Saturday, January 5, 2013

टोकियोमा एक दिन

संसारको जुनसुकै कुनाको भए पनि मानिसका आँसु, हाँसो, प्रेम र घृणा उस्तै हुन्, मानिसका कथा उस्तै हुन, जुन जात र रंङको भए पनि


सन् २००३ नोभेम्बरको एक चिसो साँझ । सिर्रर्र मुटु कपाउने स्याँठ चलिरहेको थियो । म जापानको नारिता एयरपोर्ट ओर्ले ।

लगभग १०/१२ घण्टाको ट्रान्जिट, रातभरिको अनिद्रा र फेरि लामो उडान- शरीर क्लान्त थियो । झिलिमिली प्रकाशले चम्किरहेको एयरपोर्टभित्रबाट प्रक्रिया पूरा गरेर निस्किनेबित्तिकै 'रमेश-नेपाल' लेखिएको कागजको बोर्ड देखिएपछि म त्यही हुलमा मिसिएँ ।

  ०००
 


'आइ एम इभोन फ्रम सिंगापुर' हात मिलाउँदै हेरेँ – मंगोलियन अनुहारकी ऊ एक सुन्दर र हँसिली युवती थिई, सेतो स्वेटर र कालो पाइन्टको पहिरनमा ।


'म चाहिँ जिरोवत... थाइल्याण्डबाट, तर तिमी सजिलोको लागि मलाई जिरो भन्न सक्छौ ।'
कविता पूरा भइसकेको थियो । एयर होस्टेसले छोडेर गएको कफीको मन्द बासना थियो वरिपरि

'... म चाहिँ आन कोरियाबाट... बट लिटिल लिटिल इङ्लिसी ओके ?'

लामो कोट लगाएको स्याउजस्तो रातो गाला गरेको ऊ रमाइलो युवक थियो - मलाई यस्तो लाग्यो ।

यसरी मैले प्रत्येकसँग हात मिलाउँदै परिचय गर्दै अघि बढे । चालिस वर्षमुनिका युवाहरुको अन्तर्राष्ट्रिय गोष्ठी थियो । १५ देशका प्रतिनिधि सहभागी थिए । जापानको नेसनल युथ सेन्टरले गोष्ठी आयोजना गरेको थियो ।

त्यो साँझ जब हामी बस्ने युथ सेन्टरको माथिल्लो तलाको रेष्टुरेन्टमा बस्यौँ- एकैछिनमा घुलमिल हुने अवसर प्राप्त भयो । एकअर्काको प्लेटबाट उठाएर निर्धक्क खानेकुरा खाइरहेका थिए साथीहरु । एक अर्काबीच हाँसोठटृा चलिरहेको थियो- मानौँ हामी सँगै कलेज पढेर छुटिृएका साथीहरु थियौं ।

कार्यक्रम संयोजक जापानी युवाले बेलुका हुने रात्रीभोजको जानकारी गराए र पालना गर्नुपर्ने केही सामान्य नियमहरु बताएर हामीलाई उपलव्ध गराइएको कोठा खोलने कार्ड थमाए  नुहाइधुवाई गरेर बाहिर निस्कँदा निकै ताजा अनुभूति भइरहेको थियो । त्यस रातको स्वागत समारोह र रात्रीभोजमा कोरियन आनले पिएर मथ्थुमात्र भएन, सबैलाई हात समाउँदै नचाउन थालेपछि कसै कसैलाई त भागाभाग नै बनायो । एकैछिनमा, रमाइलो गर्ने स्वभावका कारण हामीबीच ऊ लोकप्रिय बन्यो ।

भोलिपल्ट बिहान ब्रेकफास्टका लागि हामी ठूलो हलमा भेटियौं- अपरिचयको कुनै पर्खाल थिएन अब, एकप्रकारको आत्मीयताले बाँधिसकेको थियो । साथीहरुले मलाई बिफ नभएको खानेकुरा छान्न सघाए । सी फुड र एकप्रकारको गन्धले गर्दा मैले त्यहाँ रहँदासम्म प्रायः केक, फलफुल र थोरै भात भएको खाना रोजाइमा राखेँ । कहिलेकाँही भने बल गरेर नै सी फुडको स्वाद चाख्ने गर्दथें ।

