Saturday, October 5, 2013

दशै संझे, तिहार संझे ..!

नागरिक, १२ असोज २०७०
~ रमेश क्षितिज

रमेश क्षितिज
त्यसो त दशैका आर्थिक, सामाजिक, सास्ंकृतिक आदि बहुआयमिक स्वरुपहरु छन् तर आज म पस्छु बाल्यकालको स्मृतिसुरुङभित्र !

दशैंको मानौं लामो प्रतिक्षा हुन्थ्यो हामीलाई । नयाँ लुगा लगाउने, मिठो मसिनो खाने र रमाईलो गर्ने अवसर हुन्थ्यो त्यो बेला । बर्षमा एकपल्ट घरलाई रङगाएर चिटिक्क पारिन्थ्यो र त्यो देखिन्थ्यो नयाँ कपडा लगाएको कुनै बालकझै । गाउँलेहरु जम्मा भएर बाटाघाटा र चौकहरुको ममरत र सरसफाई गर्थे । धारा, कुवा र जरुवाहरुको समेत रुप फेरिन्थ्यो त्यसवेला । वरपिपलको रुखको हाँगामा बाधेर वा बाँसहरु ठढ्याएर पीङ वनाईएको हुन्थ्यो गाउँमा ।

बाल्यकालको दशैको एक आकर्षक पक्ष हुन्थ्यो – नयाँ कपडा । आँगनमा ‘खर्रर’ कलको आवाज बजेर दशै नजिक आउदै गरेको संकेत गर्दथ्यो । हात पर्नासाथ कपडा लगाएर छिमेकी घरमा पस्थ्यौ हामी । ‘हेर, यसले त नयाँ कपडा लाएछ’ नभनुन्जेल कपडा देखाउन यताउती फर्याकफुरुक गरिरहने कसरत हुन्थ्यो ।कतिखेर नयाँ कपडाको चर्चा होला र ‘बुवाले ल्याईदिनु भएको दशैंको लागि’ भन्ने अवसर प्राप्त होला भन्ने तिब्र प्रतिक्षा रहन्थ्यो मनमा । अझ कहिलेकाही यसो पनि भनिन्थ्यो ‘यो त डबलनेटको कपडा हो एकदम राम्रो ।’ कहिलेकाही कसैले नोटिस गरिदिएन वा केही भनिदिएन भने शुरु हुन्थ्यो फेरी अर्को घरमा पस्ने क्रम ।

दशैंमा गाउँ फर्किन्थे लाहुरेहरु । लाहुरेप्रति एक प्रकारको आकर्षण हुन्थ्यो मलाई । कालापहाडबाट फर्किने सवै सवै आफूलाई लाहुरे भन्थे । काँधमा ठूलो रेडियो भिरेर, मिठा मिठा गीतहरु घन्काएर गाउँनै थर्काउथे उनीहरु । युद्धका कथाहरु सुन्न पाइने, कहिलेकाही चकलेटहरु खान पाउने र कहाँ हो कहाँ आफ्नो गाउँभन्दा टाढाको प्रसंग र घटनाहरु सुन्न लालायित हुन्थे म । ती वाल्यकालका स्मृतिहरु जीवनभरी स्मरणीय हुँदारहेछन् । त्यसैले होला उदित नारायणले गाएको मेरो एक गीतमा लाहुरेको कथा यसरी आएको छ – उकालीकोे एक्लो वर उस्तै छ कि सुक्यो । कप्तान बाको लडाइको कथा कहाँ पुग्यो !

एक लाहुरे थिए – रावत काका । ईन्डियन आर्मीमा थिए उनी । गाउँलेहरु कुरा गर्थे ईन्डियातिर पनि घरजम थियो उनको । यहाँ पनि थियो उनको एक परिवार – एक श्रीमति र सानी छोरी । उनीसंग मेरो गहिरो मित्रता थियो किन किन । गाउँ आएको भोलीपल्ट नै सोधखोज गर्थे उनीहरु । डाडाँ पाखा, गाउँ  र चौतारीमा घुम्थ्यौं हामी । सफा लुगा लगाएर चिटिक्क परेर हिड्थे उनी । कहिलेकाही सिकार खेल्न हिड्थे मलाई लुरुलुरु पछी लगाएर अनि काँघमा बोकेको बन्दुक चौतारीमा ठड्याउदै भन्थे उनी “क्या नाम यही हातले खुकुरी उज्याएर ‘साला’ कति सत्रु गिडियो गिडियो । सोलह दिनतक जंगलै जंगल हिडेर बाचियो खानाविना – घाँसपात र नुनको टुक्रा खाएर पनि । लगाएको कपडा फुकालेर हातमा हल्लाएर हेलिकप्टरले देखेर रेस्क्यु ग¥यो एकदिन ।’ 

