Saturday, February 1, 2014

अन्सारी रोडमा अनुवाद

मितिः २०७० माघ १८, कान्तिपुर कोसेली
 फुलमान बल

माघ १७ -
'रात में
दुसरी ओर फोन पे रो रही है एक लड्की
याद करता हुँ उसके मुस्कुराते आँखे
उजाला चेहरा और उसकी गहरी भावुकता
और जिन्हे उसने चाहा उनसे मिले आघात
अनायास हवा में लहराते हैं हाथ
जैसे की- मैं पोंछ रहा हुँ उसके आँसु
दूर बहुत दूर से...'

दिल्लीको एक चिसो बिहान । दरियागन्जस्थित गोल्छा सिनेमाको अपोजिट साँघुरो गल्ली हुँदै अघि बढ्दा चार नम्बर अन्सारी रोडमा भेटिए राजकुमार श्रेष्ठ । दुब्लो ज्यान, छिर्केमिर्के गलबन्दी र ज्याकेटधारी यी कविको नाम केही अघि अनलाइनतिर पढेको थिएँ, अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले गरेको अन्तर्राष्ट्रिय गीत प्रतियोगितामा यिनको 'भोलि खोज्न नपरोस् माटो...' शीर्षकको रचना उत्कृष्ट बनेको थियो ।
धादिङ सुनखानी पुख्र्यौली घर भई दिल्लीमै जन्मी हुर्केका यी 'नेपाली ठिटो' केही दिनअघि दरियागन्जमा भने 'फोनमा रोइरहेकी केटी' सम्झिरहेका थिए । थोरै बोल्ने र अन्तरमुखी २४ वर्षे तन्नेरी गाउँघर सम्झेर नोस्टाल्जिक बनिरहेका थिएनन्, उनी कवि रमेश क्षितिजको 'घर फर्किरहेको मानिस'मा समेटिएको कविता 'फोनमा रोइरहेकी केटी' लाई हिन्दीमा अनुवाद गरिरहेका थिए ।

चार नम्बर अन्सारी रोडस्थित एउटा किताब दोकान । राजकुमारले यहाँ झन्डै आधा दशक बिताइसकेका छन् । आदर्श इन्टर प्राइजेज लेखिएको किताब गोदामभित्र उनी भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोर, प्रेमचन्द, निर्मल बर्मादेखि पछिल्लो युवा ढुकढुकी चेतन भगतसम्मका किताबबीच घेरिरहेका हुन्छन् । भारतभर किताब डिस्टि्रब्युसन गर्ने यो गोदामबाट उनी भने नेपाली सिर्जनालाई हिन्दीमा लैजाने प्रयास गरिरहेका हुन्छन्, फर्सुदको समय । 'रमेश क्षितिजको 'घर फर्किरहेको मानिस'को हिन्दी अनुवाद सकाइसकें,' उनले भने, 'प्रकाशनबारे कुरा भइरहेको छ ।'

दिल्ली युनिभर्सिटीबाट स्नातक गरेका यिनी एक दुई वर्ष बिराएर नेपाल आउँछन् । यता आउँदा नेपाली साहित्यका चलेका किताब किनेर लाग्छन् र अध्ययन गर्छन् । रोचक के भने किताबको सबै अनुवाद गरिसकेको भए पनि उनले अहिलेसम्म कवि रमेश क्षितिजलाई भेटेका छैनन् । 'अस्ति दसैंमा घर जाँदा उहाँको कृति नयाँ बानेश्वर चोकमा किनेको थिएँ,' उनले भने, 'यहाँ आएर किताब पढ्दा म निकै भावुक भएँ । उहाँका कवितामा गाउँघरका टिपिकल विम्ब र नोस्टाल्जिया हुँदोरहेछ, मेरै अनुभूतिसँग मिल्ने । त्यही भएर अनुवाद थालें ।'

सुरुमा उनले किताब निकाल्ने भनेर अनुवाद गरेका थिएनन् । कविताले मन तानेपछि कविलाई उद्धृत गर्दै केही पंक्ति अनुवाद गरेर उनले फेसबुकमा पोस्ट गरेछन् । यसअघि उनले आफूलाई मन पर्ने कवि -रमेश) लाई रिक्वेस्ट पठाइसकेका थिए, नेपालबाट रमेशले 'प्रशंसासहित' प्रतिक्रिया पठाए । 'भारतीय साथीहरूले पनि 'निकै छुने कविता रहेछ, कुन हिन्दी कविको रचना हो' भनेर सोध्न थाले' नेपालीमा एउटा खण्डकाव्य र हिन्दीमा गजल संग्रह तयार पारिसकेका उनले अनुवाद कथा सुनाए, 'यसपछि म हौसिएँ अनि सबै किताब अनुवादको अनुमति मागें फेसबुकमै ।'

