काठमाडौ, जेष्ठ २३ -
रमेश क्षितिज |
संयोगले आजका प्रमुख अतिथि तेक्वान्दोका पूर्वखेलाडी हुनुहुन्छ । हाम्रा लागि यो अत्यन्तै खुसीको कुरा हो । उहाँका समकालीन साथीहरू यहाँ प्रशिक्षकका रूपमा पनि उपस्थित हुनुहुन्छ ।' उद्घोषकले यसो भनेपछि मञ्चमा आसीन जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूलेे अलि आश्चर्य मानरे मतिर हेर्न थाल्नुभयो ।
अप्रत्यासित सूचनासहितको उद्घोषणले मलाई पनि बेग्लै अनुभूति दियो । हाम्रा प्रायः कार्यक्रमहरूमा अनिवार्य मानिने आसन ग्रहण, भाषण ग्रहण र रासन ग्रहण -जलपान) मध्ये पहिलो चरणमा थियौं हामी । म थोरै मुस्कुराएर आसनमा बसें । कार्यक्रम सञ्चालन हुँदै थियो, खेलका केही 'इभेन्ट' प्रस्तुत हुँदै थिए । यसबीच मैले भने जीवनलाई सुदूरबाट फर्केर हेरिरहेँ । र, आफ्ना स-साना सपनाहरूलाई उत्खनन गर्दै मानस यात्रामा निस्किएँ ।
oooo
लेखक बन्नु एक मनोहर सपना थियो मेरो । स्कुल जीवनमा नै भेटेजति कथा, कविता र उपन्यासहरू पढ्ने 'लत' नै भन्न मिल्ने बानी थियो । किताव पढिसकेपछि लेखकबारे ठूलो जिज्ञासा हुन्थ्यो । कसरी लेख्न सके होलान् यस्तो किताब, कस्तो होलान् उनीजस्ता उत्सुकता आउँथ्यो । लेखकको फोटो वा विवरण भेटे ओल्टाई पल्टाई हेरिरहन्थेँ म । धेरै मानिसले पढ्ने, जिज्ञासा राख्ने लेखकको कल्पनाशीलता र उसले सिर्जना गर्ने बेग्लै सृष्टि अद्भुत लाग्दथ्यो ।
यसरी पढ्दापढ्दै आफैंलाई नै उपन्यास लेख्ने लहड चल्यो मलाई एक दिन । नदीपारि 'बागर' भन्ने ठाउँ थियो जहाँ स-साना पसलहरू लहरै थिए । यही नै हाम्रो सरसमान किन्ने बजार थियो । मैले त्यहीँ पुगेर तीनवटा नोटबुक किनेर ल्याएँ, कलममा चेलपार्क मसी भरेँ र उपन्यासको कथावस्तुमा घोत्लिएँ । पूजा गर्न विभिन्न सामान जुटाएझैं - अब मलाई नायक नायिका र खलनायक खोज्नु थियो । धेरै बेर सोचमग्न भइरहँदा पनि भेटिने लक्षण देखिएन । मुख्य कुरा नायिकाको खोजी थियो । उनी भेटिएपछि अरू पात्रहरू क्रमशः आइहाल्थे ।
स्कुल जाँदा आउँदा, खेल्दा होस् कि बिछ्यौनामा हुँदा म निरन्तर नायिकाको खोजीमा व्यस्त रहेँ । जति नै भौतारिएर खोजी हिँडे पनि उपन्यासको कथा बोकेर हिँड्न सक्ने नायिका भेटिएन । तर एक दिन साँच्चिकै गज्जब भयो ।
शनिबार बिहान गाउँको धारामा गीत गुन्गुनाउँदै आफ्नै धुनमा कपडा धोइरहेको थिएँ । गाउँको किनारामा खोला थियो, अरू दुई तीनवटा धारा थिएँ गाउँमा । केही घरमा इनार पनि थिए । त्यसैले गाउँको पुछारको यो धारा निर्जनजस्तै हुन्थ्यो । झुल्केघाम पाखाभरि खसेको थियो । भर्खर मैले धोएर सुकाएका कपडाहरू घाँसमाथि पल्टिरहेका थिए । त्यसैबेला कम्मरमा गाग्री बोकेर एउटी बठिनिया अर्थात् थारू युवती यही धारातिर आउँदै गरेकी देखिई । ऊ अत्यन्त सुन्दर थिई तर गाउँको जमिनदारले उसलाई गर्भवती बनाएको हल्ला गाउँभरि चलेको थियो । गाउँले थारू केटासँग उसको बिहे पनि तय भइसकेको थियो । 