‘हेर्नुस्न, मैले त आफ्नो अनुहार नै हराएँ । यसपाला दसैंमा गाउँ जानुछ तर अनुहार हराएपछि साथी–आफन्तलाई कसरी भेट्नु ? टीका कसरी लगाउनु ? सबभन्दा ठूलो कुरा त बा–आमालाई कसरी आफ्नै परिचय दिनु । म त साह्रै अप्ठ्यारोमा परें ।’
रमेश क्षितिज |
असार ११ -
(आदरणीय पाठकलाई म आग्रह गर्दछु– बिहानको समय पत्रिका पल्टाउँदै चिया पिइरहेको एक व्यक्तिको आकृति र टेबुलमा फिँजारिएका विभिन्न पत्रिकाको दृष्य कल्पना गर्नुहोस् र हामी कथा सुरु गरौं ।)
‘हजुर... हजुरलाई एकदम छिटो बोलाएर ल्याउने भन्नु भ’को छ । उहाँको अनुहार हरायो भनेर घरमा हल्लिखल्ली भइरहेको छ ।’
एउटा किशोरले दौड्दै आएर भनेपछि एकछिन त म रनभुल्लमा परेँ । उहाँ भनेको को ? अनुहार हराएको भनेको के हो ? यस्तै प्रश्नहरू मनमा आइरहँदा उसले आफू आएको घर औंलाले देखायो । त्यो एक उच्च पदस्थ व्यक्तिको घर थियो जससंँग मेरो खासै निकटता थिएन । एउटै टोलमा बस्ने भएकाले आक्कल–झुक्कल भेट भने हुन्थ्यो ।
एउटा किशोरले दौड्दै आएर भनेपछि एकछिन त म रनभुल्लमा परेँ । उहाँ भनेको को ? अनुहार हराएको भनेको के हो ? यस्तै प्रश्नहरू मनमा आइरहँदा उसले आफू आएको घर औंलाले देखायो । त्यो एक उच्च पदस्थ व्यक्तिको घर थियो जससंँग मेरो खासै निकटता थिएन । एउटै टोलमा बस्ने भएकाले आक्कल–झुक्कल भेट भने हुन्थ्यो ।
‘अनि अनुहार हराएको भनेको के हो ?’ मैले सोधें ।
‘त्यति धेरै त मलाई थाहा छैन तर उहाँको अनुहार हरायो भनेर सबै चिन्तित हुनुहुन्छ... दिज्यू त कैयौं दिनदेखि रोइरहनु भ’को छ । उसले भन्यो ।’
यो एउटा आश्चर्यजनक घटना थियो मेरा लागि । मनी ब्याग हराएको, केही सामान, मोटरसाइकल, लगेज, अझ कहिलेकाहीँ मानिस नै पनि हराएको त थाहा थियो, तर मानिसको अनुहार हराएको घटना पहिले कहिल्यै सुनेकै थिएन ।
म ज्याकेटमा बाहुला घुसार्दै बाहिर निस्कें । मध्य पुसको जाडोमा काठमाडौं बाक्लो हुस्सुमा डुबेको थियो, हुस्सुभन्दा बढी म आश्चर्यमा डुबेको थिएँ ।
त्यो किशोरको पछाडि लुरुलुरु हिँड्दै गर्दा मलाई त्यो नवधनाढ्य व्यक्तिको अनुहार सम्झना भइरहेको थियो । कहिलेकाहीँ भेट्दा अनुहारमा घाउ खत त्यस्तो केही देखिँदैनथ्यो । ऊ कम बोल्थ्यो र टोल छिमेकमा अरूलाई त्यति चासो दिएको पनि देखिँदैनथ्यो ।
oooo
‘ओहो ! आउनुस्न बसूँ ।’ कौसीमा बेतको कुर्सीमा बसेको रहेछ ऊ– मलाई ठिकै लाग्यो । ठीकचाहिँ किन लाग्यो भने भित्र बसेको भए जुत्ता फुकाल्नुपथ्र्यो ।
उसको अनुहारतिर गहिरिएर हेरें– पहिलेभन्दा फरक थियो त्यो । धेरै मोटाएको वा अन्य कुनै कारणले पनि हुन सक्थ्यो । कुरा कसरी सुरु गर्ने भनेझैं ऊ अलिक अक्मकाएको देखिन्थ्यो । वातावरणमा बिझाउने खालको चुपचाप व्याप्त थियो । मानिसको ओहोरदोहोर चहलपहल केही देखिँदैनथ्यो ।