दिनभर किताब पसलको जागिर । नाङलोईबाट दरियागन्ज बिहान-बेलुकी ओहोरदोहोर गर्दा मात्रै पनि बसमा दुई घन्टा त्यसै बित्थ्यो । उनले जे जति अनुवाद गरे ९१८ नम्बरको बसमा गरे । 'दिउँसो पसलमा कविता पढेर गुन्गुनाउँथे, अनि बसमा त्यसलाई हिन्दीमा उतार्थें र साँझ घर पुगेर कम्प्युटरमा टाइप गर्थें' चिया सुरुप्प पार्दै उनी मुस्कुराए, 'एउटै काम बारम्बार गरिरह्यो भने लत बन्दो रहेछ, अहिले म लती बनेको छु । गाडीमा कोही कोही मान्छे त अनौठो मानेर हेर्छन् । अहिले म भीष्म उप्रेतीको दुइटा किताबका छानिएका रचना अनुवाद गरिरहेको छु ।'

भीष्मको पनि रचनाले तानेरै अनुवादमा लागेको उनले दाबी गरे । उनीसँग पनि सुरुमा फेसबुकबाटै भेटेका थिए यिनले । 'प्रेमको प्रतिध्वनि' र 'आकाश खस्यो भने के हुन्छ ?' बाट छानिएका कविता अनुवाद गरिरहेका उनले भीष्म दसैंमा नेपाल आउँदा भेटेका थिए । लजालु स्वभावका यिनले क्षितिजलाई ढाटाबाट त देखे तर भेट्नचाहिँ सकेनन् रे । केहीअघि आफन्तको नागरिकता बनाउन उनी धादिङबेसी पुगेका थिए । नागरिकताको लाइन लाग्दै गर्दा एउटा गाडीबाट 'एलडीओ साब' ओर्ले । तिनी रमेश क्षितिज थिए । 'मैले उहाँलाई चिनें, तर बोल्न सकिन,ँ' उनले भने, 'सिर्जनाले जबर्जस्त फ्यान बनाएपछि सायद यस्तो हुन्छ कि ।'

क्षितिजको कविताको थिम र प्रस्तुतिलाई उनले सबैभन्दा बढी प्रशंसा गरे । 'उहाँको कवितामा म आफंै बोलिरहेको जस्तो लाग्छ,' उनले भने, 'अनि अनुवाद पनि आफ्नै शैलीमा गरौं कि भन्ने लागेको थियो तर सिधै गरें ।' बोल्दा पनि हिन्दी लवज मिसाउने उनी पुख्र्यौली थलो सुनखानीमा केही वर्षमात्रै बसेका छन् । तर दिल्लीमा परिवारसहित बसेका कारण रहनसहन, भाषा र संस्कृतिमा खासै समस्या भएन । साहित्यको त पारखी भई नै हाले । 'तर, कविता अनुवादचाहिँ केही गाह्रो नै हुँदोरहेछ 'झ्याउरे शब्द' -टिपिकल) का कारण' अनुवादित कृतिहरूलाई सकभर भारतीय प्रकाशनबाटै छाप्ने पहल गरिरहेका उनले सुनाए, 'तर मैले कहिले पनि शब्दकोश हेरेर अनुवाद गरिनँ । अनुवाद भनेको शब्दभन्दा भाव हो जस्तो लाग्छ ।'

कुराकानी क्रममा उनी भावुक भए । उनका औंलाहरू आफैंद्वारा अनुवादित क्षितिजको कविता 'लडाकुको रुमाल' माथि सल्बलाइरहेका थिए । मुलुकमा द्वन्द्व चलिरहेको बेला उनी दिल्ली युनिभर्सिटी पढ्दै थिए । उनले फेरि धादिङको सुनखानी गाउँ सम्झे ।

प्रकाशित मिति: २०७० माघ १८ १२:२०
 



No comments:

Post a Comment