'टु हन ट आपन् धोइ परठ न' .. अर्थात् तिमीलाई त आफ्नो लुगा आफैं धुनुपर्छ है, उसले भनी । फेरि थपी, 'का करठो मै धो दिउत देखही कलसे' ... अर्थात् के गर्छौ म धोइदिउँ भने देखेपछि .. ।
बुबाआमाबाट टाढा म एक्लै बस्थें दाङमा । त्यसैले आफ्नो अभिभावक आफंै थिएँ । मेरो उमेरका केटाहरूको कपडा धुने काम घरका कम्लरीहरूले गर्थे । म होस्टेलमा बस्थें । कहिलेकाहीं घर आउँथें र आफ्नो काम आफैं गर्थे । उसको बोलीमा थोरै करुणा मिसिएको थियो । जमिनदारले गाली नगर्ने भए कपडा त म धोइदिन्थें भन्ने उसको भाव थियो ।
बस् अचानक मैले मेरो उपन्यासकी नायिका भेटें । लहरै खलनायक आइपुगे । कथाले धेरै चीज माग्यो र सबैभन्दा बढी त मेरो बिहान बेलुकाको समय माग्यो । प्रतिबद्धता माग्यो ।
अनि त म कोर्सको किताब थन्क्याएर लेख्न थालें उपन्यास । रात दिन एकमात्र उत्कण्ठा हुन्थ्यो कसैगरी उपन्यास पूरा गर्ने । लेख्दालेख्दै बिछ्यौनामा पल्टिएर म आफू ठूलो लेखक भएको, किताबको कभरमा चिटिक्क आफ्नो फोटो छापिएको दृश्य कल्पना गरेर मक्ख परिरहन्थें ।
बाहिर चकमन्न रात हुन्थ्यो । टाढा टाढा कुुकुरको एकोहोरो आवाज सुनिन्थ्यो । सबै सुतिसकेपछि गाउँ एकतमासले शान्त बन्थ्यो । म भने लालटिनको धिपधिप प्रकाशमा लेखिरहेको हुन्थें । घरी भावुक बन्थें, घरी रोमाञ्चित । मेरो उपन्यासकी नायिकासँग असंख्य दुःखहरू थिए, उत्पीडन थियो, फुल्न नपाई झरेको कहानीले भावुक बन्थें म ।
करिब डेढ महिनापछि एक साँझ मेरो उपन्यास पूरा भयो । पानाहरू बन्द गरेर म आँगनमा निस्किएँ । टहटह जून लागेको थियो । आफंैले आफंैलाई चर्चित उपन्यासकार भइराखेको अनुभूतिले रोमाञ्चित बनाइरहेको थियो । आँगननेरको बाटोबाट औंलाले मेरो घरतिर सिकाउँदै दुईजना मानिस कुरा गरिरहेका थिए, 'झरेको सपना' का लेखकको घर यही हो- यस्तो दृश्य पनि कल्पनामा आयो । 'मिरौली गाउँ पनि अब चर्चित हुन्छ,' मैले मनमनै सोचें । रातभरि कोल्टे फेर्दै बित्यो ।
प्रकाशन कसरी गर्ने भन्ने विषयमा रातभरि एक्लै विचारविमर्श गरिरहें । कुखुरा पाल्ने र एकबाट दुई चार आठ गराउँदै प्रशस्त पैसा कमाउने योजनाले प्रकाशनको झन्झट र समस्या पनि समाधान भयो । बिहान उठ्दा आफ्ना लागि म झुसिलकीराबाट पुतली बनिसकेझैं कक्षा नौको विद्यार्थीबाट चर्चित उपन्यासकार भइसकेको थिएँ । खाना खाईवरी स्कुलतिर लागें ।
