमा वा खाइसकेर सुत्नुअघि हुन्छ प्राय :।

तपाईंको पठनमा प्रविधिको प्रयोग ?
म साह्रै प्रविधिमैत्री मानिस होइन। त्यसमा पनि किताबमा एक/एक पाना पल्टाउँदै, चिनो लाउँदै मन परेका हरफहरूमा रोकिएर मनन गर्दै पढ्नुको आनन्द स्क्रिनले दिन्छ जस्तो लाग्दैन।

यहाँसँग भएको दुर्लभ पुस्तक ?
बजारमा किन्न चाहेपछि नभेटिने मसँग त्यस्तो पुस्तक कुन छ होला र ?

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
उहाँहरूसँग अध्ययनका लागि त्यत्रो समय छ होला र ? तपाईंको प्रश्नको उत्तर दिनु नै पर्‍यो भने ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ किताब सिफारिस गर्छु। आजको सिंगापुर जे बन्यो त्यसको डिजाइनर वा निर्माता ली क्वान यु हुन्। सन् २००३ मा यो किताब मैले सिंगापुरबाट मगाएर पढेको थिएँ। यसमा एउटा राजनेताले चाह्यो भने र उनको प्रतिबद्धता रह्यो भने दुर्बल राष्ट्र पनि कसरी समृद्ध, शक्तिशाली र विकसित बन्न सक्छ भन्ने रहस्यको कथा उल्लेख छ। आत्मकथा लेख्नलाई पनि दुनियाँलाई सुनाउन लायक कथा आफूसँग हुनुपर्‍यो नि, त्यो उनीसँग थियो। उहाँहरूले मात्र होइन, प्राय : हामी सबैले पढ्नुपर्ने किताब हो यो। दुई जना सचिवज्यूलाई यो किताब पढ्न दिएको थिएँ मैले। 

पठन रोजाइमा कुन विधा ?
सबै विधा उत्तिकै रुचिकर लाग्छ। म कविता, अध्यात्म, दर्शन, उपन्यास र आत्मकथा बढी पढ्छु। आफ्नो कामसँग सम्बधित हुने भएकाले सार्वजनिक प्रशासन, विकास प्रशासन र अर्थसँग सम्बन्धित पुस्तक पनि मन पर्छ।

पढ्न नपरे हुन्थ्यो भन्ने पनि छ कि ?
त्यस्तो छैन। जीवनभर पढेर मात्र बस्न पाए हुने भन्ने लाग्छ बरु। तर, एकबारको जुनीमा गर्नुपर्ने धेरै कुरा हुन्छन्।

के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
छु होला तर यहीँ भनेर अहिले सम्झना छैन।

किताब मनमनै पढ्नुहुन्छ कि स्वर निकालेर ?
मनमनै पढ्छु। आफू र वरिपरि शान्त भएको नै मन पर्छ।

कुन लेखक भेट्न चाहनुहुन्छ ?
लेखक भेट्नुसँग मलाई ठूलो रुचि छैन। जुन किताब पढ्छु त्यही नै लेखकको अंश हो। किताब लेख्नु भनेको आफ्नो विचार, अनुभव र अनुभूति लेख्नु त हो। आफूलाई लेख्नु न हो। कुनै किताब पढ्नुभयो भने सम्झिनुस्, लेखकसँग साक्षात्कार भयो। ‘द इम्पेरर्स न्यु क्लोथ्स’ कथा लेख्ने हान्स एन्डरसनको जन्मस्थल पुगेको थिएँ, डेनमार्कमा। त्यहाँ पुग्दा चाहिँ उनका मूर्ति, सम्बन्धित वस्तु देख्दा यो कथाकारसँग कुराकानी नै गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको थियो। 

पुस्तकबारे यहाँको धारणा ?
एउटा सुन्दर पुस्तक असल मित्रजस्तो हो। ज्ञान, अनुभव र अनुभूति हस्तान्तरण हुने यो अद्भुत कुरा हो। एउटा लेखकले आफ्नो अनुभवको समुद्रबाट निकालेको मोती हो पुस्तक, जो पाठकका लागि सहज प्राप्त हुन्छ।

तपाईंले लेख्न चाहिरहेको पुस्तक ?
एउटा उपन्यास लेख्न मन छ।
मन परेका पाँच पुस्तकको नाम लिनुस् न भनेँ भने...
यसरी नाम लिनु कठिन हुन्छ होला। आआफ्नो रुचिमा भर पर्ने कुरा हो। आत्मकथा रुचाउनेलाई गान्धी, मन्डेला वा ओशोको स्वर्णिम बचपनदेखि मैले माथि उल्लेख गरेका पुस्तक मन पर्न सक्छ। उपन्यास मन पर्नेका लागि ‘उलार’, ‘कर्णाली ब्लुज’, ‘सुम्निमा’, हारुकी मुराकामीका पुस्तक मन पर्न सक्छ। मेरा लागि कविता सबैभन्दा मन पर्ने विधा भएकाले त्यसको छुट्टै लामै सूची बन्ला। 

किताबबारे कुनै एउटा रोचक घटना सुनाइदिनुस् भनेँ भने...
कलेज पढ्दा आफूले पढेका किताबबारे साथीहरूबीच चर्चा गर्ने र किताब साटफेर गर्ने गथ्र्यौं हामी। एक जना साथी थियो, आफूलाई साह्रै पढन्ते ठान्ने। कुनै पनि किताबको चर्चा गर्‍यो कि ‘आ त्यो त मैले उहिले पढेको’ भनिहाल्ने। जुन किताबको कुरा गरे पनि सधैँ त्यस्तै। एक दिन हामीले उसलाई जाँच्ने योजना बनायौँ। भोलिपल्ट मैले चर्चा सुरु गरेँ, ‘खुरबान अत्रो मस्कीको ‘तारिभास्कर’ भन्ने उपन्यास साह्रै मजाको रहेछ, लेखनशैली कति मीठो !’

‘ए, त्यो त मैले उहिले पढेको’ भनि त हाल्यो। मुस्किलले हाँसो रोक्यौँ। ‘मलाई पढ्न देऊ है’ भन्ने साथीलाई उसले ‘किताब झापामै छुटेको छ, दसैँ बिदापछि ल्याइलिन्छु’ भन्यो। संसारमै नछापिएको किताब पढ्न सक्ने हाम्रो मित्र भन्दै हाँसो थाम्न नसकेर सबै जना लडिबुडी गर्न थाले। किताब र पठनको चर्चा गर्दा म त्यो घटना सम्झन्छु। 

कुराकानी : विमल आचार्य 
प्रकाशित  मितिः  २७ असार २०७७ १०:३८:००


No comments:

Post a Comment