'हामी संघीयताको कुरा गर्छौं तर जात धर्म, भूगोल बिर्सेर कविताको हार्दिक सम्बन्धले मात्र पूर्वका पाठकहरूले आफ्नो मन पर्ने पश्चिमको कविलाई आमन्त्रण गरेर यस्तो भव्य कार्यक्रम आयोजना गर्नु आश्चर्यजनक घटना नै हो मेरा लागि,' पोखराबाट काठमाडौं हुँदै हतार हतार यही कार्यक्रमको अभिभावकत्व ग्रहण गर्न धरान आइपुग्नुभएका वरिष्ठ गायक, संगीतकार गणेश रसिक प्रमुख अतिथिको रूपमा यसरी बोल्दै गर्दा मेरो मन भने अनेक ज्वारभाटाहरू उठिरहेको समुद्रजस्तो भइरहेको थियो । कार्यक्रम समापनको नजिक नजिक पुगिरेहको बेला हलमा भरिएका पाठक श्रोताहरू भने शान्त मुद्रामा रसिक-मन्तव्यमा ध्यानमग्न थिए ।
जीवनको पहिलो तर अद्भुत एकल कविता वाचन सकेर मञ्चमा बसिरहँदा म भने मेरा आत्मीय पाठक- आयोजकहरूको आभारले थिचिएको अनुभूति गरिरहेको थिएँ । मनमा धेरै प्रश्नहरू अटेसमटेस थिए । लेखन यात्राको करिब २५ वर्षपछि जीवनमा कहिल्यै नटेकेको ठाउँ र कहिल्यै नदेखेका मानिसहरूले हृदय खन्याएर गरेको प्रेम र सम्मान-एउटा लेखकले आफ्नो जीवनकालमा पाएको सर्वाधिक महत्त्वको पुरस्कार थियो मेरा लागि !
000
'िसाथीहरू सबै उत्साहित छन्, यहाँले समय दिनुभए हामी एउटा कार्यक्रमको आयोजना गर्ने तयारीमा जुटिहाल्ने थियौं । त्यसमा पनि ढिलो नगरी माघ महिनाभित्रकै समय भए राम्रो हुने थियो ।' यो आवाज थियो नीला तामाङको । अफिसको क्यालेन्डर पल्टाएर हेर्दा मेरा लागि यो एकदमै व्यस्त हुनुपर्ने समय थियो ।
'घर फर्किरहेको मानिस' कवितासंग्रह प्रकाशनको तीन महिनामै पहिलो संस्करण सकिएको थियो । त्यसमा समेटिएका कविताहरूमार्फत म धरान पुग्नुअघि नै त्यहाँ उपस्थित भइसकेको थिएँ । धरानमा कवितासंग्रह छोटो समयमै बिक्री मात्र भएको थिएन 'फ्यान क्लब अफ रमेश क्षितिज'को रूपमा प्रशंसक पाठकहरू संगठित भएर एकल वाचन कार्यक्रम गर्ने तयारी भइरहेको थियो । उक्त समूहमा कमला लिम्बू, नीला तामाङ, पञ्चमाया ताम्ली, उमा मानन्धर विशेष रूपमा सक्रिय थिए र सँगसँगै थिए सिजन नयन, डा. कुम्भ जोशी, डा. मुकेश सिंह । समूहलाई सघाउने युवा कविहरू थिए हेमन यात्री र सुदीप पाखि्रन ।
म अलिक आश्चर्यमा थिएँ कविताका पाठकहरू कम छन् र धेरैजसो कविहरू नै कविताका पाठक हुन् भन्ने बहुप्रचलित मान्यताहरूविपरीत विशुद्ध पाठक र प्रशंसकहरूले गर्ने कार्यक्रम कस्तो होला, साहित्यकारहरूको उपस्थिति कुन रूपमा होला भन्नेजस्ता प्रश्नहरू उब्जनु स्वाभाविकै थियो । दाङमा राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दा कैयन रात आफू अनिँदो भएको सम्झँदै म एक प्रकारको उत्सुकताको बाटो हिँडिरहेको थिएँ । दाङबाट काठमाडांै आउने बाटोबाहेक पूर्वको कुनै पनि ठाउँ मैले कहिल्यै टेकेको थिइनँ । मनका थोरै उत्सुकता र उमंग बोकेर काठमाडौंबाट प्रस्थान गर्यौं हामीले- सँगै थिए फाइन पि्रन्टका अजित बराल र धरान निवासी पत्रकार रविन गिरी । 'घर फर्किरहेको मानिस' कवितासंग्रहको आवरणको कलात्मक तस्बिर खिच्ने पत्रकार गिरीसँग त्यसै दिन मात्र परिचय भए पनि पुस्तकसँगको परिचय भने नयाँ थिएन ।
