–यशोदा तिम्सिना
कविता लेख्नेहरूले सोच्दा होलान्– आफ्नो लेखनीको मर्म के? धर्म के? या किन लेख्ने? लेख्नका लागि लेख्नेको त के कुरा भो र? लेखेपछि अरूको मथिंगल रिंग्याएर वा हृदय झंकृत पारेर लेख्नेहरू विरलै हुन्छन्। निशुःल्क चिया पिलाएर कविता सुनिदेऊ भन्दै अर्को व्यक्तिलाई अनुनय–विनय गर्ने कविहरूको भीडमा यस्ता पनि कवि छन् जसलाई सुन्न, पढ्न र बुझ्न चाहने पारखीको कुनै कमी छैन। त्यस्ता लोकप्रिय कवि हुन्, रमेश क्षितिज।
पछिल्लो पुस्ताका कविमा अग्रपंक्तिमा दरिएका रमेश यो धर्तीका यस्ता पुत्र हुन् जसले वन जंगल, आगो, हावा, पानी, ढंुगा, माटो, जनवार, मान्छे सबैसँग उसैगरी मित्रता गरेका छन्। प्रेम गरेका छन्। समग्रमा, संसार बुझ्ने चेष्टा गरेका छन्।
बुझ्दै नबुझ्नु, बुझेर बुझ्नु र बुझ्नुपर्छ भन्ने बुझ्नु फरक कुरा हुन्। कवि रमेश पछिल्लो सत्यका हिमायती हुन्। कविता लेखेर के नै हुन्छ र? भन्नेहरूका निम्ति गतिलो जवाफ हुन्। समयको भाषा कवितामार्फत यति तिख्खर तर सरल भाषामा बोल्ने कवि पनि हुन्छन् भन्ने कुराका उदाहरण हुन्। समकालीन कविको नाम लिँदा रमेश अग्रपंक्तिमा आउनुको कारण पनि उनका कविताको शक्तिले दिएको ओज भन्नुमा अर्घेल्याइँ ठहरिन्न।
मरेपछि स्तुतिगान गाउने र बाँचेसम्म व्यक्तिको प्रतिभाको कदर नगरिने समाजमा रमेशका कविताले पनि उचित मूल्यांकन पाएनन् भने अन्यथा ठान्नु पर्दैन। यथार्थको धरातलमा उभिएर भन्नुपर्दा रमेश एक उम्दा कवि हुन्, जसले आफू माध्यम बनेर प्रेमी, दुःखी, लडाकू, फिरन्ता, निरीह, सत्यवानका कथा कहेका छन्। रमेशका कविता बलशाली छन्। सालिन छन्। सत्यभन्दा पर्तिर अर्को सत्यको के अर्थ होला? हो यही नै कविको अन्तिम सत्य हो। कवि हृदयमा भावुकता भरेर इन्धन नभएको जेट उडान गर्ने धृष्टता यिनले गरेका छैनन्। देखेका, भोगेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई जस्ताको तस्तै राखिदिएका छन् सभ्य र बुझ्ने भाषामा। उनी सोच्छन्,
यही बाटो कोही गइरहेछन् सिंहदरबार
कोही मलेसिया वा कोरिया अनि द्वन्द्वग्रस्त इराक
कहीं जाँदैन यो बाटो, कहीं जाँदैन
बरु तपाईं पो कहाँ जाने दाइ? (बाटो)
कविको स्विकारोक्ति छ, सत्ता, शक्ति, अहंकार, हिंसा, दया, माया, घृणा, लोभ, पाप सबैभन्दा माथि हुन्छ कविता। कम्तीमा, कविले बोल्ने भाषामा उल्लिखित मात्रै विषय हुँदैनन्। यसभन्दा माथि कतै पुग्ने क्षमता कविताले बोकेको हुन्छ। लेख्ने र पढ्नेले बुझेभन्दा ओजिलो अर्थ कविताले बोकेको हुन्छ। फरक यति हो, बुझाइको स्तरले कविताको गहराइले मापन गरिरहेको हुन्छ।