म आफ्नो धुनमा मस्त हुँदै बाटोमा स-साना ढुङ्गालाई खुट्टाले हिर्काउँदै कहिले गुन्गुनाउँदै हिँडेको थिएँ । उधारोमा मिठाई मान्दा नदिने पसले, जहिले निहुँ खोजी हिँड्ने सहपाठी, आफूलाई नटेर्ने मित्रहरू सबैले 'अबचाहिँ थाहा पाउनेछन्' भन्ने भावनाले मनमनै हाँसो उठ्यो । जितको अनुभूति दियो । कक्षामा पुग्दा अघिल्ला बेन्चहरू भरिइसकेका थिए- कसैले ठाउँ छोडेन । उपन्यासकार भएर पनि पछिल्लो बेन्चतिर बस्नुपरेकोमा गुनासो त थियो नै ।
कक्षा सकिएपछि हामी पैसाको अघिल्लो भाग हेरेर मिति चिन्ने खेल खुल्थ्यौं । तर त्यो दिन म खेलमा सामेल भइन् । बरु लाग्यो यिनीहरूलाई यत्रो घटना थाहा छैन । एउटा उपन्यासकारलाई पछिल्लो बेच्नमा बसाउनु के न्याय हो ? बस ! मैले लेखेका तीनवटै कापी केटाहरूलाई जम्मा गरेर देखाएँ । थोरै कथा पनि भनिदिएँ । डेढ महिनाको लगानी पनि थोरै बढाई चढाई व्याख्या गरें ।
डम्बरेले सोध्यो, 'अब त तँलाई दसैंमा र नयाँ वर्षमा कति पोस्टकार्ड आउँछन् होला है । अनि भित्तामा आर प्लस बीसीडी कति लेखिन्छ होला ।'
म गजक्क परेर बसेँ । साथीहरूबीच मेरा पौरखको व्यापक चर्चा परिचर्चा भयो । म एकदम खुसीले प्रफुल्ल भइरहें तर त्यो खुसी एक दिन पनि टिक्न पाएन । स्कुलको पाले काभे्रले एउटा क्लास बाँकी छँदै खबर सुनायो- यो घण्टीपछि हेडसरलाई भेट्नु ।
मेरो होस हवास एकैछिनमा गुम भयो, हेडसरको अगाडि उभिनु बाघसँग जम्काभेट हुनुसरह थियो । खुट्टाहरू लर्बराउँदै, ढुकढुकीको तीव्र चाल सुन्दै म हेडसरकहाँ पुग्दा उहाँ केही लेखिरहनुभएको थियो । मतिर हेरेर भन्नुभयो 'तिमी बिग्रन आँट्यौ । अप्सनल म्याथ, साइन्स लिएर पढेको मान्छे पढाइमा मेहनत गर्ने कि उपन्यास लेख्ने ?'
ज्यान गए जाला तर एक शब्द निक्लनु असम्भव ! 'हेर परीक्षामा पनि तिम्रो नम्बर राम्रो छैन । एसएलसीमा नौ कक्षासहित प्रश्न आउँछ । तिमीलाई जे बन्नु छ स्कुलको पढाइ राम्ररी सकाएपछि गर तर अहिले त पढ्ने बेला हो ।'
म एकदम चिसो मन लिएर फर्कें । फेरि सोचें- हेड सरको कुरा ठीकै हो । एसएलसी पास गर्न नसक्ने स्थिति भयो भने त के गर्नु ! उपन्यास कविता र गीतको सपना पूरा गर्न पनि पहिलो सर्त हो पढाइ । बस् केही दिनमा मैले उपन्यासकार बनिहाल्ने मेरो घोषणालाई मुल्तबी राखें । फेरि स्कुलको पढाइको क्रम जोडिए पनि पढ्ने लत भने कसैगरी कम भएन ।
जीवनमा धेरै सपनाहरू देखिन्छन् कुनै पूरा हुन्छन्, कुनै हुँदैनन् । बिदा र दसैं-तिहारको दिनमा घर जाँदा म त्यो किशोर उपन्यासकारको पुरानो बाकसमा राखिएको हस्तलिखित पाण्डुलिपि हेर्थें र मजाले हाँस्थें । त्यो खासमा उपन्यास थिएन तीव्र अनुभूति कोरिएको भावुकता र आवेग थियो । तैपनि धन्य छ हजार माइलको लामो यात्रामा त्यही त थियो पहिलो कदम ! तर धेरैपल्ट बसाइ सर्ने क्रममा कहाँ हराएँ, कहाँ त्यो यात्राको प्रथम तस्बिर !
