धरान, चैत्र २४ -
विश्व प्रख्यात सेलिब्रेटी लेखकबारे सूचना खोज्नु पर्यो भने गुगल जिन्दावाद ! त्यसमाथि निःशुल्क इन्साइक्लोपेडियाको रूपमा विकिपेडिया हाजिर छ । पाउलो कोयलो खोज्ने कि हारुकी मुराकामी ? अथवा सन् २०१२ मा नोबेल साहित्य पुरस्कार पाएका छिमेकी चीनका लेखक मो यानको नालीबेली खोतल्नु छ भने पनि विकिपेडिया निकै भरपर्दो माध्यम बन्न सक्छ । नेपाली स्रष्टाको हकमा भने एकाध बाहेक विकिपेडियाले खासै सहयोग पुर्याउने छैन । यस्तैमा मोफसलको एउटा साहित्यिक संस्थाले नेपाली स्रष्टालाई विकिपेडियामा व्यवस्थित गर्ने प्रयास गरेको छ । धरानको केही जुझारु साहित्यप्रेमी तन्नेरीको पहलमा डेढ वर्षअघि स्थापना गरिएको फ्यान क्लब अफ रमेश क्षितिजले यस्तो काम थालेको हो ।
क्लबले क्षितिजलाई नै पहिलो स्रष्टाको रूपमा रोजेको छ । एक वर्षदेखि थालिएको विकिपेडिया निर्माण कार्य द्रूत गतिमा अघि बढिरहेको छ, विभिन्न पत्रिपत्रिका, रेडियो, टीभी लगायतबाट सामग्रीहरू संकलन गरेर अनलाइन आरकाइभ मात्र नभई हार्ड कपी स्टोरसमेत गरिहेको छ क्लबले । 'कुनैपनि स्रष्टाबारे बुझ्नुपर्यो भने हामीकहाँ सन्दर्भ सामग्री खासै उपलब्ध हुँदैनन्,' क्लबकी अध्यक्ष कमला लिम्बूले भनिन्, 'यस्तोमा वैज्ञानिक रिसर्च या वस्तुवादी अनुसन्धान हुन सक्ने कुरै भएन । त्यही भएर हामीले आरकाइभिङ थालेका हौं ।'
अनुसन्ध्ाान मात्रै हैन, कुनै पनि फ्यानले आफ्नो मन परेको लेखक या सेलिब्रेटीबारे खोज्नुपर्यो भने विकिपेडिया सजिलो हुने लिम्बूले बताइन् । क्लबले भने विकिपेडियासँगै हार्ड फाइल नै बनाएको छ । गीतकार तथा कवि क्षितिजबारे देश विदेशका कुनै पनि सञ्चारमाध्यममा छापिएका सबै समाचार, समीक्षा, समालोचनादेखि तस्बिरसम्म संकलन गरेर तीनवटा हार्ड फाइल बनाइएको छ । क्षितिजको जीवनी, उनका गीत र किताब तथा एल्बमबारे तस्बिरसहित विकिपेडियामा उपलब्ध छन् । रेडियो अन्तर्वार्ता, समाचार, टीभी अन्तर्वार्ताहरूसमेत राखिएका छन् । यी सामग्री साथ सक्कल अनलाइन लिंकहरू पनि राखिएका छन् । 'सबैभन्दा धेरै समय संकलनमा लाग्दो रहेछ,' क्लबकी सचिव निला तामाङले भनिन्, 'रमेश क्षितिजका सामग्री संकलनमा मात्रै लगभग एक वर्ष लाग्यो ।'
व्यक्तिगत हिसाबमा आरकाइभिङ (अभिलेखीकरण) का कामहरू भइरहेको भए तापनि एउटा स्रष्टाको नाममा फ्यान क्लब नै निर्माण गरी बृहत्तर साहित्यिक प्रवर्द्धनको काम हुनु प्रशंसनीय रहेको कवि क्षितिजले बताए । रोचक के भने, क्लबका सदस्यहरू कुनै साहित्यिक प्रतिष्ठानसँग जोडिएका छैनन् । साहित्यभन्दा पर स्वास्थ्य र विज्ञानसँग सम्बद्ध (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा कार्यरत साहित्य पारखीहरूले निर्माण गरेको क्लबले क्षितिजपछि अरू स्रष्टाको आरकाइभिङ पनि थाल्ने निलाले बताइन् । 'ढिलै होस् तर राम्रो काम गरौं भन्ने चाह हो,' उनले भनिन् । योसँगै क्लबले अन्य साहित्यिक सामाजिक गतिविधि पनि गर्दै आएको छ । केहीअघि महेन्द्र बहुमुखी क्याम्पस धरानको नेपाली विभागसँग मिलेर साहित्यकार टोपबहादुर याक्खाको कविता कृतिमाथि परिचर्चा गरेको क्लबले केही दिनअघि पकलीस्थित रामजानकी वृद्धाआश्रममा लत्ताकपडा र खाद्यान्न बाँड्यो ।
विकिपेडियामा आदिकवि भानुभक्त आचार्य, युगकवि सिद्धिचरण श्रेष्ठ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, भूपी शेरचन, गोपालप्रसाद रिमाल, इन्द्रबहादुर राई, अम्बर गुरुङदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका खाता भेटिन्छन्, तर ती अपडेट नगरिएको या पूर्ण नभएको अवस्थामा छन् । यीमध्ये लक्ष्मीप्रसाद देवकोटा, पारिजात, सिद्धिचरण र अम्बर गुरुङको तुलनात्मक रूपमा अलिक विस्तृत सामग्री भेटिन्छन् । अडियो-भिडियो र अन्त नपाइने सामग्रीको स्क्यान कपीहरूसहितको विस्तृत विकिपेडियामा भने क्षितिज अगाडि छन् ।
कान्तिपुर संवाददाता
प्रकाशित मिति: २०७० चैत्र २५ ०९:०४
No comments:
Post a Comment