राजनलाई चिट्ठा पर्यो
-खगेन्द्र संग्रौला
मदन पुरस्कार मूलत: सत्ताधारीले पाउने पुरस्कार हो । कहिलेकाहीँ अलिकति उदारता र दया देखाउन अलिकति परका लेखकलाई पनि दिने गरिन्छ । यसपटक पनि यस्तै भएको हो । त्यस हिसाबले राजन मुकारुङलाई चिट्ठा परेको छ । तिनलाई चिट्ठा परेकोमा म खुसी छु ।
साहित्यिक कृतिलाई एक नम्बर, दुई नम्बर, तीन नम्बर दिएर मूल्यांकन गर्ने कुनै गणितीय मानक हँुदैन । तर, मेरो दृष्टिमा दमिनी भीर गत वर्ष प्रकाशित राम्रा पुस्तकहरूमध्येमा पर्छ । जुन दृष्टिकोणबाट पुरस्कृत गरिए पनि यो किताब आफैँमा वजनदार छ । नेपाल परिवर्तनको प्रक्रियामा रहेको र सीमान्तकृत नागरिकले आफ्नो अधिकार खोजेको वेलामा किताबले उनीहरूको बोली बोलेको छ ।
राजन आफैँमा प्रतिभाशाली र मिहिनेती कवि तथा आख्यानकार हुन् । उत्पीडित नागरिकलाई अधिकारसम्पन्न बनाउने संघर्षमा उनी लडिरहेका छन् । उनको किताबले मदन पुरस्कार पाउला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । त्यसमाथि केही दिनअघि मात्रै शारदा शर्माको उपन्यास विमोचन कार्यक्रममा मदनमणि दीक्षितले उनको किताबलाई मदन पुरस्कार दिइने संकेत गरेका थिए । उनले भनेका थिए, ‘यो एउटा गजबको कृति हो । कमलमणि दीक्षित मेरा अगाडि हुनुहुन्छ । यो कुरा नोट गरियोस्, यसले मदन पुरस्कार पाउनुपर्छ ।’ एउटा दीक्षितले यसरी भनेपछि अर्को दीक्षितले नटेर्लान् भन्ने कसरी अनुमान गर्नु ? हुन त शारदा शर्माको उपन्यास ताप पनि राम्रा उपन्यासमध्येमै पर्छ । यस हिसाबले मदनमणिले उनीमाथि अन्याय गरेका छन् । पहिल्यै विजेताका रूपमा चर्चामा ल्याएर पछि हिस्स पार्ने काम भयो ।
आजै मात्र मैले राजनलाई फोन गरेर बधाई दिएँ । पुरस्कार घोषणापछि उनले दिएको एउटा प्रतिक्रिया मलाई चित्त बुझेको थिएन । उनले भनेका थिए, ‘मैले पुरस्कार पाउँछु भन्ने लागेको थिएन, म मदन पुरस्कारप्रति अलिक बढी नै पूर्वाग्रही रहेछु ।’ एकचोटि पुरस्कार पाउँदैमा यसरी हात मोल्नु आवश्यक थिएन । मैले यो कुरा उनलाई भनेँ । उनी हाँसे मात्र ।
मैले पढ्नै नसकेको किताब
--हरि अधिकारी
हुन त मदन पुरस्कारबारे चर्चा गर्नु नै बेकार छ । मेरो नजरमा यो कुनै महत्त्वको नभएर घटिया पुरस्कार हो । यसमा छनोटको कुनै मापदण्ड छैन । कमलमणि दीक्षितले जसलाई इच्छा लाग्छ, खल्तीबाट फुत्त निकालेर दिन्छन् । जुन किताबलाई दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच्छन्, त्यसैलाई दिन्छन् । तैपनि, यो सत्य हो, मदन पुरस्कार पाएको किताबप्रतिको चासो र बिक्री ह्वात्तै बढ्छ ।