काठमाडौंबाट केही पर देउराली पुगेर गाडी रोक्दा समय मनोहर थियो । हामीले हवाई यात्राभन्दा सडक यात्रालाई नै रोजाइमा राखेकोले बाटो वरपरका दृश्यहरू र स्थानहरूसँग परिचय गर्ने अवसर मिलेको थियो । फाट्टफुट्ट बादलको टुक्राहरू उडे पनि एकदम खुलेको थियो आकाश । एक कप चिया र केही खाजाले भोकको आगो निभाएपछि घुमाउरो बाटोभरि केही पुराना गीतहरू सुन्दै हामी अगाडि बढिरह्यौं । मलाई भने प्रत्येक दृश्य, प्रत्येक मोड नौला नौला थिए । पुराना घरहरू भएको ससानो बजार क्षेत्रमा पुगेपछि रविनले भने, 'यही हो भीमफेदी ।'
मैले इतिहासका विभिन्न प्रसंगहरू र विशेष त्रिभुवनकी एरिका भन्ने किताबलाई सम्भिmएँ । एरिकाले तत्कालीन राजा त्रिभुवनसँग भएको प्रेमपूर्ण सम्बन्ध र त्यसको वियोगान्त पटाक्षेपलाई मर्मस्पर्शी भाषामा लिपिबद्ध गरेकी छन् । मलाई असाध्यै मन परेको आत्मकथाको यो किताबले त्यसबेलाको इतिहास, भारतको भूमिका, प्रेमप्रति उनको समर्पणलाई सरल शैलीमा प्रस्तुत गरेको छ र त्यहीं कतै उल्लेख छ भीमफेदीको नाम ।
साँझमा धरानको होटल रत्न इनको अगाडि गाडी रोकिँदा हँसिलो मुद्रामा उपस्थित थिए पmयान क्लबका साथीहरू हातमा फूल बोकेर । सायद मलाई वर्षौंदेखि यही क्षणको प्रतीक्षा थियो चेतन अचेतन मनमा । एउटा कवि लेखकका लागि उसका पाठकले दिने प्रेम र सम्मान त ऊर्जा हो लेखनका लागि र यही नै हो प्राप्ति पनि सायद । त्यस साँझ हार्दिकतापूर्ण स्वागतपछि सँगै बसेर कफी पिउँदै गर्दा मैले मनमनै सोचिरहेको थिएँ मेरो जीवनका ती संघर्षमय दिन र वर्षहरू त्यसै खेर गएनन्, कविताका कारणले म जोडिएँ- कहिल्यै नभेटेका मानिसहरूसँग ।
000
भिोलिपल्टको दिन, झुल्केघाम खस्नुअघि नै अजित, म र हेमन यात्री होटलबाहिर निस्केर धरानलाई एक फन्को लगायौं । एक महिनामै तीन चारपल्ट पूर्व यात्रामा निस्केका अजितलाई हेमनको उपनाम 'यात्री' सापट दिनुपर्ने प्रस्ताव मैले राख्दा केही क्षण रमाइलो भयो ।
अजितले जिस्काए, 'तपाईंका प्रशंसकहरू धेरै रहेछन् । सेलिब्रेटी नै हुनुभयो ।' मैले रमाइलो गरे,ँ 'केही वर्षअघिसम्म कविले झोलामा आफ्नो किताब राखेर बाँड्दै हिँड्नुपर्ने समय थियो, अचेल प्रकाशकहरूको सक्रियताले दिन फेरिए । अब त तपाईंलाई आधुनिक मोतीराम भन्नुपर्छ कि क्या हो ?' हेमनले थपे, 'होइन दाजु उत्तरआधुनिक मोतीराम भन्नुपर्छ ।'
त्यस दिन पmयान क्लबका मित्रहरूले सँगै खाना खाने र विभिन्न ठाउँ भ्रमण गर्ने कार्यक्रम राखेका थिए । १०/१५ जनाको हाम्रो समूह भेडेटार हुँदै तमोर नदीको किनारसम्म पुग्यो । त्यहाँको सङ्लो पानीमा हात चोपल्दै मैले शान्ति र शीतलताको अनुभूति गरेँ 'जिन्दगी यही तमोरजस्तै हुँदो हो त... गतिशील, कञ्चन र संगीतमय... !
