Friday, October 11, 2013

कवितालाई वान्स मोर

कति कठिन छ हेर्नु
आफ्नै आँखाअघि आफ्नै अंगपतन !

खसे मेरा आँखा—बने नुनिलो पानीको तलाउ
खसे परेलाहरू— उम्रो उदासीको दुबो भएर
नाक खस्यो—बन्यो निराशको अँध्यारो सुरुङ

हात खसेर बने पीडाका रूखहरू/हाँगाहरू
खस्यो चिउँडो— बन्यो पीडाको पहाड
करङ खसेर बने— मान्छे उक्लिने भर्‍याङ

कमलादीस्थित नेपाल एकेडेमीको डबलीले थेग्न नसक्ने भिडमाझ कवि रमेश क्षितिजले अर्को स्वस्थानी शीर्षकको माथिको कविता सुनाउँदा ताली पाए । क्षितिजको कवितामा मात्र होइन, कविता सत्रमा विक्रम सुब्बा, मणि लोहनी, शकुन्तला जोशी, विमला तुम्खेवा, निभा शाह, रावत, मोमिलालगायतका कविताले पनि दर्शकबाट ‘वान्स मोर’ पाए । साहित्यिक विधामा धेरै लेखिने तर कम पढिने भनिएको कविताले वान्स मोर बिरलै पाउँछ । तर, कमलादीमा चार दिन चलेको एनसेल नेपाल लिटरेचर फेस्टिभलको अन्तिम कार्यक्रम कवितावाचनमा कविता सुन्ने दर्शकको माहोल नै बेग्लै थियो । कार्यक्रममा १८ कविले कविता वाचन गरेका थिए ।



लिटरेचर फेस्टिभलको तेस्रो संस्करणमा अन्तिम दिनको अन्तिम कार्यक्रमले मात्र होइन, चौथो दिनको पहिलो कार्यक्रम सेलिब्रेटिङ राजेश हमाल पनि जम्यो । लिटरेचर फेस्टिभलका सबै सत्रभन्दा हमालका कुरा सुन्न धेरै दर्शक जम्मा भएका थिए । ‘महिलामा म पहिले गुणैगुण देख्छु,’ उनले सोही सत्रमा भने, ‘भेटेपछि अवगुण मात्र देख्छु ।’ कलाकार अनुप बरालले गरेको हमालसँगको कुराकानीमा धेरै हाँसो रमाइलोका कुरा भए भने केही हमालको परिवारसँग जोडिएका भावुक विषय पनि निस्के । हमाल सहभागी सबै कार्यक्रममा सोधिनेजस्तो उनलाई सोमबार पनि बिहेको विषयमा सोधियो । ‘स्वार्थका लागि बिहे गरेका मानिस पनि नभएका होइनन्,’ उनले त्यसको जवाफमा भने, ‘भविष्यमा सहयात्री चाहिन्छ नत्र एक्लो भइन्छ भन्ने मानसिकताले पनि मानिसले बिहे गरेका छन्, तर नेपालको आर्थिक, सामाजिक परिवेशले पनि विवाहलाई महत्त्वका साथ उठाएको छ ।’ हमालले सबै प्रश्नको बढो कुटिल जवाफ दिए पनि आफ्नो विवाहको प्रसंगमा भने त्यति खुल्न चाहेनन् । तर, उनले भने, ‘माया मनबाट आएर पनि गरिने रहनेछ, आफूलाई चाहिन्छ, मैले माया गर्नुपर्छ भन्ने स्वार्थका कारण गरिने रहेछ ।’

सोही सत्रमा हमालले नेपाली चलचित्रको पछिल्लो वर्षमा राम्रो विकास देखिएको र आफू पनि हरपल नेपाली चलचित्रको विकासका लागि नै लागिरहेको प्रसंग कोटयाए । तर, उनले आफ्ना बाबु सम्झँदै बाबुको चाहनाअनुसार गरिरहेको वा त्यसलाई सम्बोधन गर्न नसकेको बारे अनभिज्ञता प्रस्तुत गरे । सधैँ जीवनमा बाबुलाई रोल मोडल मानेको बताएका हमालले कार्यक्रममा बाबुलाई अन्तिम समयमा भेट्न नपाएको र आफूले गरेको कामबारे स्पष्टीकरण दिन नपाएकोमा पनि दुखेसो पोखे ।

