क्षितिजलाई चिन्नुपर्दा
मलाई फर्किनुपर्छ एक अतीतमा । त्यस अतीतको एक पाटो जोडिएको छ भारतको बाइसौं राज्य सिक्किमको एक मृदु-स्मृतिको हिस्सासित, म स्मरण गर्दै थिएँ प्रवासका मेरा प्रिय कवि राजेन्द्र भण्डारीको । उनीसितको कैयौं भेठको चिना-चिनामा हामीले भारतीय र नेपाली कविको चिरफार गरेका छौं । एक दिन उनले मलाई नेपालकै एक गीतकारको लोकप्रिय गीतको विधिवत् व्याख्या गरे । उनले भने– 'यिनी मलाई असाध्य मनपर्ने गीतकारमध्ये हुन्, चिन्नुहुन्छ भाइ ?' सोधिएका व्यक्ति रमेश क्षितिज थिए जोसित मेरो कुनै आपसी चिनजान वा नातागत भेटभाव थिएन । र जवाफमा मैले यति भनें- 'दाजु, मैले चिन्न चाहें भने म चिन्न सक्छु ।'
साँच्चै त्यसपछि मैले रमेश क्षितिजलाई काठमाण्डू फर्केर आएपछि आफ्नै गच्छेअनुसार चिन्ने कोशिस गरेँ । 'आफनो गच्छे अनुसार.................. भन्नाले यसलाई बुझ्न गाह्रो छ, काठमाण्डू यति हृदयहीन नगर छ यहां मान्छेलाई चिन्ने हो भने उनका नजिकका शुभचिन्तकले अनेक किसिमले चिनाइदिन्छन्' जुन उसको परिचय नहुन सक्छ । जसको विगतमा हरिभक्त कठुवाल वा भूपीका परिचय यसरी नै बन्दै गयो । भनाइको तात्पर्य स्पष्ट छ, शङ्कर लामिछानेलाई टाढाबाट देख्ने वा चिन्नेले बनाएको मापदण्ड कतिको मानवोचित होला ?'
गीतकार रमेश क्षितिजलाई यसरी नै चिन्ने प्राथमिक कोसिसदेखि यहाँसमम आइपुग्दा मैले रमेश क्षितिजलाई त्यस्तै पाएँ जस्तो मैले अपेक्षा गरेको थिएँ । आज उनी मेरा सामू त्यसरी नै छन् जसरी मैले पहिलो पटक भेट्दा पाएको थिएँ ।
अपेक्षाकृत रुपमा रहज र सादापन भएका रमेश षितिज पहिले कविका रुपमा मेरा सामू आए त्यसपछि मित्रका रुपमा । र, कठिनाइको घडी नै त्यही नै हो हामी उसमा दुई कुरा एकसाथ खोज्छौं- राम्रो मान्छे र राम्रो लेखक । दुवै प्रवृत्ति एउटै मेनुमा उपलव्ध हुन्न, पाउन गाह्रो छ । तर पनि हाम्रो काशिस जारी रहन्छ दूरान्तसम्म ।
रमेश क्षितिजमा अनपेक्षित रुपमा त्यो कठिनाई मलाई परेन र आजसम्म परेको छैन । एउटा राम्रो लेखक र असल मान्छेको मिश्रित प्रवृत्ति उनमा एकसाथ देखा पर्यो र त्यही सुसम्बन्धनको कडीमा हामी आज एउटा भूमिकामा गाभिएका छौं । यो सौभाग्य सबेलाई मिलेको वा जुरेको हुँदैन । यस संयोगका लागि भगवानलाई लाखलाख धन्यवाद भन्छु ।
कवि एवम् गीतकार रमेश क्षितिजको आगमन
गीतकारका रुपमा रमेशजीलाई मैले कवि राजेन्द्र भण्डारीमार्फत चिनें वा जानें । तर कविका रुपमा रमेशजीलार्ई चिनाउने मौका 'मधुपर्क' मासिकले मलाई दियो । नेपाली गीतको एउटा स्तरकिृत अवस्था सुस्तरी ध्वस्त-न्यस्त भइरहेको बेला उनको शालीन प्रवेश भएको म पाउँदछु, नेपाली पाठक वा समालोचकका निम्ति पनि त्यही नै धारणीय अवस्था हुनसक्छ भन्ने म मान्दछु ।