बुढासुब्बा, पिण्डेश्वर, विजयपुर र विभिन्न मन्दिरहरूमा लगेर मेरो पहिलो धरान भ्रमणलाई साथीहरूले स्वणिर्म र स्मरणीय बनाइदिए । स-साना आवासीय घरहरू, घरअगाडिका चिटिक्क बगैंचा, सफा बाटाहरू हेर्दै हिँड्दा मलाई त्यहाँको पुरानो सभ्यता र संस्कृतिका बारेमा धेरै जानकारी प्राप्त
भयो । पश्चिमबाट गएको मानिसम पूर्वको हार्दिकता, खुलापन र ख्यालठट्टाले दिनभरि प्रभावित बनाइरह्यो । त्यहाँ
बिताएको सुन्दर समयको तस्बिरलाई क्यामेरा र मन
दुवैमा कैद गरेँ मेले ।
000
अिाज २०६९ माघ २७ गते, एकछिनमा कार्यक्रम सुरु हुनेछ- मैले वाचन गर्नेछु मेरा पि्रय कविताहरू । बिहानभरि वर्षौंअगाडिका मित्रहरू भेट्दा पुराना दिनहरूको झझल्को आइरह्यो । कार्यक्रमअघि नै कवि विवश पोख्रेल, गोकुल अधिकारी, मनु मञ्जिल, उमेश राई अकिञ्चन र रेखा सुवेदी सुविद गुरागाई आदिसँगको भेटले समय रोमाञ्चक भइरह्यो । दमकबाट आएका किसन अञ्जान र अन्य कतिपय मित्रहरूले उपहारहरूसहित भेट गर्दा मन यसै यसै फुरुङ्ग भएको थियो । इलाम, झापा, पाँचथर, ताप्लजुङ, मोरङ, सुनसरीलगायत पूर्वाञ्चलका धेरै ठाउँबाट आएका कवि साहित्यकार र प्रशंसकहरूको अपूर्व जमघटले एकतमासको उत्साह उमंग र भावुकताबाट हृदय भरिएको थियो मेरो ।
कविता वाचन गर्नुपूर्व क्लबको तर्फबाट सम्मान, उपहार र प्रशंसापत्र प्रदान गरिएको थियो । थोरै बोल्ने अजित बरालको आजको लामो वक्तव्य ओजपूर्ण थियो । नीला तामाङले प्रदान गर्नुभयो मलाई एक गह्रौं फाइल जसमा थिए कहिलेदेखि प्रकाशित मेरा रचना, मेरो पुस्तकका समीक्षा र समाचारहरू विभिन्न पत्रिकाका कटिङहरू । मञ्चमा त्यही फाइलका पाना पल्टाउँदै कवि मित्र मनु मञ्जिल भनिरहेका थिए, 'सबैभन्दा आश्चर्यजनक उपहारचाहिँ यही लाग्यो ।'
पछि काठमाडौं फर्किंदा बाटोभरि रविन गिरी भन्दै थिए, 'त्यो कामचाहिँ प्रशंसकले मात्र गर्न सक्छ ।' कवि मनु मञ्जिलको काव्यात्मक टिप्पणी कार्यक्रमको एक आकर्षण थियो, साँझझैं । होटल रत्न इनको सभाहलको मञ्चमा बसेर हेरें मैले दर्शकदीर्घातिर । खचाखच भरिएको हलको पहिलो आसनमा हुनुहुन्थ्यो कवयित्री कुन्ता शर्मा, वम देवान, बद्री पालिखे, वेणु आचार्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्याक्ष डा. विक्रम श्रेष्ठ, डिन प्रो. धु्रवकुमार उप्रेती, डा. भीम खतिवडा र अरू प्रतिष्ठित कवि साहित्यकार ।
शान्त वातावरणमा तीन घन्टा अनवरत चलेको कार्यक्रममा मैले सुनाएँ- लडाकुको रुमाल, एउटा मानिसको प्रस्थान, अँगेनाछेउ गरेको बकसपत्र, कुभिन्डे दहलगायत 'अर्को साँझ पर्खेर साँझमा' तथा 'घर फर्किरहेको मानिस' कवितासंग्रहका केही पुराना र अन्य नयाँ कविताहरू । कुनै संस्थागत संलग्नता नभएको आफूले पैसा उठाएर विशुद्ध पाठक र कविताप्रेमीले आयोजना गरेको यो कार्यक्रम धेरै कुराको संकेत गर्दथ्यो ।
कार्यक्रम सुरु गर्नुअघि शुभकामना दिन लाग्नुभएकी कमला लिम्बूलाई मैले भनें, 'महिनौंदेखि समय खर्च गरेर आपmनै खर्चमा यत्रो कार्यक्रम गरिरहनुभएको छ, खोइ मैले कसरी धन्यवाद दिनु ?'
होइन, होइन हामीले जे गर्यौ त्यो आफ्नो खुसीको लागि गर्यौ । आफ्नो खुसीका लागि यो सव गर्नु स्वाभाविक होइन र ? उहाँको कुरा सुनेपछि मेरा शब्दहरू कमजोर भए, केही भन्नै सकिनँ । भोलिपल्ट बिदाइका बेला 'यहाँहरू आइदिनुभएर हाम्रो मन राखिदिनुभयो, साह्रै खुसी लागेको छ,' भन्ने वाक्यका लागि धेरैबेर कोसिस गर्दा पनि कुनै उपयुक्त वाक्य नभेटेपछि म चुपचाप गएर गाडीमा बसें धरानका लागि समर्पित गर्दै यही कार्यक्रम सुनाएको आफ्नो कविता केही पंक्ति सम्झँदै । ती स-साना घरहरू, रूख र बाटोलाई पछाडि पछाडि छोड्दै काठमाडौंतिर अगाडि बढिरहँदा म बाहिर एकदम शान्त थिएँ तर आँधीमय क्षणमा हल्लिरहेको वृक्षहरूझैं मनभरि फरफराइरहेका थिए स्वणिर्म सम्झनाका पताकाहरू ।
पछाडि पछाडि हुँदै गएको धरान मनमा भने अझ नजिक नजिक आइरहेको थियो !
प्रकाशित मिति: २०६९ फाल्गुन ५ ०९:४०
No comments:
Post a Comment