फेस्टिभलको दोस्रो चरणमा भारतीय पत्रकार तथा लेखिका एन्नी जेइडीसँग सोमेश वर्माले रिपोर्टिङ द अननोन टर्फमा जेइडीले कसरी आफ्नो मूलधारको पत्रकारिता, ब्लग लेखन छाडेर पुस्तक लेखक बनिन् भन्नेबारे अनुभव साटेकी थिइन् । सत्रमा लेखकको बानीबारे समेत उनको अनुभव साटेर छलफल भएको थियो । फेस्टिभलको चौथो दिन नै आख्यान र गैरआख्यानबारे छलफल भएको थियो । अत्यन्तै रोचक बनेको छलफलमा उपन्यासकार अमर न्यौपाने र नयनराज पाण्डे तथा लेखक मोहन मैनाली पनि सहभागी थिए । उनीहरूले कार्यक्रममा विधागत विकास भएकाले सबै साहित्यिक क्षेत्रको राम्रो भइरहेको तर आख्यान पछिल्लो समय बजारमा धेरै पाएको अनुभव साटे । सो सत्रलाई आनन्द राईले मध्यस्थता गरेका थिए ।

फेस्टिभलको अन्तिम दिन अर्को चरणमा रवि थापाले बेलायती लेखक नेड बेउमनसँग ग्रोइङ अप विथ ग्रान्टा शीर्षकमा छलफल गरेका थिए । उनको पुस्तक ग्रान्टा, उनको लेखन शैली र त्यसक्रममा गर्ने अध्ययन, अन्वेषणका पाटोबाटे उक्त सत्रमा छलफल भएको थियो ।

फेस्टिभलको प्रतीक्षित कार्यक्रममध्येको अर्को सत्र नेपाली भाषा कसको ? शीर्षकका नेपाली भाषाले अहिले खेपिरहेको चुनौतीबारे वसन्त थापाले विभिन्न विषय उठाएका थिए । उनले नेपाली भाषाका विषयमा पछिल्लो समय कहिलेकाहीँ अनावश्यक दाउपेच गरेर आफ्नो वशमा लिन खोज्ने मानिस पनि भएको बताए । उनलाई कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले सघाएका थिए ।

फेस्टिभलमा सोमबार वासुदेव अधिकारीको गायब सभामुख विमोचन पनि भएको थियो । उनको कवितासंग्रह राजन मुकारुङ, कृष्ण धरावासी र अमर न्यौपानेले विमोचन गरेका थिए । फेस्टिभलमा चौथो दिन छापा पत्रकारिताको भविष्य शीर्षकमा पनि सत्र चलाइएको थियो । सो सत्रमा तीन सम्पादक राजेन्द्र दाहाल, अमित ढकाल र अखिलेश उपाध्यायले बहस गरेका थिए, जसलाई रजनीश भण्डारीले मध्यस्तता गरे । सत्रमा छापा पत्रकारिताको भविष्यदेखि अनलाइन पत्रकारिताको सम्भावनासम्म छलफल भएको थियो ।

चार दिन चलेको फेस्टिभलको समापन गर्दै फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले आगामी वर्ष झन् बढी सशक्त कार्यक्रम गर्न यसपटकको सहभागिताले प्रेरणा दिएको बताए । फेस्टिभलमा २०/२५ हजार साहित्यअनुरागी सहभागी भएको आयोजकको दाबी छ ।

 ३१ वर्षपछि पुनर्मिलन

चारदिने फेस्टिभलमा साहित्यका विभिन्न विषयमा चलेका सत्रजस्तै चौथो दिन सोमबार पुस्तान्तर विषयमा पनि कार्यक्रम थियो । कार्यक्रममा सहभागीले पुराना पुस्ता र नयाँ पुस्ताका लेखकले साहित्यमा गरिरहेको योगदान र विभिन्न विषयमा दुई घन्टासम्म छलफल गरे । कार्यक्रममा पुरानो पुस्ताका शैलेन्द्र साकार, बेञ्जु शर्मा र श्यामल सहभागी थिए भने नयाँ पुस्ताका बुद्धिसागर, आन्विका गिरी र प्रवीण अधिकारी सहभागी थिए । कार्यक्रमको सहजीकरण पत्रकारद्वय किशोर नेपाल र वसन्त बस्नेतले गरेका थिए ।


साहित्यमा केन्द्रित छलफल भयो नै, कवि श्यामल र उपन्यासकार तथा पत्रकार किशोर नेपालबीच सत्रले पुनर्मिलन पनि गराइदियो । श्यामलका अनुसार ०३९ सालदेखि नेपाल र उनीबीच खासै बोलचाल थिएन, लेखका विषयमा उनीहरूबीच सामान्य विवाद परेको थियो । ‘त्यतिवेला लेखको विषयमा हामीबीच सामान्य मनमुटाव भएको थियो,’ श्यामल भन्छन् । यत्तिका लामो समयपछि सोमबार उनीहरू एउटै मञ्चबाट एउटै विषयमा संवादमा सहभागी भए, मन्द मुस्कानसहित हात मिलाए ।

 - शिखर घिमिरे
प्रकाशित मितिः

No comments:

Post a Comment