काठमाडौं:
उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सात्को एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
वर्षौँ पुरानो देशभक्त अमर सिंहको
तस्बिरबाट
अचानक आँखा झरेछन्
हुनसक्छ, ठीक त्यहीबेलादेखि
देशका मार्गदर्शकहरुले
दृष्टि गुमाएको हुनुपर्छ......
लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरले संयुक्त रपमा बुधबार आयोजना गरेको 'हामी कवि र कविता' मा कवि मोमिलाले 'भीमसेन थापाको सुसाइड नोट' शीर्षकको कविता हो यो ।
प्रत्येक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं भन्ने नाराका साथ महिनाको पहिलो दिन दुई स्रष्टालाई कवितावाचन गराइँदै आएको छ ।
मोमिलाले अस्तित्वको बक्ररेखामा, समानान्तर रेखामा नारी संवेदना, रेखाविहीन संवेदन प्रेम, किरिङमिरिङ भाग्यरेखामा देश र रेखांकित स्वरावली गरी पाँच खण्डमा कवितालाई विभाजन गरेर दर्जन बढी कवितावाचन गरेकी थिइन् । अर्का कवि रमेश क्षितिजले भने नौवटा कवितावाचन गरेका थिए । सरल शैलीमा लेखिएका उनका कविता पनि जीवनसँग सम्बन्धित थिए ।
कविता र गीतमा पकड जमाएका क्षितिजले सामान्य विषयवस्तुलार्ई पनि कलात्मक ढंगले कवितामा उतारेका थिए । उनको 'समुद्र किनारमा एक शुभेच्छुकसँग' शीर्षकको कविताको अन्तिम अंश यस्तो थियोः
त्यहीँ छन् दुःखका पहाडै पहाडहरु
संघर्षै संघर्षले घेरिएको उपत्यका छ त्यहाँ
तर ओठमा फुल्दछ करोडौंको मुस्कान ।
अन्नपूर्ण पोष्ट
बिहीबार, २ माघ २०७०
Thursday, January 16. 2014
No comments:
Post a Comment