Wednesday, January 15, 2014

सर्वनाममा क्षितिज र मोमिला


काठमाडौं– 'हामी कवि र कविता'को १२ औं शृंखलामा कवि रमेश क्षितिज र मोमिला जोशीले कविता सुनाएका छन्। श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा कविद्वयले बुधबार सर्वनाम नाट्यघरमा कविता सुनाएका हुन्। आधा–आधा घन्टाको वाचनमा दुवैले करिब एक दर्जन कविता सुनाए।

कविता वाचनको पहिलो चरणमा देखिएका रमेश क्षितिजले 'समुद्र किनारमा एक शुभेच्छुकसँग' शीर्षकको दार्शनिक कविताबाट वाचन सुरु गर्दै 'कुनै व्यस्त रंगमञ्चजस्तो समुद्रको किनार'मा बिट मारे।

कलात्मक तथा विम्बयुक्त कविता लेखनका लागि प्रख्यात क्षितिजले बुधबारे कविता वाचनको शृंखलामा पनि यस्तै कवितालाई स्थान दिएका थिए। 'असल कविता मानिस जस्तो हुनुपर्छ। रहस्यमयी, कोमल, भावुक र स्वप्नदर्शी। त्योसँगै लेखनमार्फत् आशा सञ्चार गर्नु मेरो ध्येय रहने गरेको छ,' क्षितिजले कविता वाचनसँगै भने। 

२०३७ सालदेखि कविता लेखनमा सक्रिय क्षितिजका दुई कवितासंग्रह तथा एक गीतिसंग्रह प्रकाशित छन्। कवितासँगै गीत लेखनमा पनि सक्रिय क्षितिजका 'क्षितिज'शीर्षककै एल्बम पनि प्रकाशित छ। 

कविता वाचनको दोस्रो चरणमा देखापरेकी कवि मोमिला जोशीले पनि चुनिन्दा कविता सुनाइन्। आधा घन्टे वाचनमा उनले 'अन्तरिम नोस्टालजिया', 'हरेक बिहान म', 'अकारण आफ्नै सपनाहरूको कैदी बन्छु' 'तर नजरमा मलाई अपराधी चिनिन मञ्जुर छैन' शीर्षकका कविता सुनाइन्।

मोमिलाका 'पैयूँ फूल्न थालेपछि' 'जुनकिरी ओर्लिरहेछ', 'दुर्गम उचाइमा फूलको आँधी' कविता संग्रह र 'ईश्वरको अदालतमा आउट साइडरको बयान', 'निलो निलो आकाश' र 'दुई थोपा आँसु' निबन्ध प्रकाशित छन्।

प्रकाशित मितिः २०७० माघ २

No comments:

Post a Comment