Saturday, October 5, 2013

धुपीको बोट भएर

म ओइलिन्न कहिल्यै
भइरहन्छु सदैव हरियो- निहुरिन्न सानै हुरीले,

मेरा कलात्मक पातहरुमा- प्रकृतिको सीप छ पोखिएको
जहां अल्झिन्छन् झरीमा पानीका थोपाहरु
र टल्किबस्छन्- वर्षौपछि बिनाखबर
ढोकाअघि उभेको प्रिय खसमलाई देखेर
गालामा बगेको खुशीका आंसुझै- कुनै स्वास्नीमानिसका,

चर्को घामको फोहोरा खसिरहंदा आकासबाट
मेरो फेदमा सुस्ताउनेलाई- मैले दिएको छु शीतल छाया
मेरो निधारमा चुमेर जाने आत्मीय बतासलाई
मैले पनि अर्पेको छु न्यानो आलिंगन
र भनेको छु- फेरिफेरि भइरहोस् भेट जीवनभरि,

यी जराहरु फैलिएका- मेरा विश्वास हुन्
यी हांगाहरु उचालिएका मेरा आशा र सपनाहरु हुन्
म जिउंदो छु हृदयमा प्रेम र करुणाको हरियो सांचेर
मेरो चुपचाप उभिनु-
उमंगको दर्शन हो एकान्तको संवाद बुझ्नेलाई !

तिमी फर्केर आउनु कुनै दिन यो बाटो
ठीक यहीं हुनेछु म
वर्षौवर्षसम्म हरियो धूपीको बोट भएर ।

- रमेश क्षितिज

मिति :१९ असोज २०७०
अन्नपूर्ण पोस्ट दैनिक



No comments:

Post a Comment