Saturday, February 21, 2015

जिन्दगी

बिहानै-बिहानै
बेतोडले -दौड्दै गयो एक मानिस आँखाअघिबाट
बाटोमा- भेलाभएर गर्न थाला सबैले
एक अर्कालाई प्रश्न को थियो त्यो मानिस दौडिरहेको ?

थियो कि त्यो एक राजबन्दी
वा जेल तोडेर भागेको कुनै विद्रोही कैदी
वा परिस्थितिले पाकेटमार बनाइसकेको
एक होनहार युवक ?


छेउको कपडा पसलेले
दौड्दै आ एर भन्यो -मैले देखिनँ उसको अनुहार
तर लाएको थियो घरबुना ढाकाको कपडा

बाटोको एक कुनामा जुत्ता सिइरहेको
मानिसले दियो बयान -नहेरे पनि अनुहार
म भन्न सक्छु -उसले लाएको थियो
पहेँलो सावरको जुत्ता
र एउटा गोडामा फुकेको थियो तुना,

सैलुनबाट निस्केर कसैले भन्यो-
उसले काटेको थियो सैनिकजस्तो कपाल
 र पातलो पारेको थियो शिरको पछिल्लो
 भागको केश

अहो ! न देखे पनि सम्पुर्ण स्वरूप
आँखा अघिबाट अनवरत दौडिरहने -
उहि हो जिन्दगी !

(rchitijgmail.com)
साभार: फाल्गुण ८, २०७१ को कान्तिपुर कोसेली

No comments:

Post a Comment