Thursday, November 7, 2013

विरहका गीतको 'गुञ्जन'

दाङ, कार्तिक २१ -

सन्तोष श्रेष्ठले संगीत भरेका अधिकांश गीत विरहबाट जन्मेका हुन्छन्, त्यत्तिकै चर्चा पाउँछन् पनि । अरूले निकाल्ने एल्बममा संगीत भरेर चर्चा कमाएका श्रेष्ठले गीतकार प्रकाश केसीसँग मिलेर आफ्नै उत्पादनका रूपमा एउटा एल्बम तयार पारे- 'गुञ्जन ।' यही एल्बमको समीक्षा गर्न उनले बुधबार दाङमा चर्चित गीतकारहरू जम्मा गरे । रमेश क्षितिज, गायक तथा अधिवक्ता भीमार्जुन आचार्य, कृष्णराज डीसी र नारायण नेपालले उनका गीतका भाव केलाउँदै भने, 'गीतहरू विरहबाट जन्मेका रैछन् ।' 


दाङ निवासी केसी र श्रेष्ठले गीत संगीतका क्षेत्रमा पुर्‍याएको योगदान एल्बममा झल्किने टिप्पणी उनीहरूको थियो । 'स्थानीय कलाकारको सिर्जना यति उत्कृष्ट हुनु गर्वको विषय हो,' गीतकार क्षितिजले भने, 'गायनमा पनि स्थानीय प्रतिभाले नै पाएको भए झन् रोचक हुने थियो ।' सात गीत रहेको एल्बममा अञ्जु पन्त, सञ्जीवनी, राजेशपायल राई, अञ्जना गुरुङ र मनोज मिश्रले स्वर दिएका छन् । 'तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ...' जस्ता विरही गीतहरूको संग्रह भएकाले एल्बम कर्णपि्रय बनेको गीतकार आचार्यले बताए । 'माया प्रेम, जीवनका दुःखसुख झल्किने गीत छन् जुन हरेक मानिसलाई आफ्नै जस्तो लाग्छन्,' उनले भने, 'यी गीतहरूले नेपाली संगीतको विकासमा थप ऊर्जा दिनेछन् ।'

गीतकार डीसी र नेपालले पनि एल्बममा चर्चित गीतहरू रहेकाले मन छुने दाबी गरे । 'विरहका गीत या त गीतकार आफैंले भोगेका हुन्छन् या त अरू कसैले भोगेको अनुभूति हुने गर्छन्,' नेपालले भने, 'तर सुन्दा हरेक श्रोताले आफू नै विरहमा डुबेको महसुस गर्छन् ।' मायाप्रेम, मिलन बिछोड, दुःखका बीच जीवनप्रतिको सकारात्मक दृष्टिकोणजस्ता आदर्श गीतमा रहेको डीसीले दाबी गरे । संगीतकार श्रेष्ठले गीत संगीतको क्ष्ाेत्रमा मोफसलको भूमिका स्थापित गर्न एल्बम सफल हुने दाबी गरे । 'एल्बममा राजधानी बाहिरका स्रष्टाहरूको क्ष्ामता प्रस्फुटन गर्ने अवसर मिलेको छ,' उनले भने, 'अझै राम्रा गीतहरू ल्याउन यसले उत्साहित बनाएको छ ।'

प्रकाशित मिति: २०७० कार्तिक २२ १०:०१
कान्तिपुर

No comments:

Post a Comment