  ०००

यसबेला निकै व्यस्त थियो दैनिकी । शिक्षासँग सम्बन्धित सम्मेलन भएकोले केही सैद्धान्तिक कक्षाहरु, आफ्नो देशको प्रस्तुतीकरण र अन्तरक्रिया त हुन्थ्यो नै तर आधा पाटोचाहिँ भ्रमण र अवलोकन नै हुन्थ्यो । विभिन्न स्कुल, विश्वविद्यालय, संग्रहलाय, मन्त्रालय, पर्यटकीय स्थल र प्राचीन धार्मिक स्थलहरुसमेत घुम्ने व्यवस्था मिलाइएको थियो । हिउँको सेतो टोपी लगाएजस्तो देखिने माउन्ट फुजी देखेर मैले नेपालका अग्ला हिमशृंखलाहरु सम्झेको थिएँ ।

यसरी सँगै हिँड्दा-घुम्दा अनौपचारिक र मित्रवत् सम्बन्धले झाँगिने अवसर पाएको थियो । कसैले समस्या पर्दा सबैले चासो राख्ने स्वभावले मानिसप्रतिको आस्था र प्रेम भने मेरो हृदयमा झन्झन् बढिरहेको थियो । संसारको जुनसुकै कुनाको भए पनि मानिसका आँसु, हाँसो, प्रेम र घृणा उसतै हुन्, मानिसका कथा उस्तै हुन्, जुन जात र रंङको भएपनि ।

'मेरो पहिलो प्रेमको अन्त्य अत्यन्त नाटकीय थियो । हामी एक रेल्वे स्टेशनमा थियौँ, एकअर्कासँग बाझिरहेका थियौँ- रिसाइरहेका थियौं । एकैछिनमा ट्रेनहरु आए र दुई फरक दिशातिर जाने ट्रेनमा हामी चढ्यौँ- मेरी प्रेमिका र म... र त्यसपछि जीवनमा फेरि कहिल्यै भेट भएन ।' 

यो कथा जिरोको थियो । जापानमा ग्य्राजुएसन गरेर अमेरिकाबाट एमबीए गरेको ऊ आधुनिक युवा थियो- जसको सौख थियो इन्टरियर डिजाइन ।

एकदिन एउटा कार्यक्रममा जापानी पूर्वशिक्षकसँग भेट भयो ।

कुरैकुरामा जिरोले सोध्यो- तीस र तीस वर्षसम्म विद्यार्थीहरुलाई पढाउँदा त निकै रमाइलो भयो होला हैन र?

पूर्वशिक्षकले भन्यो – 'म मेरो पेशामा कुनै दिन पनि रमाइनँ यसैले त रिटायर्ड भएपछि स्वयम्सेवक रुपमा यहाँ जोडिएको छु- नेशनल युथ सेन्टरमा । अब भने फरक काम, नयाँ मानिससँगको परिचय- यो सब रमाइलो लाग्छ मलाई ।' 

मानौं जिरोलाई हजार भोल्टको करेन्ट एकैपल्ट लाग्यो, उसले मलाई एउटा कुनातिर तानेर भन्यो – 'ओ माइ गड सी रमेश हाउ ही स्प्वाइल्ड हिज इन्टायर लाइफ ?'

जापान रहंदासम्म पटक-पटक यो घट्ना सम्झिरहन्थ्यो र भन्थ्यो – 'कि तिमी आफूलाई मनपर्ने काम गर । कि जुन काम गर्दैछौ त्यसलाई मन पराऊ । '     

 कोठाअगाडिको कोरिडरको भुँइमा बसेर हामी अबेरसम्म गफिन्थ्यौं । एकअर्काको देशको सभ्यता, संस्कृति र रहनसहन बुभन यी अनौपचारिक कुराकानी निकै फलदायी थिए । छिटृै खुल्ने स्वभाव थिएन मेरो तर समूह यस्तो थियो कि त्यो रमाइलो वातावरणमा सामेल हुन करै लाग्दथ्यो ।

'यहांबाट गएपछि चलिरहेको सम्बन्धविच्छेदको प्रकृया टुंगिनेछ र मैले सुरु गर्नेछु नयाँ जीवन ।' यो कथा थियो कोरियन किमको ।

'मैले त जीवनमा माया भन्ने कुरा कहिल्यै पाइँन । आमालाई निर्घात कुट्दथ्यो मेरो बाबु, म त्यो हेर्दै हुर्किएँ । बाबु छुटिृएर अर्कैसँग बसेपछि हामीले एक्लै संघर्ष गर्नुपर्यो । छुटृै बस्न थाल्यो फेरि मेरो दाइ, उ कहिलेकाहीँ घरमा आउँथ्यो उसैगरि हात छोड्थ्यो आमालाई । उमेरमा मैले प्रेम गरेका मानिसबाट पनि धोका र पीडासिवाय केही पाइँन मैले । तैपनि जीवनमा खुसी हुने कला सिक्दै जानुपर्छ भन्ने लाग्छ मलाई ।' उदास हुँदै इभोन भन्थी ।