‘एकछिन भित्र नै बसौं है,’ उसले कुराको गम्भीरतातिर संकेत गर्यो, मैले आफ्ना जुत्तातिर हेरें ।
बैठककोठा भव्य थियो । भित्तामा विभिन्न रङका पेन्टिङ, आरामदायी सोफा, र्याकमा राखिएका विभिन्न कलात्मक सामान । यति सम्पन्न मानिसको अनुहारचाहिँ कसरी हरायो होला भन्ने जिज्ञासाको तलाउमा डुबिरहेका बेला उसले मलाई किनारमा तान्यो ‘एउटा जटिल समस्याको विषयमा छलफल गरौं भनेर...।’
फेरि उसको अनुहारतिर हेरेँ । अनुहार त थियो तर फेरि कहाँ हरायो अनुहार ?
‘हेर्नुस्न, मैले त आफ्नो अनुहार नै हराएँ । यसपाला दसैंमा गाउँ जानुछ तर अनुहार हराएपछि साथी–आफन्तलाई कसरी भेट्नु ? टीका कसरी लगाउनु ? सबभन्दा ठूलो कुरा त बा–आमालाई कसरी आफ्नै परिचय दिनु । म त साह्रै अप्ठयारोमा परें ।’
कालो बादल लागेको आकासझैं उसको अनुहार अमिलियो । उसले थप्यो, ‘यहाँले मलाई सहयोग गर्नुपर्यो ।’
म अन्योलग्रस्त भइरहें । प्रश्नवाचक चिह्न जस्तो अनुहार बनाएर मैले उसलाई हेरिरहें–हेरिरहें । के सहयोग ? कस्तो सहयोग ?
चिया सुरुप्प पार्दै उसले भन्यो– पख्नुस् म तपाईंलाई वृतान्त सुनाउँछु ।
oooo
(आदरणीय पाठकलाई म पुन: आग्रह गर्छु– बिहानको समय पत्रिका पल्टाउँदै चिया पिइरहेको त्यो व्यक्ति को हो ? परिकल्पना यहाँले आफ्नो सुविधाअनुसार गर्नुहोस्– नेता, प्रशासक, पत्रकार, समाजसेवी, व्यापारी वा अन्य कुनै । र हामी कथालाई अगाडि बढाऔं)
उसबेला काठमाडौं अहिलेको जस्तो फोहोर, भीडभाड, महँगी र चमकदमक थिएन । एकदमै कलात्मक र शान्त सहर थियो यो । वाग्मतीमा लेदो होइन, पानी बग्थ्यो । घामपानी र सफा हावासम्म नपाएर उकुसमुकुस हुने अहिलेको जस्तो अवस्था थिएन ।
म पसें यो उपत्यकामा झोलामा किताब र कपडा अनि हृदयमा सपनाहरू बोकेर । टाढा छाडेर आएको थिएँ गाउँ र लिएर आएको थिएँ सम्झना अनि गाउँले ठिटोको निर्दोषिता ।
मलाई जिउनु थियो यो सहरमा र मसँग थिएन अरू, सिवाय– संघर्ष गर्ने साहसको खजाना । उच्च शिक्षाका लागि पहिलोपल्ट उपत्यका पस्दा अझै सम्झिन्छु– टुँडिखेलका सैनिकका मूर्ति, छेउ–छेउका राणाहरूको काला घोडाको सवारी, धरहरा, रानीपोखरी– म कुनै सपनाको लोकमा थिएँ मानौं ।
रातमा तोरीको फूलझैं पहेला ताराहरू... सुनसान सुनसान... उज्यालो उज्यालो... सारा सहर निदाएकाबेला रातभरि म हुन्थे, आफ्नै व्यस्तताहरूमा ।
के मात्रै गरिनँ मैले ? घर–घरमा गएर स–साना नानीलाई पढाउनु, सामान बेच्दै हिँड्नु, रातभरि काम गरेर बिहान सुत्ने लाटोकोसेरो जीवन जिउनु !