मेरो अनुभवमा पहिला धेरै किताबलाई लोभ देखाउँछन् उनीहरूले । अरू किताबबारेमा हल्ला गराउँछन्, अनि सबैलाई आश्चर्यमा पार्न चर्चामै नआएको किताबलाई पुरस्कार दिन्छन् । यो उनीहरूको एउटा बजारीकरणको ट्रिक हो । सुरतको एक्का चलिरहेको वेला चिडीको गुलाम फाल्दिँदा मानिसबीच केही समय चर्चा–परिचर्चा भई नै हाल्छ । अहिले पनि शारदा शर्मालाई पहिले हात्ती बनाएर हिँडाइयो, र पछि राजन मुकारुङरूपी झिँगो फालियो । शारदालाई मदन पुरस्कार दिनुपर्छ भनेर मदनमणि दीक्षितले एक साहित्यिक कार्यक्रममा घोषणा नै गरेका थिए नि †
जहाँसम्म दमिनी भीरको कुरा छ, यो किताब मैले पूरा पढेको छैन । पाँच–सात पेज पढेपछि अगाडि बढ्नै सकिनँ । न मलाई किताबको विषयवस्तुमा चाख लाग्यो, न यसको कथ्यले आकर्षण गर्यो । समग्रमा यो एउटा सिकारु लेखकले लेखेको साधारण किताब हो । अहिले मदन पुरस्कार पाएपछि किताबको चर्चा बढेको छ । तर, मेरो चासो बढेको छैन । दोहोर्याएर पढ्ने प्रयास पनि गर्दिनँ । यसले समाजको सीमान्तकृत मानिसबारे लेख्न खोजेको भन्ने सुनेको छु । सायद दमाई परिवारको कथा होला ।
राजन मुकारुङ कुनै सिरयस साहित्यकार होइनन् । उनको सिर्जनशील अराजकता वा रंगवादका कुरा म बुझ्दिनँ र नबुझेकोमा हीनताबोध पनि छैन । राजनको अघिल्लो किताब हेत्छाकुप्पा पनि मलाई त्यति मन परेको होइन । तर, त्यो पूरै पढेकोचाहिँ थिएँ । त्यसमा उनले आफ्नो जातिका सांस्कृतिक पक्षलाई उठाउन खोजेका छन् । त्यसको दोस्रो संस्करण निस्केपछि मलाई समीक्षा गर्न भनिएको थियो, तर मैले गरिनँ । अझै पनि, कति साहित्यकारका लागि मदन पुरस्कार नै सबथोक हो । जस्तो युवराज नयाँघरे भन्ने लठुवाले भने नि– मेरो जीवन नै सार्थक भयो भनेर । वाहियात !
युवाले पाएकोमा खुसी छु
--रमेश क्षितिज
राजन मुकारुङको उपन्यास दमिनी भीरले मदन पुरस्कार पाएको सुन्दा मलाई खुसी लाग्यो । उनी मूलत: कवि हुन् । कविताबाट नै साहित्यिक यात्रा थालेका लेखकले पुरस्कार पाउँदा कवि भएको नाताले खुसी भएँ । अर्को कुरा, उनी युवा पनि हुन् । मलाई युवालाई पुरस्कृत गरेको विषयले छुट्टै खुसी दिन्छ । त्यसमाथि मुकारुङ अनुभवी लेखक पनि हुन् । उनको लेखनमा फरक शैली पाइन्छ । त्यसैले, फरक धार र युवालाई सम्मान भएकाले पनि मदन पुरस्कार मुकारुङले पाएकोमा खुसी छु ।