समूहको सबैभन्दा रमाइलो मानिस थियो- आन । उसको अंग्रेजी एकदमै कमजोर थियो र जतिखेर पनि हातमा डिक्सनरी बोकिरहन्थ्यो । कसैले केही सोध्यो भने हत्तपत्त ुवेट(वेटु भन्दै डिक्सनरी पल्टाउन थाल्थ्यो ऊ र पर्खाइरहन्थ्यो सोध्ने मानिसलाई । शव्द फेला पारे पनि अथ्र्याउन आउँदैनथ्यो जब अनि मुसुक्क हाँसेर भनने शव्द हुन्थ्यो उसको 'लिटिल लिटिल इङलिसी ....'

एकदिन साँझपख निकै कर गरेर आफ्नो कोठामा लग्यो उसले मलाई, नत्र सामान्यतया एकअर्काको कोठामा पस्दैनथ्यौं हामी भन्यो- 'रमेश मेरो आफ्नै सिद्धान्त छ ।'

'के हो त्यस्तो सिद्धान्त आन ?' म जिज्ञासु बनें । चर्रर एउटा सुटकेशको चेन खोल्दै ऊ मुसुक्क हाँस्यो र भन्यो – 'आफ्ना व्यवस्था आफै गर्नुपर्छ ।'

एउटा सुटकेशभरि थरिथरिका पेय पदार्थहरु । विभिन्न साइजका बोत्तलहरु र ड्राइ फुडहरु आफैले व्यवस्था गरेर हिँड्दोरहेछ ऊ । अनि पो बिहानसमेत किन झुम्म भएर हिँड्दोरहेछ भन्ने थाहा भयो मलाई । तर्रर्रर ग्लासमा तरल पदार्थ खन्यायो उसले र 'मापसे' गर्दै भन्यो- 'लिटिल लिटिल इङलिसी भेरी मच वाइन, राइट?'

'यो चाहिँ तिमीलाई मन पर्छ होला' महमा मुछेका भुजियाको डल्लोजस्तो स्वादिलो खानेकुरा खुवायो उसले मलाई । भोलिपल्ट जब जिरोलाई यो प्रसंग सुनाएँ लडीबुडी हाँस्यो ऊ र भन्यो - 'तिमी कुनै सामान किनेर उसलाई देऊ, तिमीलाई नजिकको मित्र पनि सम्झिन्छ ।' जिरोले डिपार्टमेन्टल स्टोरमा लगेर एउटा लगेर एउटा ह्वीस्कीको बोछल किनाइदिएपछि उपहारस्वरुप त्यो आनलाई दिएँ । सानोभन्दा सानो कुरा आफूले लिएपछि उपहार दिएर फर्काउनुपर्छ भन्ने जस्ता अनेकौं टिप्सहरु दिने मार्गदर्शक थियो मेरो लागि ।

  ०००

'साँझको खाना नेपाली' संयोजकको उद्घोषले निकै खुसी भएँ म । बेग्लै प्रकारको गन्ध (वा सुगन्ध), नून, तेल र पिरो नभएको खाना खाँदाखाँदा वाक्क भइसकेको थिएँ म । क्लासमा रहँदा झपझप निद्रा लागिरहने किन हो मलाई थाहा थिएन । यो देखिरहेको संयोजकलाई खानाको कारणले भन्ने भएकोले आजको कार्यक्रम तय भएको रहेछ ।

टोकियोको 'कान्तिपुर' रेस्टुरेन्टमा छिर्दा मलाई आफू नेपालभित्रै भएको जस्तो अनुभूति भयो । रेष्टुरेन्टमा बजिरहेको क्यासेटमा एकछिनपछि गायक रामकृष्ण ढकाल गुनगुनाउँदै थिए मेरै शव्दहरु –

    कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
    सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु ।

विभिन्न गीतहरु संग्रह गरिएको एउटा क्यासेटमा आफू पनि रहेको थाहा पाउर मलाई औधि खुसी लाग्यो र रेस्टुरेन्ट मालिक महिलालाई त्यो गीत आफूले लेखेको कुरा बताएँ । अनि उहाँले देखाएको हार्दिक सत्कारले हामी सबैलाई प्रभावित बनायो ।

