धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013) मा Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा "शिविरबाट फर्केपछि" कविता वाचन गर्दै कवि रमेश क्षितिज
एउटा टुक्रा बगर - आँखामा नाचिरहन्छ
त्यो मसँगै टाँसिएर आएछ
एदास झुप्राहरु झझल्कोमा छन्
त्यो मसँगै गाँसिएर आएछ,
तीरै-तीर बग्न छोडर
कतिखेर परेलीमा उक्लेर बग्न थाल्छ कन्काई
मध्यरातमा,
थाहै हुँदैन कतिखेर
मनको घाइते परेवा भुर्र उड्छ
वेग हान्दै काट्छ सिमानाहरु,
सुम्सुम्याउँछ गोठहरु,
चर्केका घरका भित्ताहरु र तुलसीका मठहरु,
शिविरका प्वाल-प्वालबाट
चियाएर पर्खन्छन् आँखाहरु मुस्कुराउँदै हिँडेको
हुलाकी दिनलाई,
विधवाको सिउँदोजस्तो
अनन्तसम्म फैलेको बाटोमा सुनिन्नन्
कुनै पदचापहरु,
र पातका थाल समाएर नानीहरु
ओकल्छन् रुवाइका उदास धुनहरु,
चट्याङ पर्छ - झुप्राहरुमा पर्छ
झरी बर्सन्छ - झुप्राहरुमा बर्सन्छ,
तातो तावा बनेको छ भुइँ
ढुंगाको सिरानी लाउँदा-लाउँदै
ढुंगा बनेका छन् झुप्राका मान्छेहरु !
शिविर सधैँ
आँखामा नाचिरहन्छ अचेल,
सुकेको बन्सोजस्तो बनाउँछ मेरो मन
अनि प्रश्नै - प्रश्नको
डढेलो सल्काइदिएर उत्तर माग्छ मसँग
गुलाफका थुंगाजस्ता
नानीहरुका कोमल पाइताला नअट्ने
के यत्ति साँघुरो छ संसार र ?
रमेश क्षितिज
(अर्को साँझ पर्खेर साँझमा)
No comments:
Post a Comment