रमेशको सबैभन्दा ठूलो प्राप्ति हो, यिनले देखेको संसार। एउटा यायावरझैं देश र विदेशका विभिन्न ठाउँ चहारेपछि यिनको कवि हृदय समुन्द्रको गहराइमा पुग्न सफल भएको छ। जसले मोती नटिपी यात्रा किन टुंग्याउँथ्यो र? मान्छे जस्तो रहस्यमयी, जादुगर, स्वप्नदर्शी, कोमल, भावुक, संघर्षशील, मायालु, हिंस्रक, कठोर, दम्भी, ऊर्जाशील, कर्मठ, बौद्धिक हुनुपर्छ कविता भन्ने उद्घोष गर्ने साहस कविले यात्राबाटै संकलन गरेका हुन्।
रमेशलाई कुनै वाद वा विवादमा फस्नु छैन। कसैको नजिक हुन कुनै रङ घस्नु छैन। कविताका पारखीले हृदयको कुनै कुनामा एक प्रहर रात काट्ने अनुमति दिए भने यिनले पाएको ठूलो पुरस्कार यही हुनेछ। राम्रा कविता लेख्ने कवि हो भनिदिएमा अरू फुँदाको जरुरी छैन।
जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि त्यसै भनिएको होइन रहेछ। मानिसले जीवनी या आत्मकथामा भन्न नसकेका कुरा कविताले भन्छ भन्ने रमेशको तर्कशास्त्रलाई काट्न शब्द खोजिरहनु पर्दैन पनि। कविले सोचे जस्तो, सफल कवि हुन एउटा असल शिक्षकको हात हुन्छ। शिक्षक जो आमा, बा, प्रेम गरेका मानिस, छिमेकीलगायतका स्वरूपमा आउन सक्छन् नकि फगत विद्यालयको चौघेरोमा बस्ने गुरुबा गुरुमा।
समयको चेत बोल्न सक्ने कविताले इतिहासको खोज, वर्तमानको अभिलेख र भविष्यको जोखाना हेर्न सक्छन्। कविका रूपमा रमेशले यी तिनै सन्दर्भमा ‘डिस्टिङ्सन’ ल्याएका छन्। नपत्याए हेरौं यी हरफहरू जसले तिनै सन्दर्भको सांगोपांग व्याख्या गर्छन् यसरी:
बर्सेनि आउँछन् प्रमुख अतिथिजस्ता नयाँ वर्षहरू
र विमोचन गरेर जान्छन्
रंगीन सपनाका नवीनतम् सपनाहरू (नयाँ वर्ष)।
कविले गरेको अर्को नवीन प्रयास हो, आफ्ना कविताको भूमिका आफैं लेख्नु। पछिल्लो समय नेपाली साहित्यमा भूमिका लेख्ने दिग्गजले स्रष्टालाई यसरी उकालिरहेका हुन्छन्, लोत्से, नुत्से या मझौला चुचुरा चढ्ने अभ्यास नगरी सगरमाथा चढ्ने आरोही जस्तो। चढ्न त जेनतेन चढ्ला तर ओर्लने कसरी? जसको भेउ नपाएर शिखरले नै बेपत्ता पार्ने खतरा जस्तो।
आफ्नो भूमिका लेखनमा रमेश आफैं अघि सरेका छन्, पहिलो प्रेम र प्रिय कविताको आत्मकथा शीर्षक लिएर। कवि र कविता लेखनीको पृष्ठभूमिले कविता संग्रहको वजन बढाएकोे छ। आत्म साक्षी राखेर जब व्यक्तिले केही कहन्छ, त्यो कठाघरामा उभिएर छोइएको गीता बाइबल, कुरान, त्रिपिटक या यस्तै केही ग्रन्थभन्दा पवित्र हुन्छ। यति हुँदाहुँदै पनि एउटा कुरा भन्न करै लाग्छ, यो आत्मवञ्चनालाई जबर्जस्ती लम्ब्याउनुको साटो थोरै ठाउँ दिन सकिन्थ्यो। पुस्तकलाई मोटो बनाउनु नै थियो भने केही थान कविता थप्न सकिन्थ्यो। लेखकले दिएपछि पाठकले पढ्नुपर्छ भन्ने मान्याताले कवि हृदयलाई ओतप्रोत पारेको पनि हुन सक्छ। तर, लामो भइकन पढ्न पट्यार लाग्दैन त्यसले पाठकलाई बैगुन लाएको छैन।
घर फर्किरहेको मानिस
कवि: रमेश क्षितिज
विधा: कविता
प्रकाशक: फाइन प्रिन्ट
मूल्य: १९९/–
पृष्ठ: ९७
–यशोदा तिम्सिना
No comments:
Post a Comment