Thursday, January 23, 2014

मनचरा

 उड्दै गयो मनको चरा – नाघ्दै गयो डाँडाकाँडा
चाल्यो हाँगा–हाँगामा
नदीछेउ पुगेर मेट्यो आफ्नो तिर्खा र नाच्यो किनारमा
खेल्यो आफूले जानेका चुलबुले खेलहरु,

उड्छ–उड्न देउ
ऊ उडेन भने त कुँजिन्छ पखेटा
बिर्सिन्छ उडान
थामिन्छ गतिशीलता–
र हराउँछ, सृष्टिको एउटा सुन्दर सृजना

ऊ उडोस् ठीक दिशामा– तिमी छर एक उज्यालो प्रार्थना
केवल पर्खेर बस साँझ होउन्जेल
उड्दै–उड्दै फर्केर आउनेछ ऊ आफनै गुँडमा ।

~रमेश क्षितिज
घर फर्किरहेको मानिस, तेस्रो संस्करण, हार्डकभर, साउन २०७०




1 comment:

  1. बचेराहरू छन् प्रतीक्षामा
    मुख बाएर अनिकालको
    एक फाँको चारा छ
    कुन ओढारमा खसाल्ने हो?
    ऊ अलमलिन्छे
    बचेराहरूका भोकका ओढारहरू
    उसको हृयद निल्छन् कप्लक्क
    गलेकी छ ऊ -भोक, थकाई र चिस्यानले
    त्यो के हो? जसले फर्काउँछ फेरी
    उनै बर्फिला चट्टानी पहाडतिर
    जहाँ केही क्रन्दनहरू फुत्किन्छन्
    अनि उसको एक फाँक चारामा बदलिन्छन्
    फेरी उही तुषारो फोराइमा
    उसको सिसिफस प्रयत्नहरू
    सन्तानको मोहमा श्रापित छन्
    पश्चिमी क्षितिजमा कलेजी रङ नपोतिँदै
    उसले गुँडमा फर्किनु छ।

    ReplyDelete