उनी पटक पटक भन्थे “तर तपाई चाही आर्मी होईन । ‘गभर्नर’ हुने, ‘अन्चलादेस’ हुने (भईहालू भने यी दुवै पद चाही नेपालमा छैनन् !) । 

जे होस् दशैं यस्तो एक चाड हुन्थ्यो जसले एकैपल्ट धेरै खुसीहरु लिएर आउथ्यो । 

प्रत्येकजसो दशैमा ‘खैरावाङ’ भगवतिको मन्दिर गएर दर्शन गर्नु अनिवार्यनै थियो । हाम्रो परिवारमा मन्दिरमा गएर पुजा गर्ने र रोट चढाउने चलन थियो । अरु अरुहरु भने बोका, राँगा हाँस वली चढाएर पनि पूजा गर्थे मन्दिरमा । मन्त्र, पाठ र श्लोकहरुको लययुक्त ध्वनिले वातावरणनै एकप्रकारको मिठासयुक्त र आध्यात्मिक लाग्दथ्यो ।

दसैंको विदाको भरपुर उपयोग गथ्र्याै हामी । लामो समय स्कूल विदा हुन्थ्यो । विदामा धेरै होमवर्क नदिने शिक्षकलाई राम्रो शिक्षकको दर्जा दिदै चंगा उडाउनु, डण्डिवियो, कर्पडी खेल्नु साहृै रमाइलो हुन्थ्यो । गाउको सिरानमा एउटा चिया पसलमा दुध घोटेर बनाएको साहृै मिठो मिठाइ पाइन्थ्यो । दशैमा पाएका दक्षिणा र आम्दानिको भरपुर उपयोग गथ्यौ हामी त्यहाँ । 

रिठ्ठा लाई दुईफ्याक पारेर कौडी खेल्थ्यौ । तिहारमा ठूला मान्छेहरुको खाल जमेको हुन्थ्यो । हामी गएर च्याखे खेलाडी बन्थ्यौ । तर त्यो ठूलो खेलमा हामी लाई कहिलेकाही ‘ल च्याखे आउट’ वा ‘भुराभुरी आउट’ भनिदिए पछि रिठ्ठाका कौडाले काम पाउथे । घरमा काठको दराज थियो बाहिर ताला लगाएको तर पल्ला उठाएपछि खुल्ने । आमा त्यस भित्र रुपैया  र खुद्रा पैसा राख्नु हुन्थ्यो । ताला दुरुस्त हुदाहुदै म भित्रको पैसा निकालेर रिठ्ठाको कौडाको खाल हराभरा बनाउथे । कहिले  मन परेको मिठाईकालागि त्यो दराजको पल्लाले निस्वार्थ सहयोग गर्दथ्यो (धन्यवाद दराजको पल्ला !)

अहिले पनि दशैमा गाउँ जाँदा केटाकेटीमा संगै खेलेको एक थारु साथी टिल्ल मातेर दिउसै मत्थु भएर हिडेको हुन्छ, मलाई देखेर दौड्दै आउँछ र भन्छ ‘ग्वाचाली डस्यामन भेट हुइ कइकन कहल रलहु अइलो नस्से मजा लागल बा । टुहन् के सकु वात याद बा न ?
(साथी दशैमा त भेट होला भन्ने लागेको थियो तिमीसंग । आयौ खुसी लाग्यो । तिमीलाई पनि सबै कुरा सम्झना छ नि ?) 


चाँडवाडको सम्झना गर्दा मैले कहिल्यै नविर्सिने एक भाग हो मामाघर । ठूलो मामा मेरा नाता सम्बन्धहरुमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । सानैदेखि उहाँप्रति मलाई ठूलो सम्मान र आत्मीयता अनुभूति हुन्थ्यो । धेरै भान्जाहरु मध्य म सबभन्दा प्रिय भान्जा थिए उहाँका लागि । कदाचित् कुनै चाडवाडमा म गईनभने पनि मामाघरबाट लिन कोही न कोही आईहाल्थ्यो । 