नेपाली गीतिक्षेत्रका कीर्तिस्तम्भहरु रत्नशमशेर थापा, दिनेश अधिकारी, मनबहादुर मुखिया र राजेन्द्र पौडेलसित एउटा सुन्दर सहकार्य गरिरहेको बेला त्यही समतुल्य कार्यानुभूतिमा म रमेशजीका केही सुन्दरतम रचनाहरु पढ्न पुग्छु । सुन्दरतम्को यहांनेर सुन्दर अर्थ छ मेरो जीवनमा, यतिबेला म पुनः नेपाली साहित्यमा पुनरागमन गर्दै थिएँ र यसका निम्ति मेरो ट्राभल जोन बनिसकेका थिए, केही निश्चित थोरै समकालिन कविहरु र त्यसपछिका नवागतहरु । रमेश क्षितिजका गीतहरुमा यस्तो बलशाली बिम्ब वा अभिधा थिए, त्यतिबेलाका समवर्ती गीतकारहरुमा तयो कुराको अभावमात्र होइन- नासिकरण भएर गएको म पाउँदछु ।
त्यतिबेला रमेश क्षितिजका गीतहरुभित्र हराउँदै-हराउँदै म त्यहीं पुगें जहां गएर मेरो मन समीकरण हुन्थ्यो- अम्बर गुरुङ, शरण प्रधान, जितेनद्र बर्देवासित । यद्यपि हाम्रो गीतको क्षितिज त्यसअघि नै उघ्रिसकेको भए पनि सङ्गीतसित गीत यसै कालतिर मात्र आएर जोडिएको मानिन्छ ।
गीतले सङ्गीत वा त्यसको सम्पूर्णता त्यतिबेला मात्र माग्छ जब गीत स्वयम्मा पूर्णतः एउटा रचना वा सत्ता बन्न पुग्छ । क्षितिज यस हिसाबले त्यस प्रवृतिका हद र कद भएका गीतकार हुन् भन्ने मेरो ठोकुवा छ । उनले गीतलाई आफ्नो ढङ्गले जन्माउन जानेका छन् जसलाई कवि-गुणीहरु एस्थेटिक प्वाइन्ट अफ भ्यू (बोधात्मक सौन्दर्य) भन्दछन् । रचनाको स्तरले सदैव शास्त्रीयताको शर्तमा होस् वा साङ्गठनिक अर्थमा शव्दको विशाल (माहौल) माग्दछ तर फरक यति मात्र हो- त्यस्तो कस्तो आयतन खोजने हो ।
यूनानीविचारक हेराक्लिट्स भन्दछन्- शव्दले जम्मै शासित छ तर अधिकांश मानिस आफ्नै ज्ञानमा विश्वास राख्छन् । कवि क्षितिजले आफ्ना यस किसिमका अनुभव र अनुभूतिको प्रकाशक व्यापक गरेका छन् । उनका रचनाले उनीसित प्रशस्त क्षेत्र भेटेको छन- विचार, भाव प्रज्ञान र संवेदन । यी चारै तत्व एक रचनाकारका निम्ति अस्त्र हो । विचारले अववोध र अर्थ दिन्छ, भावले नापजोख गर्छ र मूल्य दिन्छ, प्रज्ञानले भावी सम्भावनाहरु बताउँछ र परिवेशको सन्देश दिन्छ, संवेदन इन्द्रियबोध हो ..... - यसरी व्याख्या गरेका छन् कार्ल गुस्ताभ युङ्गले । त्यसलार्य बुझेका हुन्छन् एक कविले आफ्नो रचनाकर्ममा । यदि उसको सृजना सच्चा अर्थमा साँचो हो भने । र यसैले उसको रचनालाई कारिगर र कार्यकुशल बनाउँछ । गीतको मूल मर्म र धर्म पनि त्यही हो । रमेश क्षितिजका गीत त्यही अर्थमा भावबोधक छन् । उनले भन्न खोजेका कुरा उनीजस्तै स्पष्ट र सरल छन् । जस्तो हेरौं, उनका गीतहरुमै –
