Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Saturday, June 27, 2015

अनुहार हराएको अनुहार

‘हेर्नुस्न, मैले त आफ्नो अनुहार नै हराएँ । यसपाला दसैंमा गाउँ जानुछ तर अनुहार हराएपछि साथी–आफन्तलाई कसरी भेट्नु ? टीका कसरी लगाउनु ? सबभन्दा ठूलो कुरा त बा–आमालाई कसरी आफ्नै परिचय दिनु । म त साह्रै अप्ठ्यारोमा परें ।’


रमेश क्षितिज
असार ११ - 

(आदरणीय पाठकलाई म आग्रह गर्दछु– बिहानको समय पत्रिका पल्टाउँदै चिया पिइरहेको एक व्यक्तिको आकृति र टेबुलमा फिँजारिएका विभिन्न पत्रिकाको दृष्य कल्पना गर्नुहोस् र हामी कथा सुरु गरौं ।)

‘हजुर... हजुरलाई एकदम छिटो बोलाएर ल्याउने भन्नु भ’को छ । उहाँको अनुहार हरायो भनेर घरमा हल्लिखल्ली भइरहेको छ ।’

एउटा किशोरले दौड्दै आएर भनेपछि एकछिन त म रनभुल्लमा परेँ । उहाँ भनेको को ? अनुहार हराएको भनेको के हो ? यस्तै प्रश्नहरू मनमा आइरहँदा उसले आफू आएको घर औंलाले देखायो । त्यो एक उच्च पदस्थ व्यक्तिको घर थियो जससंँग मेरो खासै निकटता थिएन । एउटै टोलमा बस्ने भएकाले आक्कल–झुक्कल भेट भने हुन्थ्यो । 

Tuesday, December 31, 2013

मैतिदेवीको मुस्कान



रमेश क्षितिज
कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन ।

मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना सुन्दर अनुहार उसलाई हेरेर मुस्कायो । ऊ मुस्काऊँ कि यसै बसिरहूँको दोमनको स्थितिमा थियो तर ओठहरू अलिअलि खुम्चिसकेका थिए । त्यसबेला अझ ऊ द्धिविधाग्रस्त भयो जब पर पुगेर पनि सबैजनाले फर्केर हेरे ।

‘कोही चिनेकै केटी हुनुपर्छ’ उसले मनमनै भन्यो र सम्झिन थाल्यो । कतै सँगै कलेज पढेको साथीको साथी हो कि परिचय भएर पनि बिर्सेको ? अथवा ऊ पहिलेपहिले ससाना लेखहरू पनि लेख्ने गर्दथ्यो गोरखापत्रमा, कतै त्यसको प्रभाव हो कि ? गोरखापत्रमा ऊसँगै पढ्ने एक जना साथी थियो उसैले सिकाएर दुईचार लेख छापिएका थिए ।

Sunday, April 14, 2013

उस्तै छु म

रमेश क्षितिज
एउटा नेपाली दैनिक समाचारपत्रको ब्यानरन्युजमा सनसनीपूर्ण खबर छापियो, जसको निचोड यस्तो थियो – आगामी असार १५ गते सबै भौतिक र मानवीय स्वरूपहरू तिनको पूर्वावस्थामा एक दिनका लागि परिवर्तन हुने ।

राजधानी सबैभन्दा बढी प्रभावित भयो यो समाचारले मानिसहरूबीच चर्चाको विषय यही नै थियो । केही मानिसहरूले समाचारको विश्वसनीयतामाथि आशङ्का प्रकट पनि गरेका थिए । जस्तो पटकपटक हुन्छ – यसपल्ट पनि तरकारीको भाउ बढ्यो, मट्टितेल र ग्याँसको अभाव हुन थाल्यो, खाद्यान्नको कृत्रिम–अभाव सिर्जना भयो बजारमा । 

हजुर, दैनिक पत्रिकाले कभर गरेको समाचार हामीले प्रसारण गर्ने कि नगर्ने? भविष्यवक्ता, खगोलशास्त्री, भूगोलशास्त्री, भूगर्भविद् र वैज्ञानिकहरूले एक मत भएर किटानी गरेका छन् असार १५ गते १० बजेदेखि ५ बजेसम्म ग्रहहरूको अवस्थाले गर्दा वस्तु र मानवीय स्वरूपको परिवर्तन भई सबै पूर्वावस्थामा फर्कने छन् ।’ राष्ट्रिय प्रसारण संस्थाका प्रमुखहरू सञ्चारमन्त्रीलाई सोध्दै थिए । सरकारनियन्त्रित सञ्चारमाध्यमले कुनै महत्वपूर्ण समाचार प्रसारणअघि सञ्चारमन्त्रीसँग अनुमति लिनुपर्ने परम्पराअनुरूप नै उनीहरू सञ्चारमन्त्रीको सरकारी–निवासमा भेला भएका थिए ।