सपना देख्ने मानिसलाई पीडाको यात्रा हिँड्ने साहस त हुनुपर्छ नै !
फेरि मसँग थिए– माक्र्स र पुँजी
नित्से र ईश्वर
देवकोटा र मुनामदन
ओशो र ....समाधि आदि आदि ।
अहो ! संघर्षका र पीडाका हजारौं कथा सुनाएर साध्यै छैन । बस् ! संयोगले एक दिन म यो पेसामा आएँ र जिन्दगी बदलियो मानौं ।
मसँग थियो इमान, नैतिकता र आत्मविश्वास । प्रत्येक सिँढी सफलताका म यसरी चढें– मानौं ती मेरा लागि बनेका हुन् । कहिलेकाहीँ काठमाडौं आउँदा आमा भन्नुहुन्थ्यो मलाई– ‘बाबु सबैभन्दा ठूलो कुरा, काम त्यसरी गर्नु जसरी आफ्नो शिर ठाडो हुन्छ ।’
तर समय सधैं एकै रहँदैन, जीवनमा नसोचेका घटनाहरू हुन्छन्, नकल्पेका मानिसहरू भेटिन्छन् ।
एकदिन सार्वजनिक जग्गालाई व्यक्तिको नाममा पास गर्ने प्रस्ताव आयो । पहिले त मलाई अप्ठयारो लाग्यो । प्रलोभनमा परेर कुनै काम गरेको थिइनँ, मैले आफ्नो हातबाट हुन नसक्ने काम भनेर सिधै अस्वीकार गरिदिएँ । फोनमा त्यही काम गराउन खोजिन्छ भन्ने सोचिरहेका बेला ‘साँझ कुमारी क्याफेमा भेटौं न, पुतलीसडक’ भनेर फोन राख्यो कसैले ।
‘हस् हजुर’ मैले सोचें, भनेर मैले फोन राखें र सोचें, जे पर्ला–पर्ला सिधै अस्वीकार गरिदिन्छु ।’
साँझमा म त्यहाँ पुग्नुअघि नै उनीहरू पुगिसकेका थिए । खाजा खाँदै धेरैबेर त्यही विषयमा कुरा भइरह्यो । माथि–तल सबैतिर कुरा मिलिसकेको मैले मात्र फाइल अड्काएको भन्ने भनाइ थियो उनीहरूको ।
त्यो मेरो जीवनको यस्तो मोड थियो जहाँबाट मेरो यात्रा मोडियो । समाजलाई घाटा हुने तर आफूलाई फाइदा हुने काम भए पनि वरिपरिको परिवेश आफूमाथिको व्यक्तिको संलग्नता र सायद साहसपूर्ण जीवन जिउने संकल्पको कमीले गर्दा पत्रिकाले बेरेको एउटा प्याकेट मैले डराई डराई समाएँ त्यो साँझ ।
बिटुलिनु एकपल्ट गाह्रो त्यसपछि त बानी हुन्छ– थाहा थियो र पनि...