oooo
एसएलसी पास गरेपछि पढाइका लागि म काठमाडौं आएँ । दिउँसो कलेज थियो । बिहान त खाना बनाउन नै समय लागिहाल्थ्यो । साँझको समय फुर्सदिलो थियो । साथीहरूले सल्लाह गर्यौं- केही सिक्नुपर्यो । विभिन्न विकल्पहरूमाथि छलफल भए । अन्ततः टाइप सिक्ने निधो भयो । पुतलीसडकमा टाइपिङ इन्स्िटच्युटहरू थुप्रै थिए । अहिलेजस्तो कम्प्युटर नभएकाले टाइपराइटर मेसिनको पनि राम्रै महत्त्व थियो । बेलुकाको समय मिलाएर चारजनाको हाम्रो समूह एकै समयमा सिकाइ अभ्यासमा तल्लीन हुन्थ्यौं ।
ब क मा न स पि व ज ....खटखट् खटखट् । ब क मा न स पि व ज खटखट् खटखट् ....
त्यहाँको वातनावरण एकतमासको रमाइलो हुन्थ्यो । धेरैजसो विद्याथीचाहिँ केटीहरू हुन्थे । मलाई आफ्ना कविता कथाहरूसमेत टाइप गरेर राख्न सकिने सहजताले सिकाइ आकर्षक भइरहेको थियो ।
एकदिन डेरा र्फकंदै गर्दा बाटोमा साथी भेटियो सुरेश । हामीले बाटोमै उभिएर भलाकुसारी गर्यौं । त्यसबेला बागबजारपछाडि एकमात्र बसपार्क थियो जहाँबाट काठमाडौं र बाहिर जिल्ला चल्ने बसहरू आउने-जाने गर्दथे । 'म त बसपार्कबाट फर्केको घरबाट खर्च पठाइदिनुभएको रहेछ,' उसले भन्यो । खर्च पठाउने माध्यम प्रायः बसबाट आउने चिनेजानेका मानिसहरू नै हुन्थे । 'राम्ररी पढ्नु' भन्ने व्यहोराको चिठीसँगै नगद खामिएको हुन्थ्यो ।
भित्रभित्रै मन पग्लियो । आफ्नोचाहिँ पैसा सकिएको कत्ति भइसक्यो । खबर पठाए पनि कहिले आउने हो टुङ्गो छैन ।
मलाई उसले पर्स निकालेर पैसा देखाउँछ भन्ने थाहा थियो किनभने पैसा आयो भने ऊ त्यसैगरी हरिया नोटहरू देखाएर लोभ्याउँथ्यो ।
'यी हेर यसपाला मागेको भन्दा धेरै पैसा आएछ घरबाट । कति भो तिमीहरूले मासु नखाएको ?' हाम्रो कोठामा आएर एकदिन उसले भनेपछि मनै हरर्र भयो ।
'भयो होला एक महिना त । ' समवयका मेरो रुम पार्टनर तीर्थ अंकलले भन्नुभयो ।
'एक किलो खसीको मासु ल्याएर गोलभेंडा-लसुन हालेर गे्रभी बनाएर सुपसुप मासु भात खान मजा आउँछ होला है । टन्न पैसा आएको छ म खुवाइदिनेवाला हुँ । '
उसले त्यसो भनेपछि गर्मीमा हिँडिरहेको बेला मानौं मरुभूमिमा पानीको तलाउ फेला पर्यो । मुख रसायो । हामी दंग पर्यौं । ऊ साहै्र दयालु मानिस लाग्यो । अहो साथी हुनु त यस्तो पो । आखिर आफ्नै गाउँ ठाउँको साथी पो ।
