Thursday, July 14, 2016

‘सरकारी कवि’ भन्छन्- शासनले कविता सुन्दैन' - यी हुन् सरकारी सेवामा जोडिएका स्रष्टा

जोतारे धाइबा


सिंहदरबार धेरैको लागि पर्खाल हो । एउटा रहस्य जस्तो । त्यहाँभित्र पाक्ने खिचडीमा कहिल्यै पहुँच भएन भनेर दूरदराजका भोको पेटहरूले सधैं बिलौना गाइरहन्छन् ।

खासमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा जनताको आशा र भरोसा टिकेको छ । तर, जनतालाई दिनुपर्ने सेवा-सुविधा, गर्नुपर्ने विकासका काममा सरकार र त्यसभित्रका मान्छेले आँखा चिम्लिने गरेको आम बुझाइ छ ।

मान्छेहरुको आँखामा बसेको सिंहदरबारको विम्ब रुखो र बेमतलबी भए पनि त्यहीँभित्र थुप्रै कवि मन फले-फुलेका छन् । पूर्वमुख्यसचिव विमल कोइराला, भोजप्रसाद घिमिरे, सचिव भएर रिटायर्ड भएका दिनेश अधिकारी, शंकरप्रसाद कोइराला (एस्पी कोइराला) ले कविता तथा गीतबाट मानवीय संवेदना र सपनाको कुरा गरेका छन् ।


यही लहरमा छन् अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपसचिव रहेका रमेश न्यौपाने । अर्थात् कवि, गीतकार तथा कथाकार रमेश क्षितिज ।

त्यसो त सरकारी सेवामा आउनुअघि नै कवि र गीतकारको चिनारी बनाइसकेका हुन् क्षितिजले । तर, कहाँ इञ्जिनियरिङ पढ्न भनेर दाङबाट काठमाडौं हान्निएको ठिटो साहित्यमा बुर्कुशी मार्दै हुत्तिएर लोकसेवा परीक्षा दिने लाइनमा उभियो । यसको कथा रोचक छ ।

संघर्षका दिन र कविताले सताएको जिन्दगी

दाङको मिरौलीमा राम्रै ठाँट जमाएर बसेका हुन् न्यौपाने परिवार । छोरा-नातिलाई यस्तो र त्यस्तो बन् भनेर दबाब दिने कडिकडाइ थिएन ।

सल्यानको हिवल्चामा जन्मिए पनि क्षितिज दाङमै हुर्किए । एसएलसीपछि राजधानी सहरमै बसेर उच्च शिक्षा पढ्ने धेरै युवाको चाहना हुन्छ । उनी पनि २०४३ सालमा काठमाडौं पसे । पछि के बन्ने भनेर दिमागमा केही चित्र नभए पनि सोच थियो इञ्जिनियरिङ पढ्ने ।

नातामा काका पर्नेसँग नाइटबसमा काठमाडौं हिँडे ।

पहिलो चोटि काठमाडौं देख्दा उनलाई कता हो कता भव्य लाग्यो । ‘दाङमा हुँदा ठूलो ठाउँ देखेको घोराही नै थियो’, काठमाडौं टेक्दाको अनुभूति सुनाए – ‘नाइट बसमा मुडामा बसेर उङ्दै र झट्कारिँदै बिहानपख काठमाडौं उत्रिँदा यति ठूलो सहरमा आइपुगेँ भन्ने लाग्यो ।’

पुलचोकमा साथीहरूको डेरा थियो । त्यहाँ पुगे । गाउँमा स्वच्छन्द हिसाबले हुर्केका उनलाई साथीहरूको डेरा जिन्दगी उकुसमुकुस लाग्यो ।

साथीहरूको सिंगो संसार एउटा कोठा थियो । किताब त्यहीँ । ओछ्यान त्यहीँ । खाने ठाउँ त्यहीँ । खाएर चुठ्ने र कुल्ला गर्ने भाँडा त्यहीँ ।

त्यस्तो देखेर काठमाडौंको जिन्दगी त गाह्रो पो हुने रैछ भन्ने लाग्यो उनलाई । यहाँ यस्तै रैछ भन्दै केही दिन साथीहरूसँगै बसे । त्यसपछि क्याम्पस जान नजिक पर्ने गरी बागबजारमा उनले आफ्नै डेरा जिन्दगी सुरु गरे । त्यही एउटा कोठाको संसार !