अहिलेसम्म मैले नखुलाएको परिचय अब चाहिँ छताछुल्ल भएको थियो । गीत लेख्नु, कविता लेख्नु उनीहरुका लागि सम्मानजनक र अद्भूत कुरा थियो । के लेख्ने रु किन लेख्ने रु विषयवस्तु के हुन् रु जस्ता प्रश्नको उत्तर दिइसकेपछि बेलाबेलामा सम्बोधन गरिने 'मिस्टर नेपाल' बाट 'मिस्टर फिलोसफर' मा रुपान्तरित भइसकेको थिएँ म साथीहरुबीच ।

साथीहरुले अझ बढी आत्मीयता देखाउन थालेका थिए मलाई । मेरा लागि खानेकुरा छान्न र मसँगै बस्न, कुराकानी गर्न चाहन्थे धेरैजना । उनीहरुको आग्रह थियो - नेपाल फर्केर म त्यो समयको बारेमा लेखुँ  र उनीहरुमलाई पठाऊँ । बेलाबेलामा एकजना कार्यक्रम संयोजक जापानी मित्र 'सो.. भनेर अन्टसन्टको प्रश्न गथ्र्यो मलाई । जिरो हसाउँथ्यो खुसुक्क 'यहाँ जलिरहेको गन्ध आइरहेछ .... ।'

  ०००

समय बितेको थाहै भएन, आज एकदिन जापानमा भोलि त उड्नु थियो आफ्नै देशतिर । छुट्नुपर्ने दिन नजिक आउँदै गर्दा 'होम' होइन अब चाहिं 'एब्रोड सिक' हुने भयो भनेर रमाइलो गर्थे साथीहरु ।

अघिल्लो दिन बिहान सबैले आ-आफ्ना उपहार र कार्डहरु साट्यौं । मैले नेपाली कागजबाट बनेका डायरी, हस्तकलाका केही सामान, क्यालेण्डर र स-साना मूर्ति लगेको थिएँ । तर, समूहका साथीहरुका लागि भने 'नेपाल' लेखिएका स-साना खुकुरी थिए । कसैले रिङ, कसैले कार्ड, टाइपिन, अनेकथरि स्वभनियर साट्दै गर्दा साथीहरु भने भावनात्मक भइरहेका थिए ।

उपहार साटेर जब बाहिर निस्कदै थिएँ म, इभोन दौडदै आर्इृ ढोकानेर र अघिनेर भर्खर दिएको खुकुरी फिर्ता गर्दै भनी- 'यो तिमी नै राख ।'

मैले ट्वाल्ल परेर हेरिरहेँ र मनमनै दुःखी भएँ । उसको यो व्यवहार मेरा लागि अप्रत्यासित थियो । उसको अनुहार सधैंझैं उज्यालो थिएन । तर, मैले केही सोध्न नभ्याउँदै फनक्क फर्केर हिँडी ऊ ।

साँझ बिदाई रात्रीभोज तय गरिएको थियो । र, केही समय सामान प्यक गर्न छुट्याइएकाले म कोठामा फर्कें । कपडाहरु सुटकेशमा राख्दै सामानहरु प्याक गर्दै जाँदा जब साथीहरुले दिएका सामान राख्न थालें- मन एकतमासले अमिलियो । एक प्रकारको खन्नता र उदासी कोठामा वयाप्त थियो । जीवनको एक महत्वपूर्ण अध्याय थियो यो मेरा लागि- यहीबाट हेरेको थिएँ मैले पहिलोपल्ट बाहिरी संसार ।

छोडेर जानु छ- अब यी सम्बन्धहरु यहाँ । सामान प्याक गर्न छोडेर म कविता लेख्न बसें । केही हरफहरु यसै लेखे मानौं पहिले नै कण्ठस्त भएको होस् । तर, धेरैबेर लाउँदा पनि कविता पूरा भएन । बिदाइको रात्रीभोजमा मलाई यो कविता सुनाउनु थियो र भन्नु थियो - 'मानिसभन्दा प्रिय केही छैन यो दुनियाँमा ।'