हाम्रो गाउँबाट करिब १ घण्टा हिडेंपछि मामा घर पुगिन्थ्यो । ठूलो मामा पौरखी हुनुहुन्थ्यो । जतिसुकै घर विक्री गर्दै नयाँ बनाएपनि त्यहाँ हुन्थ्यो चिटिक्क बगैचा, थरिथरिका तरकारीबारी फलफूल र दुघ दिने गाईभैसीहरु । अनि चाडवाडमा खीर ललायत मिठा मिठा खानेकुरा खान पाईन्थ्यो मामाघरमा । प्रत्येकपल्ट घर फर्कदा मामा हातमा केही पैसा राखिदिनुहुन्थ्यो जसले गर्दा धेरै दिनसम्म मेरो पकेट गहुूगो भईरहन्थ्यो । 

हजुरआमा हुनुहुन्थ्यो जो म आउने बाटो हेरेर बस्नुहुन्थ्यो । मामाघरसंग गाँसिएका अनेक अनेक स्मृति छन् मसंग जो प्रत्येक दशैमा ताजा वतासजस्तो भएर स्पर्श गर्दछन् मलाई । 

अब हुनुहुन्न हजुरआमा, त्यो घर पनि छैन । मामाहरु बसाई सरेर कहाँ कहाँ पुग्नुभयो । कहिलेकाही गाउँ जादा आफू हुर्के खेलेको आँगन, हिडेको बाटो, बसेको चौतारी पुग्न मन लाग्छ मलाई । 
थारु गाउँमा करिब एक महिना नै नाचगान हुन्थ्यो । गाउँका तन्नेरीहरु मादल  बजाउने र वठिनियाहरु काँसको एक प्रकारको बाजा बजाएर नाच्ने गर्दथे । टहटह जून लागेको बेला कोठा सम्म आइपुग्ने बाजा मादल र त्यो लयात्मक कोरसले भने मलाई अनुभुतिमा मीठो संवेग दिएर जान्थ्यो । 


कलेज पढ्न काठमाण्डौं आएपछि संधर्षमय जीवनको शुरुवात भयो । खाना पकाउनु, कपडा धुनुजस्ता सामान्य कामदेखि अध्ययन र जागिरका कामहरु समेत दैनिकीमा परे । व्यस्त समय सधैको कुदाकुदवीच दशैमा घरजाने योजना सधै प्रियकर भईरहन्थ्यो । संयुक्त र ठूलो परिवार भएकोले सवैजना जम्मा हुनु आफैमा मिठो संयोग हुन्थ्यो । नवरात्रीभरि पूजा हुन्थ्यो घरमा र संगसगै उम्रिन्थ्यो खुशीको जमरा । काठमाण्डौं बस्दा पनि आमाले बनाएका सेल, काक्राको अचार र चहल पहल गाउँको याद भईरहन्थ्यो चाँडबाडमा । 

जम्मा दुई बस चल्दथे दाङ – काठमाण्डौं, टिकट पाउनु मुद्धा जिते जत्तिकै हुने । रातभरि छतमा उध्दै बुनोटमा र कहिले स्टुलमा बसेर यात्रा गरेको सम्झना भईरहन्छ अहिले पनि । तर दशैमा घर फर्किने कुराले तर महिनौदेखि रोमान्चकता ल्याईदिन्थ्यो । 

वि.स. २०५० को बर्ष जीवनको अहिलेसम्मको एकमात्र दशै हो जो घरभन्दा बाहिर बितेको छ मेरो । नजिकै तेस्रो बर्षका परिक्षा थियो छोटो अवधिमा दशैमा जाने र फर्किहाल्ने योजना बनाउदा मैले बसको टिकट पाउन सकिनँ । “मुनाल यातायातको नौलो प्रस्तुती डिलक्स कोच” मेरो लागि काम आएन । 

त्यति धेरी चहल पहल हुने काठमाण्डौं दशैमा सुनसान झै लाग्दथ्यो । म होटलमा खाना खान्थे घट्टेकुलोमा डेरा थियो । घरका अघिकांश मानिस गाउँ फर्किसकेका थिए । म बसेको तलामा घर नजाने एक्लो व्यक्ति थिएँ म । जति जति दशै जनिकिदै जान्थ्यो – काठमाण्डौको सुनसान र म भित्रको उदासी बढ्दै गईरहेको थियो । साथीहरु सवैजसो गाउँ गईसकेको थिए । टीकाको अधिल्लो दिन होटल मालिकले सुचना जारी ग¥यो – टीकाको दिन आफूहरु टाढा टाढा जानुपर्ने भएकोले होटेल बन्द । 