पढ्न भनेर काठमाडौं आए पनि उनको सपना-विपनामा साहित्य मात्रै थियो, निदाउँदा पनि केही न केही लेखिरहेको सपना देख्थे

इञ्जिनियरिङ पढ्ने सोच भए पनि गाउँका दाइले आफू पढ्ने नेपाल ल क्याम्पसमै उनको भर्ना गरिदिइसकेका रैछन् । वकालतमा फिटिक्कै रुचि थिएन । जे पढे पनि राम्ररी पढ्नुपर्छ भन्ने ती दाइकै सुझावअनुसार केही नाइँनास्ती नगरी कानुन नै पढ्न थाले ।

पढ्न भनेर काठमाडौं आए पनि उनको सपना-विपनामा साहित्य मात्रै थियो । स्कुले बेलादेखि नै त्यसको ‘भूत’ सवार थियो । भन्छन् – ‘म त कस्तो भने निदाउँदा पनि केही न केही लेखिरहेको सपना देख्थेँ ।’

क्याम्पस जाने समय बाहेक साहित्यमै रमाउन थाले । विभिन्न साहित्यिक कार्यक्रम र कवि गोष्ठीहरूमा गइरहन्थे । रचना छपाउन गोरखापत्र र कविता सुनाउन रेडियो नेपाल धाइरहन्थे । रेडियोमा ‘साहित्य संसार’ कार्यक्रम चलाउने दाहाल यज्ञनिधिले बाबू नानी हो भन्दै भर्खरका भाइबहिनीलाई होस्टे हैंसे गर्थे ।

संघर्षको समयमा उत्प्रेरणा दिने मञ्जुल, यज्ञनिधि र तुलसी दिवसलाई उनी विशेष सम्भिmन्छन् । उनका समकालीन थिए श्रवण मुकारुङ, खुमनारायण पौडेल, रमेश केसी, भीष्म उप्रेती लगायत ।

उनलाई ०५० को दशकले एकसाथ गीतकार र कविको दायित्वमा झन् बाँध्यो । ०५० सालमा रेडियो नेपालको प्रतियोगितामा उत्कृष्ट गीतकार पुरस्कार पाए । ०५१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा प्रथम भए ।

गाउँबाट सहर छिरेको कविका कवितामा गाउँको ह्याङओभर, हुर्के-बढेको ठाउँका प्राकृतिक विम्बहरू बढी प्रकट हुन्थे । त्यसका साथै सहरमा गरेको संघर्ष, भविष्यबारेको अन्योल पनि कवितामा कुनै न कुनै रूपमा आउँथ्यो । स्वच्छन्द शैलीको प्रस्तुतिबाट क्षितिजले त्यतिबेला ‘कुल कवि’ को चिनारी बनाएका थिए ।

कविताको दुनियाँ खेलखोर गर्ने ठाउँ हुँदै जाँदा उनको सरसंगति बढ्दै गयो । जति साथीहरू बनेका थिए, सबै कवि । यतिबेलासम्म बागबजार छाडेर मैतीदेवीमा डेरा सरिसकेका थिए । डेरा बसाइकै कथा-व्यथा समेटेर उनले गीतमा लेखेका पनि छन् –

‘काठमाडौंमा डेरा खोज्दै हिँडिरहेको मान्छे
गुन्टामाथि बसी सोच्छ सोचिरहन्छ
कहिले होला आफ्नो पनि
एउटा सानो घर
ओत लाग्ने भर ।’