आफूलाई भुलिरहेँ बिर्सनेलाई सम्झिरहेँ
के के सोचेँ रातभरि बिउझिरहेँ-बिउझिरहेँ
जर्मनी उपन्यासकार थोमस मनले भनेका छन्- मान्छेमा अनेकानेक स्मृतिहरु हुन्छन् तर अधिकांशमा एउटा खराब स्मृति सधैं हुन्छ, त्यो ह- कुनै कुरा बिर्सनै नसक्ने । यो गणितबाट अलग्ग नभई कुने गीतकारको रचनागत भूमिति बनेको हुँदैन र बन्न पनि सक्तैन । क्षितिजलाई यस हिसाबले एक अब्बल दर्जाको गीतकार मान्न सकिन्छ । गीतकारको रुपमा उनका भाषायी दुनिया पनि अस्तित्विक छन् जसलाई व्याकरणीय र प्राविधिकीय रुपमा नापजोख गर्दा त्यो सबैको लागि सर्वग्राह्य बन्न पुग्छन् । गीतमा भाषा वा त्यसको तन्तुजाल त्यही अर्थमा आङ्गिक हुन जरुरी छ, र त्यसले बुनेको बनौटले नै सम्पूर्ण निर्माणक्रमलाई आकारमा ल्याउँछ । गीतमा शव्दको मूल भूमिका त हुन्छ नै । शव्द नै यसको लहना, गहना र योजना हो । तर शव्द यति ठूलो भार हुनुभएन जसले गीतलाई पारि तार्न नसकोस् । क्षितिजका गीतमा त्यो संकटापन्न अवस्था देखिँदैन ।
'साँझ उस्तै बिहान उस्तै दिन पनि कालो,
कहीँ गई छोपिँदैन दुख्ने घाउ आलो ।
समाउने हाँगो छैन छैन कतै टेकनलाई भर हजुर
लाखौं मान्छे संसारमा तर आफ्नो भन्नु को नै छ र हजुर ।'
उनका गीतमा शव्द त्यसरी नै आएको छ जसरी अलेक्ज्याण्डर कोड्रदाले माग गरेका छन्, उनी भन्छन्- भाषा गरिब मान्छेको टेलिग्रामजस्तो हुनुपर्छ । दुवै अर्थमा - आर्थिक र शाव्दिक पनि । यस्तै मागमा लेखिएका गीत नै सुन्दर र सतय हुन्छन् ।
गीतकार क्षितिजको यस संग्रह 'आफै आफ्नो साथी भएँ.... एउटा कुराको गर्वशाली पक्ष छ, त्यो हो निर्वैक्तिक पक्ष, जहाँ उनले आफूलाई नवीनीकरणको उचाईमा उचालेका छन् भने पुनर्परीक्षण हुनबाट बचाएका छन् । त्यो उनको सर्वार्थमा जीत हो भनने मैले मानेको छु । गीतकार जब दोहोरिन्छ, आफ्नै शव्द वा मिथकमा, त्यतिबेला उसको पूर्णतः हार वा विश्राम हुन्छ भन्ने सुधीजनको भनाई छ । म पनि यसलार्ई मान्दै आएको छु । शेलीको उचाईको गीत लेख्छु भन्ने हाम्रा गीतकारहरु पनि चालीसौं वर्षको गीतिसाधनापछि पनि 'बेली र चमेली' मै अल्झिरहेको शव्दातीत इतिहास हाम्रै अगाडि छर्लङ्ग छ । शेली वा इलियट नै पछि आफ्नै पुराना बिम्ब र प्रतीक सापटी लिई-लिई बाँचिरहेको दुखद् कथा पनि विगतबाट सिक्न पाइन्छ । र, यो ऐतिह्य हाम्रा रचनाकालमा झन् व्याप्त छ ।
ई सब कुराकन्थबाट वञ्चित र सुरक्षित छन् हाम्रा गीतकार रमेश क्षितिज । उनलाई हाम्रो अनेकअनेक शुभकामना ।
भूमिका, आफै आफ्नो साथी भए (गीति संग्रह)
प्रकाश सायमी
गोधूलि संसार
जलविनायक मार्ग, सैंबु ८ ग,
ललितपुर, नेपाल ।
२०६३
No comments:
Post a Comment