Wednesday, January 1, 2014

तिमी भनेर आएको

सम्झ कि अँधेरीमा हिँडिरहेको बटुवा थिएँ
कस्तै हुरीमा पनि विश्वासको दियो जोगाउँदै आएको
बरालिन/बतासिन खोज्थ्यो मन - सम्हाल्दै/सम्झाउँदै आएको

म हिँड्दा - इन्द्रेणीको लाठी बोकेर
को हिँडेको थियो डाँडामाथि  ?
किन उभिएकी थिई नववधुझैँ गुलमोहर त्यहाँ ?
किन उडिरहेथे पृथ्वीका तारा - जुनकिरीहरु आँगनमा ?
त्यो सब केही नसोधी - तिमीतिरै हिडी आएको

अनेक/अनेक लयहरु
शुभेच्छा/प्रार्थनाहरु
र हृदयमा प्रेम बोकेर हिँडिरहेको मैले
हरिया पातका ध्वजापताका फर्फराइरहेको वृक्षहरुलाई समेत
अहिले त बिसाउन भ्याउँदिन है भनेर आएको

कसैको आँखामा डुबेको थियो सुन्दर सपना - खोज्नु थियो
हुरीको पातझैँ उडेको थियो आत्मीय साथ - भेटनु थियो

म चंगा - लटृाईतिर तानिँदै/तानिँदै
म पक्षी - गुँडतिर उड्दै/उड्दै
म यात्री - गन्तव्यतिर हिँड्दै/हिँड्दै
म झरी - धर्तीतिर बर्सिदै/बर्सिदै आएको

तिम्रो ढोकाको सामुन्नेमा आइपुगेको छु
बस्नलाई बास देऊ है - तिमी भनेर आएको !

- रमेश क्षितिज
(घर फर्किरहेको मानिस - मोटो गाता, साउन २०७०)




No comments:

Post a Comment