Saturday, September 20, 2014

लाखौ योगनरेन्द्र

आउछु भनेर हिडेको मानिस 
किन फर्किएन कहिल्यै -

रहस्य भएर बाँचिरहेको छ एक प्रश्न इतिहासमा
तर हराएर गएको चङ्गाझै वेपत्ता छ राजा
विहे गरेर भोलिपल्ट फर्केको
सैनिककी अर्धाङ्िगनीझै सुनसान छ - दरवार

उ आउला भनेर प्रत्येक साँझ
ओछ्याईएको छ - विछ्यौनामाथि सफा तन्ना
खुल्लै राखिएको छ झ्याल
र ढोकामा राखिएको छ - एकजोर खराउ
प्रत्येक दिन यात्री भएर - समय
हिडिरहेको छ उसबेलादेखि अन्तहिन प्रतिक्षाको सुरुङ !

नउडेसम्म यो मर्ुर्तिमाथि वसेको चरा
म आउनेछु कुनै बेला - कुनै दिन
यसरी भनेर हिडेको उ फर्केर आएन कहिल्यै
किन आएन - छैन जवाफ कुनै अभिलेखमा !

उ हिड्ने दिन परालको गुन्द्री विछ्याएर - चौक चौकमा
घाम तापिरहेका थिए हँसिला वृद्ध र वालकहरु र्
खर्पनमा र्सर्ूय - चन्द्र बोकेर
ओहरदोहर गरिरहेथे किसानहरु - बाटोमा
त्यसैवेला - धारामा अञ्जुली तेर्स्याएर
तिर्खा मेटी हिडेको थियो - दूर गाउँवाट आएको बटुवा
र व्यस्त थियो धिमे लयबद्ध सम्बादमा गुन्गुन्

मानिसहरु भन्छन् -किन फर्केन होला योगनरेन्द्र -

तर कसलाई थाहा कि
धेरै वर्षछि फर्केको थियो उ अर्कै भेषमा !
र भित्र पस्न खोज्दा रोकेको थियो द्वारपालेले उसलाई
र भनेको थियो -
कसैलाई जान अनुमति छैन महाराजको शयनकक्षमा
अनि फर्केर ढुङ्गा छापिएको आँगनबाट
टोलाएर हेरेको थियो उसले अग्लो कृष्णमन्दिर
आफ्नै मूर्तिमाथि बसेको स्थिर चरातिर

त्यस दिन, खासमा रोएको थियो उसको मन
देखेर - मानिसको संवेदनाझै सुकेको ढुङ्गेधारा
पाटी भत्काएर बनाएको पाषाण भवन
क्यारेमवोर्डको घारमा
झुम्मिएका मौरीजस्ता बेरोजगार युवाहरु
बिर्सदै गएको एक महान संस्कृति र उज्यालो सभ्यता
अनि हिडिदिएको थियो उ विरक्त भएर - कुनै अज्ञात यात्रामा,

दोहोरिएको छ उहि किम्बदन्तीं गाउँ-गाउँमा, सहर - सहरमा
घरका कुना - कुनामा
पर्खिरहेका छन् विछ्यौनाहरु र प्रेमले पकाएका खानाले
प्रतिक्षारत छन् परेलीका ढोकाहरु खुल्दै-उघ्रिदै

कसरी विरानो भयो आफ्नै मुलुक !

आज पनि, खानीमा-खाडीमा
कतै मरभूमि, वन्दरगाह र कारखानामा
संसारभरी यत्रतत्र - हरियो पासपोर्ट गोजीमा राखेर
हर्राईरहेछन् लाखौं योगनरेन्द्रहरु !

-रमेश क्षितिज
मिति २०७१ आश्विन ४ गते शनिबार साहित्यविशेष कान्तिपुरको साप्ताहिक परिशिष्टांक कोसेलीमा प्रकाशित कविता "लाखौ योगनरेन्द्र"


No comments:

Post a Comment