कहाँ खाने होला भन्ने सोच्दै कोठा फर्के । विभिन्न नाम र व्यक्तिहरु सम्झदै बसे र अन्त्यमा सोचेँ – रत्नपार्कतिर ‘रिमझिम’ छ त्यतै लाग्नु पर्ला । दशैंको दिन सवै मीठा मीठा खानेकुरा खाँदै रातो टीका निधारमा लाएर वाटोमा ओहरदोहर गरिरहेका देखिन्थे । म निस्केँ घरवाहिर तर रत्नपार्क त के पुरै काठमाण्डौं चक्कर लाइसक्दा पनि खाना खाने ठाउा फेला परेन । पसलहरु वन्द थिए र सुनसान सडकमा म घरि यता घरि उता कुदिरहेको थिएँ ।

अहिले जस्तो टेलिफोन मोवाइल थिएन । घरको वेजोडले सम्झना आइरहेको थियो । आमाले वाटो हेरिरहनु भयो होला, वहिनीहरुले नियास्रो मानेहोलान्, आमाले खानेकुरा भाग लाउनु भयो होला यस्तै सम्झिँदै काठमाण्डौका गल्ली गल्ली चाहार्दै हिँडेको थिएँ । मनको चङ्गा बेतोडले उडिरहेको थियो । उता घरमा सबै सबैले मलाई सम्झिरहेको वेला घरको एक्लो छोरो म एकछाक खानाको लागि भौँतारिरहेको थिएँ । दुई वज्दा पनि भोक टार्ने उपाय नभेटेपछि  म कोठामा फर्केर उदास भई बसेँ ।
त्यसैवेला सम्पूर्ण दृष्यहरु उर्लिंदै उर्लिंदै एउटा गीतमा पोखिए “दशैँ सम्झेँ तिहार सम्झेँ – सम्झे अरु चाडहरु । सोचेर बोझ विसाएजस्तो भयो, फेरी निस्के म केही खाजा सम्म पनि खाने ठाउँ भेटिन्छकि भन्दै ? साँझ सम्म पनि कुनै होटल, खाजा खाने ठाउँ नभेटेपछि  म कोठमा आएर एक्लै चुपचाँप बसे । 
थकित भोकले लखतरान र सम्झनाले पग्लिरहेको मैले राति करिव नौं बजेतिर झल्यास्स एउटा नाम सम्झे रेवत खरेल । उ कुनै अफिसमा काम गर्दथ्यो र दशैमा गाउँ गएको थिएन । भोकले तान्दै मलाई उसकहाँ पु¥यायो मैतिदेवीको एक अग्लो घरमा । ढ्कढ्क सुनेपछि उसले ढोका खोलेर हे¥र्यो । भित्र पस्नासाथ मैले स्टोभतिर हेरेँ त्यहाँ धोई पखालेका भाँडा र कुकर थिएँ । 

के छ खानपान भयो ? मैले सोधे । 

‘अघिनै मासुभात खाएर पल्टेको यार’ उसले प्रसन्न मुद्रामा भन्यो । मासुको रस र भात सम्झेपछि मलाई त झन् औडाहा भयो । उ मसंग कलेज पढ्ने साथी थियो तर म भोकै छु भन्न सकिन मैले । 

‘म जान्छु त है यसै पसेको’ मैले भनेँ हिड्न खोज्दै । 
अनि तिमिले खायौ त खाना ?
‘खाना......’ म अलिक अकमकाए । सायद उसले मेरो अनुहार पढ्यो र भन्यो ‘अलिकती मासु छ कुकरमा भात बसाईदिन्छु एकैछिनमा भईहाल्छनि के गरौं ? 

उसले त्यो भनेपछि म एकतमासले प्रफुल्ल भएँ । खाना पाक्दै गर्दा आईरहेको वासनाले झन मेरो भोक तीब्र भईरहेको थियो । त्यो रात खाना खाएर तृप्त हुँदै आफ्नो कोठा फर्के म । – रेवतलाई मनमनै धेरै धन्यवाद दिदै । 

‘दशै संझे तिहार संझे’ भरत लामाको संगीत र केशव उप्रेतीको स्वर रहेको यो गीत दशै तिहारमा एकदमै बज्ने गर्छ रेडियोमा । जब जब म यो गीत सुन्छु म फर्किन्छु त्यो प्रिय अतितमा आँखाभरी आउछन् भौतारिदै हिडेको काठमाण्डौंको त्यो भोको दिन, सुृनसान सडक, दशैंको त्यो बेला र रातमा गीतका अन्तराहरु गुन्गुनाउदै कोठा फर्किरहेको एक्लो म । 

chitizr69@gmail.com

नागरिक, १२ असोज २०७०
5 October, 2013


No comments:

Post a Comment