उनको डेरा साथीहरूको लागि साझा अड्डा बनिसकेको थियो । साथीहरू आउने, तास खेल्ने, नजिकैको पसलबाट कोक मगाउने, साँझ-बिहानी केही नभनी हल्ला गरेर बसिरहने ।

कविताबाट कमाउँदै गएको नाम र साथीहरूको महफिलले क्षितिजलाई रमाइलो त दिएकै थियो । तर, समय चिप्लिएसँगै उनलाई भविष्यको चिन्ताले पनि कताकता डस्न थालेको थियो ।

रातारात डेरा सरेर लोकसेवा जिन्दावाद !

साथीहरू डेरामा आएर ‘महफिल’ जमाउन थालेपछि डेरा पनि सानोतिनो माछा बजारमा परिणत हुँदै थियो ।

क्षितिजले कविताबाट लोभलाग्दो परिचय बनाउँदै गर्दा एकथरी साथीहरू सरकारी जागिरे बन्न लोकसेवा परीक्षाको तयारीमा जुटेका थिए । साथीहरूले पढ्न भनेर उनलाई पनि बोलाए । तर, संविधान कण्ठस्थ पार्नुपर्ने, ऐन-नियमावली चिरिप्प खानुपर्ने, को कहिले जन्मिए र मरे भनेर अनेक महाभारत याद गर्नुपर्ने देखेपछि उनलाई त्यो आफ्नो वशको कुरा लागेन । त्यत्तिकै छाडे ।

त्यतिन्जेलमा उनले कानुनमा स्नातक पास गरिसकेका थिए । त्योभन्दा माथि पढ्न एलएलएमको पढाइ नेपालमा सुरु नै भएको थिएन । ‘साहित्य भनेर हिँड्नु बाहेक काठमाडौं बस्नुको औचित्य पुष्टि गर्ने अरु केही आधार थिएन त्यति बेला,’ उनी भन्छन् । कृषि विकास बैंकमा कानुनसम्बन्धी सानो काम पाए पनि केही समय गरेर छाडिदिएका थिए ।

२०५२ सालमा लोकसेवा तयारी गरेका साथीहरूले अर्को वर्ष शाखा अधिकृतमा नाम निकाले । हेर्दाहेर्दै सरकारी जागिरे बने ।
अधिकृत हुनेमध्येकै एउटा साथीले क्षितिजको मनमा खूब पेच पर्ने गरी अर्ती दिए – ‘तिमीले यत्तिकै काठमाडौंमा बेरोजगार भएर बसिराख्नु उचित देखिएन । तिमीले स्नातक गरेको सर्टिफिकेटको पनि केही अर्थ भएन । यत्तिकै कवि बन्छु भनेर हिँडेका छौ । लोकसेवा पढ्न त तिमी सक्दैनौ नै । तिमी अब घर र्फक । उतै गएर केही काम गर । बरु घर जान भाडा-साडा चाहिन्छ भने हेल्प गरुँला ।’

साथीको अर्तीले उनी भित्रैदेखि चर्किए । खूब चोट पर्‍यो मनमा । कवि भएर कवितामा के-के न रहर र विद्रोहको कुरा गर्दा उचालिने शिर लल्याकलुलुक बन्यो ।

त्यसले इखको काम पनि गर्‍यो । उनले सुनाए – ‘तत्कालै पुस्तक पसल गएर शाखा अधिकृत तयारी गर्ने किताबहरू किनेँ । डेरा गएर झिटीगुन्टा कसेँ । मैतीदेवीमै हत्तपत्त कोही नपुग्ने अलिक कुनातिरको ठाउँमा डेरा लिएर पढ्न थालेँ ।’

साथीभाइ र साहित्यको संसारदेखि नै सम्पर्कविहीन भएर उनले अर्को यात्रा सुरु गरे । त्यो यात्रा कठिन थियो, तर उनको लागि जरुरी थियो । यतिबेला सोच्दा उनलाई आफूले ठीक समयमा सही निर्णय गरेको लाग्छ ।

