Sunday, February 10, 2013

आधार शिविर


धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको कवि रमेश क्षितिजको  "एकल कविता वाचन" कार्यक्रम " क्षितिजका कवितहरुसंग हामी" मा  "आधार शिविर" कविता वाचन गर्दै Dr. Kumbha Raj Joshi



एकान्तले पनि
एकान्तमा बस्न दिदँैन अचेल

चिच्याईरहन्छ - नपर्खे हुन्छ
निठुरी त्यो परदेशीलाई नपर्खे हुन्छ
कराउदोरहेछ एकान्त
भीर पाखामा प्रतिध्वनित भएर

कोही नसुस्ताउने छाया भएर
किन अझै पर्खिरहेको छु एक्लै
हिमनदीको किनारमा

डुंंगा डुबाएर घर फर्केको माझीका
नियास्रा नियास्रा साँझजस्ता क्षणहरु भोगेर
खोलापरिको गाउँबाट
हावाको घोडा चढेर आउँछन् विशृंखलित बाँसुरीका धुनहरु
र उसैगरी कठयांग्रिने बनाइरहन्छ अंग-प्रत्यंग
सम्झनाको हिमपातले ।

खै, मैले बिदाइको हात
हल्लाउन नपाउँदै कसरी छुटेछ समयको रेल
छातीलाई सुरुङ्ग बनाएर,
कतिखेर बर्सेछ असारको पन्ध्र यसरी
र मेटाएछ
कुइनेटोमा छोडिएका जोडी पाइलाका पदचिन्हहरु

त्यो पहाडको रगतजस्तो बग्दै गरेको रातोमाटोमा
क्ति खोजौं म सारा दिन
हराएको कुनै पुरानो तस्बिरजस्तो
शिखर चढ्न सम्भावना ?

शिविर सार्नुअघि झिसमिसेमा
जान्छु है सम्म नभनी जाने निर्दयी त्यो परदेशीलार्य
एकैक्षणका लागि
म बनाइदिने भए ईश्वरले
थाहा हुन्थ्यो -
नदीको भत्किरहने किनारजस्तो मुटु लिएर
हावामा उडिरहने पातजस्तो मन लिएर
निरर्थक कसैलाई कुरिरहनु
कति कष्टकर हुन्छ

अनि कति बिझाउने हुन्छ
आफैंलाई निरीह निरीह रित्तो सम्झेर बाँच्नु !

एकान्तले पनि
एकान्तमा बस्न दिँदैंन अचेल
चिच्याइरहन्छ- नपर्खे हुन्छ
निठुरी त्यो परदेशीलाई नपर्खे हुन्छ ।

रमेश क्षितिज
(घर फर्किरहेको मानिस)

No comments:

Post a Comment