कहिलेकाँही एकै सिटिङमा सकिने कविता आज घन्टौं कोसिस गर्दा पनि टुंग्याउन सकिएन ।

म कलम बनद गरेर बाहिर निस्कें । सबैजना जम्मा भइसकेका रहेछन् । हामी हिँड्दै गर्दा इभोन मनेर आई र भनी- 'तिमीलाई नरमाइलो लाग्यो होला रमेश, मलाई माफ गर्नु खुकुरी उपहार लिँदा त्यो मित्रता वा सम्बन्ध विच्छेद हुन्छ भनी विश्वास गर्ने हाम्रो संस्कार छ ।'

'मानिसलाई नचिन्ने मेरो कमजोरी छ, कम बोल्ने बानी भएकोले म तिमीलाई घमण्डी सोच्दथें तर मैले भेटेका धेरै मानिसहरुमध्ये तिमी एकदम शान्त र असल मानिस हौ । हाम्रो सम्बन्ध पछिसम्म रहोस् भनेर मैल खुकुरी फर्काएँ तर भोलि एउटा क्वाइन (पैसा) दिएर म त्यो सोभनियर लिन्छु है ।'

अविस्मरणीय रह्यो त्यो बिदाईको साँझ, गह्रौं थिए मनहरु तर पनि कसैले पेट मिमिची हँसाउने गरी नाचे, कसैले जोकहरु सुनाए र अन्तमा आफ्नो सुरिलो आवाजमा थायो कसैले टाइटानिक फिल्मको प्रिय गीत- माइ हार्ट वील गो अन ... । 

  ०००

जहाज चढ्नुअघि मैले हेरें नारिता एयरपोर्टमा लहरै देखिने जहाजहरु । आउँदै गरेकाहरु- जाँदै गरेकाहरु । यो एक वर्षादी दिन थियो र पग्लिरहेको थियो आकाश ।

एयरपोर्टबाट क्रमशः एकएक गर्दै बिदाई भएका थिए साथीहरु । कसैको थियो उदास अनुहार, कसैको थियो आँखामा आँसु । साथीहरुको अनुहार आँखाभरि आउँदा कताकता मलाई आफू त्यहीँ कतै छुटेजस्तो अनुभूति भइरह्यो ।

अचानक सम्झिएँ मैले अधुरो कविता । फेरि कलम समाएर थप्न थालें बांकी हरफहरु । अब भने एकैछिनमा कविता पूरा भइसकेको थियो । एयर होस्टेसले छोडेर गएको कफीको मन्द बासना थियो वरिपरि । झ्यालबाहिर हेर्दै छुटेका अन्तरंग मित्रहरुलाई सम्झिँदै, मैले मनमनै भनिरहेको थिएँ- 'असल मानिसहरुले गर्दा सुन्दर छ यो संसार !'

यसरी बिदाइको रात्रीभोजमा सुनाउन नसकेका कविता 'घर फर्किरहेको मानिस' संग्रहमार्फत् दुनियाँलाई सुनाएँ मैले धेरै पछि । शीर्षक थियो- 'टोकियोमा एक दिन ।'
भोलि– म हुनेछैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास
सुस्तरी छोएर चेरीका फूलहरू

जसरी फर्किन्छन् लहरहरू समुद्रका किनारबाट
कि त्यसरी– जसरी फर्किन्छ साँझको पंक्षी आफ्नै गुँडमा

फर्किदा लिएर जानेछु म
नोभेम्बरका एक दर्जन दिनले बुनिएको
हस्तकलाजस्तो सम्झनाको सोभनियर
हार्दिकताको गुलाफी फूल र एउटा प्रेमगीत

अहिले– काँच फुटेको अनुभूति छ छातीमा
मानौं– बाँसुरीको धुनजस्तो आवाजमा भनिरहेछ कसैले
टाढा नेपथ्यबाट
सायोनारा... मेरो प्रिय सायोनारा.... सायो... ना... रा...

घर पुगेर पनि आधी त छुट्नेछु म यहींँ
माउन्ट फुजी वरिपरि, समुद्रको किनारमा
वा नारिता एअरपोर्टको छेउछाउ कतै

फर्केर जाने मैले लिएर जाऊँला जापानी आँखाको बिम्ब
सिंगापुरियन आँसु वा थाइ हाँसोको तस्बिर

मानिसहरूबीचको प्रेम नै हो स्वर्ग
जो म छुटेको हुँला यहाँ
त्यसलाई मायाले सम्हाल्नू– तिमीले मेरो मित्र !

नागरिक
शनिबार, २१ पुष, २०६९
Saturday, 5 January 2013

No comments:

Post a Comment