'म खुवाउनेवाला त हुँ तर खुवाउँदिनँ । बुद्धिमान मान्छेले जथाभावी पैसा खर्च गर्नु हुँदैन ।' यसो भनेर ऊ हिँडेपछि हामी रुनु न हाँस्नु भयौं । पैसा आयो कि ऊ केही निहुँ पारेर देखाउँथ्यो र नयाँ नयाँ ढंगले लोभ्याउँथ्यो ।
'हेर न यसपाला त तोरी बेच्ने सिजन । आमाले सुटुक्क छुट्टै पैसा पठाइदिनुभएछ,' उसले हरिया लोभलाग्दा नोटहरू देखायो । आफूचाहिँ अनेक सपना बोकी हिँडेको बागी मानिसजस्तो । खानु सुत्नुको ठेगान नै हुँदैनथ्यो । काठमाडौं आउने मान्छे भेटेर खर्च पठाउनृुपर्ने । चामल, तेल, अचार घरबाट बेलाबेलामा आउँथ्यो तर कुन समयमा भन्ने निश्चित र नियमित हुँदैनथ्यो ।
'तिमी टाइप सिकेर फर्केजस्तो छ- भोकले होला अनुहार पनि अँध्यारो छ । कि खाना पनि खाएका छैनौं ? म त सेकुवा, भुजा, चिउरा, भटमास वा तात्तातो मोमो खुवाइदिनेवाला हुँ ।'
ऊ यस्तै यस्तै कुरा गरेर लोभ्याउँछ मात्र भन्ने थाहा थियो । केही बोलिन । तैपनि मान्छेको जात कता कता झिनो आशाचाहिँ लागिरह्यो । आजचाहिँ उसको मन कमलो भइहाल्छ कि त भन्ने पनि लाग्थ्यो । तर एकछिनमै उसले घडी हेर्दै भन्यो 'म खुवाउनेवाला त हुुँ तर आज खुवाउँदिनँ । किनभने मसँग समय नै छैन । नाइट सो सिनेमा हिँडेको ।'
म फेरि लुरुलुरु कोठातिर फर्किएँ । बाटोमा एकजना दाजु भेटिनुभयो । हालखबर सन्चो बिसन्चो पढाइ लेखाइका कुरा भएपछि आफैं खाजा खाने प्रस्ताव राख्नुभयो । म यसै दंग परें । बागबजारको एउटा रेस्टुराँमा छिरेपछि धेरै खाने कुरा साथसाथै आफ्ना लागि बोतल पनि मगाउनुभयो । मैले आफ्नो पढाइ लेखाइ हालखबर र सिक्दै गरेको टाइपिङको बारेमा बताएँ ।
सेकुवालाई सिन्काले घोच्दै उहाँले भन्नुभयो- हेर भाइ सपना पनि खुद्राखुद्री देख्नु हुँदैन । देख्ने हो भने गतिलै देख्नुपर्छ । हाकिम हुने, न्यायाधीश हुने, प्रोफेसर हुने कि टाइपिष्ट हुने ? त्यो मुला टाइप कहाँ के काम लाग्छ जिन्दगीमा । टन्न पैसा कमाउने टाइपिस्ट राख्ने अथवा टाइप गराउने ।
मापसेको झोंकमा उहाँले धेरै कुरा सुनाउनुभयो । मलाई केही नैतिक मार्गदर्शन र गर्न हुने र नहुने कुरा बताउनुभयो । उहाँलाई खाजा खुवाएर पनि एक श्रोताको खाँचो थियो । मलाईचाहिँ त्यो दिन खाजाको राम्रै महत्त्व थियो । तर टाइपिङ सिक्नु महत्त्वको विषय होइन भन्ने लामो व्याख्या गरेपछि कसो कसो म कन्भिन्स भइसकेको थिएँ । सुरु सुरुको जस्तो चाख सिकाइमा यसै पनि थिएन । भोलिपल्ट म सिक्न गइनँ । बिस्तारै अरू साथीहरूले पनि पूर्णविराम लगाए ।