त्यसपछि एउटा ठूलो भासमा डुब्दै गएँ म ।
एकदिन, एकजना विदेशी नियोगले साँझको खाना खान बोलाएको थियो आफ्नो निवासमा । धेरैबेर समय बितायौं हामीले त्यहाँ । उसँग नेपालबारे र मेरै कर्मक्षेत्रको सम्बन्धमा मभन्दा बढी सूचना र जानकारी भएको देखेर म आश्चर्यचकित भएको थिएँ । ऊ विदेशी थियो, तर उसको आत्मीयतापूर्ण व्यवहारचाहिँ आफ्नो कुनै पुरानो नातेदारको झैं थियो ।
घर–व्यवहार परिवारका कुरा हुँदै गर्दा एमबीबीएसका लागि त आफ्नो देशका कलेज राम्रो भएको र मैले चाहेमा छोरीलाई त्यहाँ भर्ना गराउन सक्ने उसको न्यानो कुराले म हिउँझैं पग्लिएँ ।
काठमाडौंमा सेयर कारोबारमा संलग्न हुन सुझाव दिँदै उसले आर्थिक सहयोग गर्नेसमेत बतायो र छुट्ने बेला भन्यो, यो एउटा नीति सरकारका तर्फबाट पारित गर्नुपर्यो, तपाईं अध्ययन गर्नुस् न है ।
बाटोमा पाना पल्टाउँदै आएँ, उफ् ! त्यसले एक ढिक्का भएर बसेको मेरो समाज, आत्मीयतापूर्ण हाम्रा सम्बन्धहरू, हाम्रा मौलिकता, सभ्यता र संस्कृतिलाई नराम्ररी प्रभावित पाथ्र्यो । म भित्र–भित्र आँधी बोटझैं हल्लिरहेको थिएँ र पनि... !
गाउँबाट आमा आउनुभएको घर पुगेपछि गहिरिएर मेरो अनुहार हेर्दै भन्नुभयो, ‘होइन, कहाँ गयो तेरो अनुहारको तेज ? पहिलेजस्तो छैनस् त अचेल बाबु ! तँ सुखी त छस् ?’
कसरी भनुँ, ‘म हात बेचेर पन्जा किन्दै गइरहेको थिएँ ।’
अस्ति बाटोमा एकजना पुरानो साथी भेट भयो । खुसी हुँदै बोलाएँ तर उसले मलाई चिनेन र झोक्किँदै जिस्काएको आरोप लगायो । उसले पनि मैले अनुहार हराएको अनुभूति गराइदिएको थियो । त्यसपछि नातेदार, घरपरिवार सबैले यही कुरा भने ।
उसले गम्भीर भएर सुनायो आफ्नो इतिवृत्तान्त ।
oooo
पहिले हराएको अनुहार कसरी खोज्ने ? हामीले धेरैबेर छलफल गर्यौं । तर, यो एउटा जटिल समस्या थियो सुल्झिनै नसक्ने । दोस्रो चरणको चिया खाँदै गर्दा उसकी श्रीमती आई र हाम्रो छलफलमा सामेल भई । अनायास हिक्क–हिक्क गर्दागर्दै ऊ जोडले रुनथाली ।
आगोभन्दा बढी पोल्ने लाग्छ मलाई स्वास्नी मानिसको आँसु ।
सम्झाउँदै भनें, ‘होइन भाउजू त्यसरी नआत्तिनुस् केही उपाय त निक्लिएला ... !’
ऊ अझ जोडले रोई र भनी ‘मैले प्रेम गरेको अनुहार होइन यो । त्यो अनुहार प्रिय थियो– त्यसमा थियो एक तेज र निर्दोषिता । त्यसैले मैले गाउँको मिहिनेती युवकसँग बिहे गरेको थिएँ ।...तर ....!
