रमेश क्षितिज कवि/गीतकार |
सल्यानमा जन्मिए पनि मेरो बाल्यकाल दाङमा बित्यो। मैले आफ्नो बालापन रमाइलोसँग बिताएँ— खेल्दै, झगडा गर्दै। कहिलेकाहीं त स्कुलबाट भागेर जंगलमा बयर टिप्न, खोलामा पौडी खेल्न जान्थें। शनिबार गाईवस्तु चराउन गइन्थ्यो। म सानैदेखि कविता लेख्थें। चार कक्षा पढ्दा पहिलो पटक कविता लेखेको सम्भिmन्छु। यस्तै ६ मा पढ्दा होला नाटक लेखेको। त्यसपछि त स्कुलमा निरन्तर निबन्ध, कविता प्रतियोगितामा भाग लिन थालें। अतिरिक्त क्रियाकलापमा भाग लिन छुटाउदिनथें। गुरुहरू मेरो लेखनको प्रशंसा गर्नुहुन्थ्यो। मलाई थप हौसला मिल्थ्यो। अन्तरविद्यालय स्तरका प्रतिस्पर्धामा पुरस्कार हात पार्दा-पार्दै स्कुलमा मेरो चिनारी नै बेग्लै भैसकेको थियो।
स्कुल पढ्दा खुब उपन्यास पढियो। डायमनशमशेरको 'सेतो बाघ', रुद्रराज पाण्डेको 'रूपमती', माधव घिमिरेको 'गौरी', हिन्दी उपन्यास 'अके ला', धनुषचन्द्र गोतामेको 'घामका पाइला' मलाई अत्यन्तै मन परेका कृति हुन्। स्कुलको पुस्तकालयमा भएका सबै पुस्तक मैले छिचोलें। ९ कक्षा पढ्दा त थारु युवतीमाथि उपन्यास नै लेखें। रेडियोप्रति मेरो असाध्यै ठूलो लगाव थियो। म गीत सुन्थें। मलाई तिनले छुन्थे र प्रभावित तुल्याउँथे। आफूले पनि यस्तै गीत लेख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। एसएलसीपछि म काठमाडौं हिंडें— उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले।
ल क्याम्पसमा पढ्दा मेरो डेरा बागबजारमा थियो। मखनटोलमा एक रुपैयाँमै भिडियो देखाउँथ्यो— घरको छतमा। धेरै पटक भिडियो हेरियो। त्यसैबेला साहित्यिक पत्रिकाहरू मधुपर्क, गरिमा, नवनीत आदि पढ्न थालियो। बिस्तारै म कविता लेख्नतिर लागें। ०४५ सालमा पहिलो पटक 'मधुपर्क' मा कविता छापिँदा स्थापित साहित्यिकार भैसकें कि जस्तो लाग्यो। त्यसपछि रेडियो नेपालमा मेरो गीत रेकर्ड भयो। राजेशपायल राइर् ले स्वर भरेको 'तिर्खाएको काकाकुलसरि' मेरो पहिलो रेकर्डेड गीत थियो। बाटोमा हिंडिरहँदा कहिलेकाहीं रेडियोमा मेरा गीत बज्थे। म टक्क अडिन्थें। ध्यानपूर्वक सुन्थें, अनि खुसी हुँदै बाटो लाग्थें। मैले थोरै मात्र गीत, कविता लेखे पनि धेरै श्रोता र पाठकले रुचाइदिए। मेरा कविता -संग्रहहरू 'अर्को साँझ पर्खेर साँझमा', 'आफै आफ्नो साथी भएँ' निकै लोकपि्रय भए। कतिले उपहार दिन धेरै प्रति किनेर लगे। अहिले त बजारमा किन्न खोज्दा पनि भेटिँदैनन्। म एकदमै आशावादी मानिस। म आफ्ना सिर्जनाहरूमा पनि आशावादी सन्देश दिन चाहन्छु। यस्ता गीत लेखूँ जसलाई सुनेर मानिसमा आशा, चेतना एवं सकारात्मक भावना जागोस्। यस्ता कविताहरू कोरूँ जसलाई पढ्दा दार्शनिक चेतना र नयाँ विचार मिलोस्।
रहर र चाहनाले म साहित्यतिर लम्किएँ। मैले स्थानीय विकास अधिकारीका रूपमा सरकारी जागिर पनि सम्हालेको छु। यही सिलसिलामा केही वर्ष अघि मात्र म रोल्पा पुगें। रोल्पामा सशस्त्र द्वन्द्वले छोडेका घाउहरू मेटिएका थिएनन्। विकास-निर्माणका काममा संलग्न हुन म दूरदराजका गाउँहरूमा पुगें। गाउँलेका सुख-दुःख नजिकबाट बुझें। ममा मानिसप्रतिको माया, सद्भाव अझ बढ्यो। मेरो लेखनमा पनि यस्तै कुराले प्रेरणा दिइरहन्छन्।
म अहिलेसम्म बाँचेको जीवनप्रति सन्तुष्ट छु। फर्किएर हेर्दा कुनै गुनासो गर्न मन लाग्दैन, रमाइलो लाग्छ। संघर्षले नै जीवनमा सौन्दर्य झल्काउँदो रहेछ। २५ वर्ष मैले डेरामा बिताएँ। संघर्ष गर्नेहरूको जीवन रोमाञ्चक हुँदो रहेछ। आफ्नै संघर्षले यहाँसम्म पुगियो। अहिले कलेज जीवनका ती दिनहरू झल्झली सम्भिmरहन्छु। त्यो बेला कवि, गीतकार बन्ने, एल्बम, पुस्तक प्रकाशित गर्ने रहर जाग्थ्यो, जुन अहिले पूरा हुँदै छन्। खासगरी मलाई साँझको समयमा सिर्जना गर्न मन लाग्छ। घाम डाँडामाथि सर्दै-सर्दै जान्छ। जुनकीरीहरू बत्ती बाल्दै उडिरहन्छन्। बिस्तारै आकाशमा ताराहरू देखिन थाल्छन्। मलाई लेखनमा डुब्न मन लाग्छ।
No comments:
Post a Comment