पछि थाहा पाए उनले – रातारात उनी बेखबर भएपछि रमेश क्षितिज हरायो भनेर साथीभाइबीच व्यापक सोधखोज भएछ ।
लोकसेवा परीक्षा दिँदा पहिलो पटक सफल भएनन् । दोस्रो पटकमा २०५६ सालमा अधिकृतमा नाम निकाले । संसद सचिवालयमा सरकारी जागिर सुरु गरे । जागिरे भएको अर्को वर्ष पहिलो कवितासंग्रह निकाले – ‘अर्को साँझ पर्खेर साँझमा’ । गाउँघरको विम्ब र सहरिया संघर्ष पोखिएका उनका कविता निकै रुचाइयो ।

मुटु खाने रोल्पाको दुःख

शाखा अधिकृतबाट ०५६ मा निजामती सेवामा पसेका रमेश ०६५ सालमा उपसचिव भए । स्थानीय विकास अधिकारी भएर रोल्पा पुगे ।

पुल, बाटो, खानेपानी लगायत विकासका पूर्वाधार बनाउने योजना लिएर दुर्गम गाउँहरूमा पुग्दा उनले रोल्पालीहरूका आँसुले भरिएको जीवन देखे ।

रोल्पा – माओवादी जनयुद्धको आधार इलाका । त्यतिबेला देशमा शान्ति प्रक्रिया सुरु भएर समाज सन्तुलनको बाटोमा अघि बढिसकेको थियो । तर, दसवर्षे द्वन्द्वले थिलथिलो बनेको रोल्पाको घाउ अझै दुख्दै थियो ।

युद्ध साम्य भएपछि पनि सरकारी कर्मचारी गाउँ-गाउँमा जान नसकेको अवस्थामा उनी थवाङ, घर्तीगाउँ लगायत धेरै ठाउँ पुगेर स्थिति नियाले । राज्यको कुनै सुविधा उपभोग नगरेका जनता । युद्धका कारण घाइते र अपांग भएकाहरूको छटपटी ।

उनी सम्झिन्छन् – ‘कहिल्यै राज्यको नजर नपुगेको त्यो ठाउँमा गरिबी, अभाव र अविकास हामीले कल्पना गरेभन्दा निकै दयनीय थियो । मान्छेहरू प्रौढ शिक्षामा बस्नुपर्दा खाजा-सामल जोहो गर्ने समय बित्यो भनेर पिरोलिन्थे ।’

दुर्गम गाउँहरूमा पुग्दा उनले राज्यको सेवा उपभोग गरेका जनता कम देखे । अन्य ठाउँका मान्छेले पाउने जति सेवा-सुविधा नपाएकाले अधिकांशले अवसरको वञ्चितीकरण खेपिरहेका थिए । सरकार हाम्रो पनि हो, यसले हामीलाई पनि हेर्छ भन्ने भावना कतै पनि पाएनन् । ‘त्यस्तो अवस्थामा स्थानीय विकास अधिकारीको रुपमा मेरो काम राज्य र जनताबीचको पुल बन्नु थियो,’ क्षितिजले आफ्नो सरकारी भूमिका प्रस्ट्याए – ‘पहिलो काम जनतामा विश्वासको वातावरण बनाउनु थियो । त्यसपछि मात्रै सडक, पुल निर्माणको काम सुरु गरियो ।’

दुर्गम गाउँको स्थिति बुझ्ने क्रममा एक पटक स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी थवाङ पुगे । गाउँलेहरू टाढासम्म बाजागाजाका साथमा आएर खूब उत्साहित भएर स्वागत गरे । कयौं वर्षपछि सरकारी मान्छेहरू गाउँ आइपुग्दा स्थानीयहरू यत्तिकै रमाएका थिए ।

जीवन जिउने कला के हो ? खुसी के हो ? मान्छे किन दुःखी छ ? अध्यात्मिक गहिराइबाट छाम्न मन छ क्षितिजलाई

