Saturday, February 15, 2014

परिचय

वर्षौंदेखि तिमी पर्खिरहेछौ- एक अद्भुत आगमन
जसले बदल्नेछ तिम्रो जीवन
फुकालेर दुःखका मैला लुगाहरू- दसैंको बालकलाई झैं
पहिर्‍याउनेछ तिमीलाई रंगीचंगी खुसीको पहिरन

र हात समाएर तराउनेछ संघर्षको नदी
पुर्‍याउनेछ सपनाको उसपार- पल्लो किनारमा !

ठीक सोच्यौ- कोही अवश्य आउनेछ
नसोचेको कुनै महर्षि आँगनमा आएर
तथास्तु भनिदिएझैं- कोही भेटिनेछ तिम्रो जीवनमा
त्यो एउटा मानिसले गर्दा
संसारै फेरिएझैं लाग्नेछ तिमीलाई !

फरक लाग्नेछन् यो पहाड
यो आकाश
यो धर्ती- सबै

उसबाहेक- कसैले बदल्न सक्नेछैन
तिमीलाई यो दुनियामा
उही नै हो तिम्रो अन्तरंग मित्र
सच्चा प्रेमी/शुभेच्छुक

एकमात्र उही हो- खुसीको वर्षातले तिमीलाई
नुहाइदिने मानिस

तिमीले चिन-
पहिल्यै आइसकेको छ ऊ यहाँ
को हो ऊ- बस, ऐनाअघि उभेर हेर उसलाई !

~ रमेश क्षितिज


कोसेली, कान्तिपुर
प्रकाशित मिति: २०७० फाल्गुन ३ १०:५५

No comments:

Post a Comment