काठमाडौंमा दिन बिराएर नयाँ पुस्तक विमोचन भइरहेका छन् । र, सबैभन्दा बढी हल्ला उपन्यासको भइरहेको छ । पुस्तकको चर्चा धेरै पक्षले प्रभावित हुन्छ । पहिलो, बिक्री । दोस्रो, पुरस्कार र सम्मान । तेस्रो, पुस्तकको गुणवेत्ता । पछिल्लो समय अर्को पक्ष पनि शक्तिशाली भएर आएको छ, बजार हल्ला वा स्क्यान्डल । तर, जे भए पनि बिक्रीका हिसाबले उपन्यासले अरू विधाका पुस्तकलाई पछाडि पारिरहेको देखिन्छ । त्यसो त, देशका चर्चित ठूला दुई पुरस्कार नै पनि उपन्यास विधाले नै हात पार्नुले यस्तो भएको हुन सक्छ ।
उपन्यासले छोपेको बजारमा सबैभन्दा धेरै लेखिने तर अरू विधाको तुलनामा सबैभन्दा कम पढिने कविताको हालचाल कस्तो होला ? के कविता पनि यही समाजमा जमिरहेको छ ? कवितामा पनि दम बाँकी छ ? यी प्रश्नको चोटिला जवाफ कवितामा नै साधना गरिरहेका कवि रमेश क्षितिजबाट अपेक्षा गर्न सकिन्छ । उसो त, रमेशको पछिल्लो कवितासंग्रहले बिक्रीका हिसाबले पनि राम्रो गरिरहेको छ । घर फर्किरहेको मानिस छोटो समयमा नै तेस्रो संस्करण छापियो । उनी भन्छन्, ‘म त कवितामा दम देखिरहेको छु, कविताको सम्प्रेषणमा ठूलो शक्ति हुन्छ । त्यस्तो शक्तिले तत्कालै आममानिसमा ल्याउने चेतना र मनमा भएको व्यवस्था परिवर्तन गर्न सक्ने त इतिहासले पुष्टि पनि गरिसकेको छ ।’
रमेशसँग कविताका शक्ति देखाउन कैयौँ उदाहरण छन् । तर, त्यसका लागि अगाडि समस्या देखिइहाल्छन् । कविहरूले आफ्ना कुण्ठा कवितामा पोख्न थालेपछि उनको जस्तै कवितालाई माया गर्ने अरूलाई पनि दुखेको पक्कै हुँदो हो । ‘कविले सिर्जनाको माध्यमलाई आफ्नो कुण्ठा पोख्ने थलो बनाउनुहुँदैन,’ उनी भन्छन् । आफ्ना विरह र कुण्ठाले त कविताको सौन्दर्यलाई कुरूप बनाउने उनको तर्क छ ।
दाङमा बाल्यकाल बिताएका रमेश समाजका धेरै कुरा नै कवितामा आउन नसकेको बताउँछन् । हुन त, त्यसको विशेष कारण पनि छ, हाम्रो समाज त्यति परिवर्तन भइसकेको छैन । ‘अहिले पनि भूपिका कविता हाम्रो समाजअनुसार हुनुले त्यसको पुष्टि गर्छ,’ उनी भन्छन्, ‘अहिले कवितामा मात्र होइन, समाजमा पनि नयाँ धार आएको छैन ।’ तर, कविताका विम्ब, प्रतीक र मिथकले पनि समाजलाई प्रतिबिम्बित गर्न सक्ने उनको धारणा छ । उनका लागि कविताको आफ्नै चाहना छ । हुन त, केही मानिस दुरुह भएकै कारण कविता पढ्न रुचाउँदैनन् । कति कविता त पढेर बुझ्नै नसकिने पनि हुन्छन् । रमेशसँग कविताका लागि नयाँ परिभाषा छ, ‘कविता सम्प्रेषणीय हुनुपर्छ । कविताका प्रत्येक शब्द पाठकले बुझ्न सके भने त्यसले नयाँ अर्थ राख्छ ।’