oooo
ि'यो खालि समयमा अभिनय सिक रमेश,' विनोदले यसो भनेर फेरो अर्को नयाँ सपनाको बीउ रोप्यो मभित्र । ऊ नृत्य सिकाउँथ्यो । डेरामा साँझ बिहान ताक् धि ना धिन ता गर्दै विभिन्न मुद्रामा नृत्यको अभ्यास गरिरहन्थ्यो । बलिरहेको आगो मुखमा हालेर निभाउने नृत्यको मुद्रा निकै कठिन थियो । उसको हाउभाउ नृत्य शैली देखेर प्रभावित नहुने कमै हुन्थे । म लेख्थेँ र अन्तर्मुखी स्वभावको थिएँ । स्कुल छँदा नाटकमा अभिनय गरेको सामान्य अनुभव सिवाय अरू कुनै कला थिएन मसँग । तैपनि एउटा उमेर हुन्छ मानिसको । सिनेमा हेर्यो नायक बन्न मन लाग्ने, किताब पढ्यो लेखक बन्न, भाषण सुन्दा नेता र गीत सुन्दा गायक बन्न मन लाग्ने हुन्छ नै ।
के थाहा भोलिको असली नायक दाङबाट काठमाडौं पढ्न आएको ठिटो पो हुन्छ कि ! अनि अभिनयको लगावले तानिएर दाङदेखि काठमाडौंको संघर्षको कथा फिल्मी पत्रिकामा ठूला ठूला अक्षरमा छापिने हो कि ? जे होस् मैले अभिनय कक्षा लिने विचार गरें ।
भृकुटीमण्डप नेपाल ल क्याम्पसको ठीक पछाडि अभिनय सिकाउने ठाउँ थियो । विनोदले मलाई त्यहाँ लिएर जाँदा नायक नै देखिने एक व्यक्ति काउन्टरमा बसिरहेको थियो । उसले मेरो पूरै अन्तर्वार्ता लियो, झिजो लाग्नेगरी अभिनयको बारेमा स-सानो प्रवचन नै दियो र मलाई संवाद भन्न लगायो ।
मैले हल्का अभिनयसहित संवाद बोलें- रुमाल त दियौ रूपा, तर कुुसुमे रुमालबाट आरम्भ भएको प्रेमकथा दुःखान्त हुन्छ भन्छन् ....
'नो नो मिलेन । नाममा त्यो रूपामा पन्च दिएर बोल्नुस् ।' उसले अभिनयसहित भन्यो । मैले फेरि दोहोर्याएँ उही संवाद बोलें- रुमाल त दियौ रूपा यसपल्ट रूपा शब्द अलि जोडले बोलेको थिएँ, लेख्य भाषामा भन्ने हो भने 'बोल्ड' गरेको थिएँ । केही दिन क्लास लिएपछि मात्र भर्ना हुनेगरी म फर्किएँ ।
दुई दिन क्लास लिएपछि मलाई त्यहाँको वातावरण मन परेन । घाँटीमा सिक्री, हातमा ब्रासलेट, अँधेरोमा पनि चस्मा लाइरहने युवकहरू । कुरा गर्दा पनि बडिज् -शरीर) र रडिज्को कुरा । धेरैजसो पढ्न नचाहने युवा युवतीहरू । मानौं, अभिनयको क्षेत्रमा महान् योगदान गर्दागर्दै अध्ययन पूरा गर्न पाउनु भएन' भन्ने वाक्यांश व्यक्तिगत विवरणमा लेख्नु परोस् ।
एकदिन, साँझ पुतलीसडकतिर हिँड्दै गर्दा मैले विनोदलाई सोधें, 'अभिनयका कक्षा त राम्रै चल्दै छ, के म हिरो नै हुन्छु त ?'