रोल्पामा उनले तीन वर्ष काम गरे । स्थानीय जनजीवन, त्यहाँको पीडा, आशा र सपनाहरू बुझे । स्थानीय आवश्यकता बुझेर काम गरेकाले उनले त्यसबेला उत्कृष्ट निजामती पुरस्कार पनि पाएका थिए ।

जागिरले थिच्यो सिर्जना

दुई वर्षअघि क्षितिज धादिङका स्थानीय विकास अधिकारी थिए । त्यसयता सिंहदरबारभित्र स्थानीय विकास मन्त्रालयमा छन् । दुई वर्ष भयो कविता नलेखेको । भन्छन् – ‘उसै पनि थोरै लेख्ने कविमा पर्छु म । बिहान-साँझ घर-परिवारलाई समय दिँदा र दिउँसो अफिसकै कामले सिर्जनामा खुलेर लाग्न सकेको छुइनँ ।’

पछिल्लो समय उपन्यास लेख्दै छन् । तर, सोचेअनुसार अघि बढाउन सकेका छैनन् । यति भन्दाभन्दै पनि चार परिच्छेद त लेखिसकेका छन् । मुख्य पात्र हुनेछ टे्रकिङमा हिँडेको सरकारी जागिरे । टे्रकिङमै गाँसिन आउँछे एउटी विदेशी केटी ।

अहिले उपन्यास लेख्ने लहर चलेअनुसार आफू यो भेलमा यत्तिकै मिसिन नआएको उनको दाबी छ । उपन्यास लेख्ने पहिल्यैदेखिको धोको हो ।

उपन्यासको मोहनी कस्तो भने उनले बुझेर-नबुझेर स्कुले बेलामै रुपमती, सेतो बाँघ, वसन्ती जस्ता उपन्यास छिचोलेका थिए । ‘मैले त रहरैरहमा नौ कक्षामा पढ्दा एउटी थारु युवतीबारे उपन्यास लेखेर तीनवटा कापी भरेको थिएँ,’ उपन्यास लेखनको किस्सा खोल्दै योजना सुनाए – ‘अब भने जीवनभर बुझेको कुरा उपन्यासमा लेख्न मन छ ।’

त्यसैअनुसार कलम चलाउँदै छन् क्षितिज । विभिन्न पुस्तक र आफ्नै जीवनबाट समय र संसार पढ्दै आउँदा उपन्यासमार्फत केही भन्न मन लागेको छ उनलाई । जीवनलाई भोग्दाको कथा उकुसमुकुस भएर बसेका छन् उनीभित्र । कविता र कथामा भन्न नमिलेका र नसकेका कुरा लेख्न चाहेका छन् । जीवन जिउने कला के हो ? खुसी के हो ? मान्छे किन दुःखी छ ? अध्यात्मिक गहिराइबाट छाम्न मन छ क्षितिजलाई ।

साहित्यभन्दा पनि अध्यात्मिक पुस्तक बढी पढ्छन् उनी । बेलाबेला तीर्थयात्रामा जान्छन् । ध्यानमा बस्छन् । भन्छन् – ‘कविता लेख्दा पनि एक किसिमको ध्यानमा बसे जस्तो शान्ति महसुस गर्छु ।’

 पहिलो कवितासंग्रहमा ग्रामीण विम्बहरू बढी ल्याएका क्षितिजले २०६८ मा प्रकाशित दोस्रो संग्रहमा दायरा फराकिलो बनाए । कवितामा देश-विदेशका कुरा आए । नदी र तालहरू मात्र देख्दै आएको आँखा समुद्रमा डुबुल्की मार्न पायो । त्यसो हुनुमा जागिरे जीवनले घुमफिर र सरसंगतको अवसर दिलाएको उनी मान्छन् ।