मलाई मुकारुङको उपन्यास दमिनी भीरमा सीमान्तमा परेका विषय उठाएकाले मन परेको थियो । त्यसमा उनको लेखन कौशलले झनै न्याय गरेको छ । मदन पुरस्कारबाट सम्मानित भइसकेपछि मुकारुङमा थप जिम्मेवारी थपिएको छ । उनलाई पुरस्कार हौसला र चुनौती दुवै हो भन्ने लाग्छ । सिर्जनालाई उत्साहित त पुरस्कारले गराउला, तर त्यसको दायित्व निभाउन नसक्ने हो भने पुरस्कार पाउनुको कुनै अर्थ हुँदैन । त्यो अर्थमा मुकारुङले अब आफ्नो लेखनमा थप परिमार्जन गर्दै आफ्नो वास्तविक कौशल देखाउने समय आएको छ । त्यसो त, मैले पढेका पुस्तकमध्ये शारदा शर्माको ताप पनि मलाई मदन पुरस्कारको दाबेदार होला भन्ने लागेको थियो । तर, युवा कवि, मौलिक लेखाइ, लेखनमा अनुभवी भएका मुकारुङको उल्लेखनीय उपन्यास दमिनी भीरलाई मदन पुरस्कार दिएकोमा मेरो कुनै गुनासो छैन ।
सुखद आश्चर्यमा परेँ
-- नयनराज पाण्डे
दमिनी भीरले मदन पुरस्कार पाउँदा मचाहिँ सुखद आश्चर्यमा परेँ । किनकि, मदन पुरस्कारमा जुन सीमा देखिएको थियो, त्यसलाई हेर्दा मदन पुरस्कारले आफ्नो पुरानो मानक भत्काएको छ । यस वर्षको मदन पुरस्कार नयाँ विषयवस्तु, फरक धारको कथा, कथानक र आवाजले पाएको छ । त्यसैले धेरैलाई विश्वास गर्न पनि गाह्रो पर्यो । तर, अत्यन्तै सही कृतिले पुरस्कार पायो । मैले कृति आउनेबित्तिकै पढेको थिएँ । राजन मुकारुङले नेपाली साहित्यलाई अत्यन्तै राम्रो उपन्यास दिनुभएको छ । उहाँको भाषा शैली पनि उत्कृष्ट छ । उपन्यासको उत्कृष्टताबारे मैले विभिन्न आर्टिकलमा पनि उल्लेख गरेको थिएँ ।
नेपाली साहित्यमा पछिल्लो समय आख्यान अलि बढी पुरस्कृत भइरहेको छ । गत वर्ष सेतो धरती उपन्यासले यो पुरस्कार पायो । यस वर्ष पनि आख्यानले नै पायो । त्यसले कतिपय आख्यान नै महत्त्वपूर्ण रहेछ भनेर आत्तिएको पनि पाइन्छ । तर, मचाहिँ त्यसरी आत्तिनुपर्ने देख्दिनँ । नेपाली साहित्यमा कविता पनि शक्तिशाली भएर आइरहेको छ । निबन्ध पनि त्यस्तै शक्तिशाली भएको छ । केवल बजारको आधारमा मात्रै सबै कुरा निर्धारण हँुदैनन् । पुरस्कार पाउने कुरा त त्यसको उत्कृष्टतामा पनि भर पर्छ । गत साल मदन पुरस्कार पाएको सेतो धरती पनि राम्रो थियो । यसपालिको कृतिमा त एकदमै भुईंमान्छेको कथा छ । सतहमा आउन नसकेका मान्छेका कथा आएका छन् । त्यसैले यो कृतिले पुरस्कार पाउनैपथ्र्यो । मलाई त यो पुरस्कार राजन मुकारुङले भन्दा पनि ती चरित्रले पाएजस्तो लाग्छ ।
पुरस्कारको घोषणा हुनुअघि शारदा शर्माको उपन्यास तापले पाउने भनेर सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । त्यतिवेलै मैले यो आधिकारिक हो कि होइन भनेर टिप्पणी पनि गरेको थिएँ । कतिपयले त आधिकारिक नै हो भनेर दाबी पनि गरे । त्यस्तो कार्य भने सामाजिक सञ्जालको दुरुपयोग हो । त्यसरी कसैको नाम प्रचार गरिदिँदा स्रष्टाको व्यक्तित्वमा असर पर्छ । यो स्रष्टाको मन दुखाउने कार्य हो ।
.... आश्विन २०७०
No comments:
Post a Comment