बजारमा पाइने विभिन्न क्रिमहरूबारे छलफल भयो ।
– प्लास्टिक सर्जरीको विषयमा छलफल भयो ।
– आयुर्वेदिक लेपनबारे पनि चर्चा भयो ।
– ज्योतिषी र वास्तुबारे पनि बहस भयो ।
कुनै निष्कर्ष आउन सकेन । आओस् पनि कसरी ? यो कुनै पर्स, सामान वा कागजपत्र हराएको कुरो थिएन । यो त अनुहार हराएको कुरा थियो जसलाई देखेर पुराना मित्र, आफन्त, परिवार वा प्रेमी–प्रेमिकाले चिन्छन् र विश्वास गर्छन् । अनुहार नभएपछि त समस्या जटिल हुने नै भयो ।
पुस्तक अध्ययनमा मेरो रुचि देखेर उनीहरूले मलाई बोलाएका रहेछन् । तर, अहिलेसम्म त्यस्तो कुनै पुस्तक मैले पढेको थिइनँ जसमा लेखिएको होस्– हराएको अनुहार प्राप्त गर्ने अचुक विधि ।
त्यहाँबाट हिँडेपछि यो अचम्म प्रसंग मेरो मनमा बारम्वार आइरह्यो । केही नजिकका मित्रहरूसँग पनि सोधी हेरें । गुगल सर्च पनि गरें । तर, कहीँ कतै पनि समाधानको उपाय भेटिनँ ।
oooo
एकदिन अफिसबाट फर्किंदै गर्दा पुतलीसडकमा उनीहरूसँग जम्काभेट भयो । भर्खरै ‘सपिङ’ गरेर फर्किएका उनीहरूका हातमा झोला थिए । तर, अनुहारमा देखिएको खुसीले मलाई अलिक आश्चर्य दियो । मैले भेट्दा उनीहरू हाँसिरहेका थिए । यसको अर्थ थियो समस्याको समाधान निस्कियो ।
मैले उसको अनुहारतिर हेरें त्यो मैले अघि देखेकै अनुहार थियो, पुरानो अनुहार भेटिएजस्तो लागेन । बाटामा नै सही एकछिनको भलाकुसारीपछि मैले सोधें ‘समस्याको समाधान भएजस्तो छ तर कसरी ?’
श्रीमतीलाई गाडीमा छोडेर ऊ फर्कियो र हामीले सँगै चिया पियौं ।
उसले भन्यो ‘एक रात मैले श्रीमतीलाई रात्रिभोजमा लगें । त्यहाँ अधिकांश हराएका अनुहारहरूको भीड थियो । जब श्रीमतीहरूबीच मित्रता भयो, अरूहरूले मेरो श्रीमतीलाई पुरानो अनुहार खोज्ने होइन, नयाँ अनुहारमा अभ्यस्त हुन र हाँस्न सिकाए ।’
‘त्यस रातदेखि ऊ रुन छोडी । उसको छेउनेर म आफ्नो चिन्ता देखाउदिनँ– हाँसिदिन्छु । तर, अन्तरआत्माले भन्छ यो स्थायी समाधान होइन ।’ उसको चिन्ता फेरि कालो बादलझैं अनुहारको पहाडमा मडारियो ।
‘दसैंमा गाउँ जानु छ । पुरानो निधारमा टीका लाइरहेकी आमाले अर्कै कोहीलाई टीका लाएझैं मान्नुहुनेछ । उहाँलाई थाहा हुनेछ– यो अर्कै अनुहार हो । अरूलाई लुकाउँला बरु म, तर आमालाई त जन्मेदेखि मेरो अनुहार हेर्दै आउनुभएको छ । फरक त थाहा भइहाल्छ के गर्ने गर्ने ?’
ऊ फेरि झोक्रायो । अनुहार हराउनुको पीडा भयंकर हुँदोरहेछ भन्ने उसको अभिव्यक्तिले देखाउँथ्यो ।
‘सत्य भन्छु अनुहार त पहिलेकै राम्रो ।’
(आदरणीय पाठकवर्गलाई म आग्रह गर्छु– कथा यहीँ टुंगियोस् )
कान्तिपुर
प्रकाशित मिति: २०७२ असार १२ ०९:३३
अनुहार हराएको अनुहार
अनुहार हराएको अनुहार
No comments:
Post a Comment