‘जागिरले सुरक्षा महसुस भएपछि भविष्यको चिन्ता टर्‍यो,’ समयसँगै कविताहरूमा जीवनप्रतिको हेराइ फेरिएको सन्दर्भ उप्काए – ‘दोस्रो कवितासंग्रहमा म जीवनप्रति आशावादी भएको र उमेरसँगै परिपक्वता आएको पाउँछु ।’

अब तेस्रो कवितासंग्रहको तयारी छन् उनी । अलिक समय लगाएरै प्रकाशन गर्ने सोच बनाएका छन् । पहिलो र दोस्रो किताबमा लेखिसकेका विषयवस्तु र विम्ब नदोहोरियोस् भनेर सचेत पनि छन् ।

पाँच वर्षअघि गीतहरूको अडियो एल्बम ‘क्षितिज’ निकाले । २०४५ सालदेखि गीत लेख्न थालेका उनी यस्ता भाग्यमानी गीतकार हुन्, जसका गीतमा नातिकाजी, गोपाल योञ्जन, फत्तेमान लगायतले संगीत भरेका छन् । तर, धेरै भयो उनले नयाँ गीत नलेखेको । सुनाए – ‘म आधुनिक सुगम संगीतलाई सुहाउँदो हुने गीत लेख्ने मान्छे, त्यस्तो गीत अचेल खोज्दैनन् । यसैले गीत लेख्न छाडेको छु ।’

००००

सिंहदरबारमा बसेर विकास प्रशासनको चिन्तन गरिरहँदा उपसचिव रमेश न्यौपानेभित्र कवि रमेश क्षितिज चलिरहेको हुन्छ । उनको मनमा कविताका भाव खेल्छन् । राज्यले वितरण गर्ने सेवा-सुविधामा जनताको पहुँच नभएकोमा खिन्न बन्छन् । यस्तो स्थितिमा राज्यको काम गराइ ठीक भएन भनेर कवितामार्फत असन्तुष्टि पनि पोख्छन् । तर, कवितामार्फत आगो ओकल्ने नाममा कुनै पक्षलाई गालीगलौज गर्नु उनलाई ठीक लाग्दैन ।

अहिले कुनै पार्टीविशेषको घोषणापत्रलाई बल पुग्नेगरी लेखिएको कवितालाई ठूलो समय चेतना भएको सिर्जना मानिन्छ । यसलाई विडम्बना मान्छन् क्षितिज । उनी भन्छन् – ‘मानिसले खेपिरहेका दुःख, वर्ग संघर्ष, शोषण, स्वतन्त्रताबारे लेख्ने कविले आफू के मा आबद्ध छु भनेर खुलाइराख्नु पर्छ जस्तो लाग्दैन । समय चेतना कविताको सौन्दर्य भएकाले समयको बारेमा हरेक कवि सधैं सचेत हुन्छ । फरक यति हो, त्यसको प्रस्तुति बेग्लाबेग्लै किसिमले गरिन्छ ।’ यस हिसाबले उनी शालीन विद्रोह बोल्छन् कवितामा ।

कविताले मूलतः सिद्धान्त, निष्ठा, मुक्ति र सार्थक स्वतन्त्रताको कुरा गरे पनि शासक वर्ग सधैं यसको विरुद्धमा रहेको भन्दै कविहरूले धावा बोल्ने गरेका छन् । तर, शासनले कविता सुन्छ भन्नेमा क्षितिजलाई विश्वास छैन । भन्छन् – ‘राजनीतिले मात्र होइन, समग्र समाजशास्त्रले कवितालाई मनोरञ्जनको वस्तु बनाएको पाउँछु म । शासनले कविता सुन्नु त उन्नत र सुसंस्कृत समाज भएपछि मात्र सम्भव छ ।’

समाज कहिले सुसंस्कृत होला र क्षितिजहरूको कविताले राज्यको कान निमोठ्ला ?


२०७३ असार ३० गते १५:१३ मा प्रकाशित
Online khabar

No comments:

Post a Comment