Tuesday, January 1, 2013

घर फर्किरहेको मानिससंग क्षितिज

- दुर्गालाल केसी

दाङ-  कवि तथा गीतकार रमेश क्षितिज स्थानीय विकास अधिकारी हुन् तर उनको पहिचान अझै पनि कविकै रुपमा छ । गृहजिल्ला दाङ आयो कि उनी कविता कार्यक्रममा झुल्किहाल्छन् । उनै कविको मदानी साहित्य  समूहले जिल्लाका साहित्यप्रेमीमाझ उनै कविको दोस्रो कविता संग्रह 'घर फर्किरहेको मानिस' बारे हालै चर्चा गरे ।
दर्शक श्रोतामाझ कवितासंगै उनी रचना गर्भ पनि सुखाइरहेको थिए । मैले कुण्ठा, निराशा र आग्रह पूर्वाग्रहलाई कवितामा कतै पनि ठाउं दिएको छैन, उनले भने, मान्छेका मनमा आशा, उत्साह र भविष्य देखाउन मेरा कविताले भूमिका खेलेका छन् । कोठामा बसेर वा जबर्जस्त पात्र निर्माण गरेर कविता लेख्न नसकिने बताउँदै क्षितिजले पात्रहरुसँगको प्रत्यक्ष वार्ता वा जीवनचर्याले नै कविता लेख्न ऊर्जा मिल्ने बताए । आफ्नो कविता संग्रहमा रहेका सबै कविताहरु कुनै न कुनै प्रसंग र घट्नासँग जोडिएको उनको दाबी थियो । जापानबाट फर्कँदै गर्दा लेखिएको कविता सुनाउँदै उनले कवितामा राष्ट्रियताको भावना आउनुपर्ने विचार व्यक्त गरे, र सुनाए -

भोलि म हुने छैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ
बतास
सुस्तरी छोएर चेरीका फूलहरु

शान्तिप्रक्रियापछि रोल्पा जाँदा देखेका युद्धका घाउ र द्धन्द्धपीडितका कहालीलाग्दा दुःख पनि कवितामा उतारेको उनले बताए । 'मैले रोल्पाका दुर्गम गाउँगाउँ पुग्दा सबैजसो द्धन्द्धपीडित देखे', उनले भने, 'राज्य पक्ष होस् या विद्रोही, सबैले रोल्पालीलाइू दुःख दिएका छन् ।' 'बेपत्ता' शीर्षकको कविता रोल्पामै रहँदा लेखेको प्रसङ्ग कोट्याउदै उनले भने, 'मान्छे मारियो भने बरु त्यसको पीडा कम हँुदोरहेछ तर बेपत्ताका परिवारहरुको पीडा यति दर्दनाक छ कि लेख्नै कठिन हुन्छ ।'

कविता संङ्ग्रहमा समावेश 'बेपत्ता', 'लडाकुको रुमाल', 'टोकियोमा एक दिन', 'सानिमा' र 'बाँकी कथा' शीर्षकका पाँचवटा कविता वाचन गर्दै उनले साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाए । भावी योजना सुनाउदै क्षितिजले कविता लेख्नकै लागि आफू केही महिनाअघि भारतको धार्मिकस्थल माउन्टआबु पुगेको बताए । अब दार्शनिक र संस्कृतिसँग सम्बनिधत कविताहरु लेख्ने योजना बनाएको उनले जानकारी दिए ।

क्षितिजका  कविताको समीक्षा गर्दै युवा साहित्यकार टीकाराम उदासीले कवितामा विम्ब, कला चेतना र दर्शन तिनै क्षेत्रमा निकै सशक्त र प्रभावशाली भएको बताए । वसन्त विवश आचार्यले क्षितिजका कवितामा दृश्यसँगै परिस्कृत भाषा र ग्रामीण विम्ब प्रयोग भएको बताए ।

कान्तिपुर
मंगलबार, १७ पुष , २०६९

(Tuesday, January 1, 2013)

No comments:

Post a Comment