'होइन हिरोको नै भूमिका गर्नुपर्छ भन्ने छैन, हेर्दा रामै्र छौ तर त्यो अभिनयले हुने कुरा हो । कस्ता कस्ता त हिरो छन्,' उसले ओमपुरी आदि इत्यादि नाम लियो तर मेरो मनमा हिरो भनेको त झिल्के मिक्ले नै हुनुपर्छ चकलेटी अनुहार र पाखुरा देखाउनलाई अनि ढल्काउनलाई लामो जुल्फी नै चाहिन्छ भन्ने मेरो मनमा थियो । विनोदको कता कस्ता कस्ता भन्ने शब्द मनमा गुन्जिरह्यो । राति अबेरसम्म सोचेपछि भर्ना हुने पैसाले टन्न खाजा खाने फर्माइस गर्न ठीक भन्ने निर्णय गरें मैले । किनभने कस्ता कस्ता हिरो हुनलाई पनि के अभिनय सिक्नु भन्ने लाग्यो । मैले यो कक्षा छोडेपछि विनोद मजाले हाँस्यो र भन्यो, 'नेपाली सिनेमा जगत्ले एक होनहार नायक पाउनबाट बन्चित हुनुपर्यो, कठैबरा !'
oooo
ितीनवटा कोठमा हामी दाङका विद्यार्थी बस्थ्यौं । बागबजारको भट्टराई निवासमा । सँगै पढ्न आएका साथीहरू अधिकांशले तेक्वान्दो सिक्थे । जितबहादुर केसी २-३ वर्षसम्म सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुमन घले, विनोद गिरीलगायतका साथीहरूसँगै म पनि तेक्वान्दो भर्ना भएँ । साँझ रङ्गशाला जानु र खेल्नु बिहान आँगनमा अभ्यास पनि गर्नु दिनचर्या बन्यो । अरू क्षेत्रमा मेरो सिकाइ लामो समय नटिके पनि यो खेलप्रति मेरा विशेष आकर्षण रह्यो । दौडेर स्वयम्भू र पशुपति अनि रङ्गशाला ओहोर दोहोर गर्नु रमाइलो लाग्दथ्यो । एक त यसै दुब्लो ज्यान त्यसमा पनि कडा परिश्रमले म सिट्टी भइसकेको थिएँ । आफैंले जसोतसो बनाएको खाना र खाजा पर्याप्त डाइट थिएन नै । तर तेक्वान्दो शारीरिक सुरक्षाका लागि उपयोगी भए पनि यो एक कलात्मक खेल थियो । त्यसबेला तेक्वान्दो खेल्नेहरूका लागि नारायण गुरुङ र विधान लामा आदर्श नायक थिए । गुरुङ शक्तिपूर्ण खेल खेल्थे भने लामा कलापूर्ण र चलाखीपूर्ण खेल्दथे । अनि खेलाडीहरू उनीहरूझैं बन्ने सपना हुन्थ्यो । प्याडमा हिर्काउँदै, उफ्रिँदै, कुद्दै वर्ष बितेको थाहै भएन ।
अन्तिम वर्षको परीक्षा नजिक आइरहेको बेला मलाई सन्चो भएनँ । एक्लो बसाइ, अनियमित खानपान र कडा परिश्रमको कारणले तङ्गि्रन समय लाग्यो । त्यसै बेला हो रङ्गशालाको प्रशिक्षणको क्रम टुटेको । गि्रन बेल्टसम्म पुगेर मैले खेललाई त्यहीं विश्राम दिएँ । म बिस्तारै जीवनको अरू बाटोतिर हिँड्न थालें । नयाँ सपनाको झुल्के किरण देखिए, म तिनै सपनाहरूलाई पछ्याउँदै हिँडें ।
सम्बोधनको क्रममा मैले हेरें सामुन्नेका किशोर अनुहारहरू । खेलाडी हुने सपना बोकेका चम्किला अनुहारहरू । त्यही एक दुब्लो तर फरक स्वप्नशील अनुहार थियो- त्यो थियो बीसवर्षे पुरानो मेरो अनुहार । आखिर मानिस त्यही हुन्छ- उसलाई जे हुनु छ । मैले बोलें सम्बोधनमा 'जीवनको खेलमा समयले हानेको फ्लाइङ किकले कसलाई कहाँ पुर्याउँछ कसलाई कहाँ ! म त यहाँ पो आइपुगेँ । '
प्रकाशित मिति: २०७१ जेष्ठ २४ १०:२०
No comments:
Post a Comment