रमेश क्षितिज (Ramesh Kshitij) : परिचय

रमेश क्षितिज/कवि


कुनै ढुंगाको देउता बन्नु छैन मलाई
र छैन कुनै स्वर्णिम नाम लेखाउने मोह पनि
निर्धनहरुको अपदस्थ इतिहास
उसका सन्तानहरुले सम्झिने कथामात्रै हुन्,

मञ्जुर छ, मलाई सबै मञ्जुर छ
तर एउटा सर्त स्वीकार्नु पर्छ तिमीले पनि
'बाँच्न जन्मिन्छन् रमेश क्षितिजहरू’

कवितांश... 'अगेनाछेउ गरेको बकसपत्र' (अर्को साँझ पर्खेर साँझमा)

मैले बाँचेको जिन्दगी, अनुभुत गरेको सत्य र दृष्टिचिन्तनको सहज र कठीन अभिव्यक्ति हो कविता । समय, प्रश्न अनि आफैसँगका अन्तरङ्ग सम्वाद हुन् मेरा कविताहरू’ भन्ने समकालीन युगका सशक्त हस्ताक्षर हुन् कवि रमेश क्षितिज । उनी भन्छन् - 'म सच्चा कवितावादी कवि हुँ । मेरा कवितामा म बाँचेको समय, मेरा वरिपरिका चरित्र र चित्रहरु, सल्वार्टन र सीमान्तकृतहरु, सामाजिक र राष्ट्रिय उथलपुथल सबै छन् भन्ठान्छु ।' 

कवितामा ग्रामीण होस् वा विदेशीभूमिका नरनारीका कष्टप्रद सुस्केरा, समयको सचेतता र समसामयिक यथार्थको तीव्र संवेदना पोख्ने कवि क्षितिज कवितामा मात्र नभई कथा र गीतलेखनतर्फ पनि त्यत्तिकै सक्रियता  र उत्कृष्टता पोख्न सफल छन् । र पनि पहिले उनी कवि हुन्, त्यसपछि अरू ।

उनका गीत सुन्दैगरेका, कविता तथा कथाहरु पढ्दैगरेका पाठकहरुले पछिल्लो कृति "घर फर्किरहेको मानिस" पढिसकेपश्चात उनकै नाममा "Fan Club of Ramesh Kshitij" क्लब स्थापना गरी मिति २०६९ माघ २७ गते धरानमा कविका एकल कविता वाचन कार्यक्रम "क्षितिजका कविताहरुसंग हामी" संचालन गरेको थियो ।
"कवि रमेश क्षितिज यो देशको कविताको भाषा फर्काएर ल्याउने कवि पनि हुन् । संगीतले जोडिएको उनको चित्रात्मक भाषा जेन कविहरुको हाइकुको एकदम नजिक छ र नै चम्किला छन् उनका कविता, पेन्टिङमा  गहिरो अध्यात्मको आभा देखिएजसरी । प्रेम, अध्यात्म र नोस्टाल्जियाका निम्ति उनको भाषा विशेष किसिमले बनेको लाग्छ । सिर्जनात्मक भाषा प्रयोगकै दृष्टिले पनि यी युवाकवि महत्वपूर्ण छन् ।"
~ मनु मन्जिल, कविताको भाषा लिएर, कोसेली, कान्तिपुर, शनिबार, १३ असोज, २०६९
"रमेश क्षितिज एउटा सशक्त कविको नाम हो । समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरुको पंक्तिमा क्षितिज सबैभन्दा अगाडि उभिने सामथ्र्य राख्छन् ।"
~ हरि अधिकारी , आफैतिर फर्किरहेको मानिसको कविता, नेपाल, आइतबार, २१ असोज, २०६९
"संग्रहमा क्षितिज कहीँ  'इन्टु द वाइल्ड 'का नायकझैँ लाग्छन्, जो निर्जनताहरुमा पनि जीवनको उच्च अर्थ र भावको उत्खनन गर्न तम्तयार भइरहन्छ, कतै हर्मन हेसको उपन्यास सिद्धार्थका नायकझैँ लाग्छन् जो जीवनका अनुत्तरित कतिपय ज्ञात/अज्ञात प्रश्नका उत्तरको खोजीमा हुन्छ ।"
~ सरस्वती प्रतीक्षा, कवितामा सुन्दर चित्र, नागरिक, शनिबार, ९ मंसीर, २०६९

"रमेश क्षितिजका कविता मानवीय परिचयलाई सर्वोच्चता दिन्छन् अनि बिम्बमय लयात्मक अनुभूतिलाई मोन्टाज प्रविधिले खिपिएका हुँदा ती सुन्दर बनेका छन् । त्यसैले क्षितिज समसामयिक कविताका सक्षम र सफल कवि हुन् ।"
~ नेत्र एटम, Facebook Status, July 21, 2013

वर्तमान समयका सेरोफेरोमा परिक्रमा गर्दै कहिले अतीत र कहिले भविष्यतर्फ दृष्टि दिई आफ्ना जीवनका भोगाइहरू, अनुभूत गरेका सत्य तथा दृष्टिकोणहरूलाई कविता र गीतका सँगालोमा समेटेर कवितासंग्रह, गीति संग्रह र गीति एलबम तीन विधाका बगैँचामा नयाँ सुगन्ध बोकेर मगमगाउन आइपुगेको छ उनका कृतिहरु ।

कविता संग्रहः 
  • अर्को साँझ पर्खेर साँझमा, पहिलो मुद्रण २०५७, दोस्रो मुद्रण २०६९
  • घर फर्किरहेको मानिस, पहिलो मुद्रण भाद्र २०६९, दोस्रो मुद्रण पौष २०६९, तेस्रो मुद्रण २०७०
  • घर लौट रहा आदमी (घर फर्किरहेको मानिसको हिन्दी अनुुवाद ) ~ अनुबादक  राजकुुमार श्रेष्ठ, २०७२
गीति संग्रह 
  • आफै आफ्नो साथी भए, वि.सं. २०६३
गीति  एल्बम
  • क्षितिज, वि.सं. २०६८ 
प्रकाशोन्मुख कृतिः
  • ............................ (कथा संग्रह)

पुरस्कार तथा सम्मान
  • वि.सं. २०५० : सर्वोत्कृष्ट गीतकार, रेडियो नेपाल
  • वि.सं. २०५१ : राष्ट्रिय कविता महोत्सव प्रथम , नेपाल प्रज्ञा प्रतिष्ठान
  • वि.सं. २०६८ : राप्ती साहित्य पुरस्कार
  • वि.सं. २०६९ : राप्ती म्युजिक अवार्ड
  • वि.स. २०६८ :  मोहन स्मृति सम्मान
  • वि.सं. २०६९ : उत्कृष्ट निजामती पुरस्कार, नेपाल सरकार
  • वि.सं. २०७० : स्थानीय विकास अवार्ड 
  • वि.सं. २०७१ : राप्ती सांस्कृतिक सम्मान 

No comments:

Post a Comment