हुन त, कवितामाथि नै धेरै छलफल पनि भइरहेका छन् । कतिले कवितामा क्रान्तिका कुरा लेख्नुपर्छ भन्छन्, कतिले कविताले तत्कालीन समयका विषयलाई छुनुपर्छ भन्छन् । कतिले त कवितामा नारा राखेर मानिसलाई जनचेतना दिने काम गर्नुपर्छ पनि भन्छन् । रमेश यी कुरासँग थोरै सहमत र धेरै असहमत छन् । ‘कविताले आफ्नो समय प्रतिविम्बित त गर्नुपर्छ नै, तर कवितामा सौन्दर्य, कला र विचारलाई सन्तुलन गर्न सक्नु कविको खुबी हो,’ उनीसँग कविताको प्रष्ट धारणा छ, ‘लोकप्रिय हुनका लागि मात्रै कविता लेखिनुहुँदैन ।’ उनी केका लागि लेख्छन् त कविता ? रमेशसँग कविता लेख्ने केही उद्देश्य हुन्छन् । उनी आफूलाई खुसी बनाउन कविता लेख्छन् । जब उनको मन खुसी हुन्छ, तब उनलाई त्यो खुसी समाज र बाहिर बाँड्न औधी मन लाग्छ । उनी आफ्नो दृष्टिकोण सबैले मान्नुपर्छ भन्ने त ठान्दैनन्, तर खुसी बाँड्दा झन् खुसी बढ्छ भन्ने उनलाई लाग्छ । ‘जति बाँड्यो खुसी, उति बढ्दै जान्छ,’ उनी भन्छन्, ‘म आफूलाई, अरूलाई इरिटेसन हुने कुरा कवितामा नआओस् भन्ने चाहन्छु ।’ तर, कहाँ सधैँ उनले सोचेको जस्तो हुन्छ र ? उनी पो सकारात्मक सोचिदिन्छन् । तर, के युद्ध भइरहेको ठाउँमा सकारात्मक सोच्ने कुनै ठाउँ होला जहाँ उनले सकारात्मक पक्ष टिप्न पाऊन् ? ‘पक्कै हुन्छ,’ उनी निर्धक्क छन्, ‘जब म युद्धभित्र लुकेका केही प्रेम देख्छु, त्यसले मलाई छुन्छ । हुन त, युद्ध आफैँमा नराम्रो हो, तर कवितामा युद्धका नराम्रा कुरा पोख्ने कि त्यहाँ हुन सक्ने राम्रा कुरालाई आफ्नो विषय बनाउने भन्ने प्रमुख विषय हो ।’
रमेशलाई कवितामा नवीनता हुनुपर्छ भन्ने सधैँ लागिरहन्छ । उनी कवितामा क्षणिक लोकप्रियताका विषय कत्ति पनि मन पराउँदैनन् । यसको सिलसिला लामो छ । उनी आफ्नो जीवनलाई नियाल्छन्, योजना बनाउँछन् र त्यही योजनाअनुसार कविता लेख्छन् । यसका उदाहरण उनका कवितासंग्रह हुन् । तीनवटा कवितासंग्रह निकालिसकेका उनी एउटै कुरामा खुसी छन्, ‘आजसम्म मलाई कवितामा एउटै विषय दोहोरियो भन्ने टिप्प्णी आएको छैन ।’ यही नै राम्रो र सफल हुन चाहने कविले याद गर्नुपर्ने पक्ष हो भन्ने उनको दाबी छ ।
तर, जति दु:ख गरे पनि आममानिसले किन कविता पढ्ने ?
‘ओहो, कस्तो मीठो विषय । आजसम्म जति प्रगति देखिएको छ, त्यसलाई फरक–फरक पक्षबाट कविताले नै गाइड त गरिरहेको छ,’ उनलाई लाग्छ, ‘कविताले दिने उत्प्रेरणा, साहस र हिम्मत अरू केहीले दिनै सक्दैन ।’ यसका लागि उनीसँग कैयौँ उदाहरण छन् । धेरै उदाहरण छन् नि भन्दा भन्दै उनी फ्याट्टै भनिदिन्छन्, ‘ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल कविताकै हरफ हुन्, त्यसले मानिसलाई कति शक्ति दिन्छ भन्ने त हामीले बुझ्न सकिन्छ ।’ हो, यसैमा दम देख्छन् रमेश ।
‘कविताले मानिसलाई बाँच्न सक्ने शक्ति दिन्छ,’ उनलाई कविताको दम थाहा छ, ‘मानिसमा निराशालाई फालेर आशा, नकारात्मक भावनालाई पन्छाएर जीवनप्रति सकारात्मकता, यथास्थितिवादबाट उठेर प्रगति सबैका लागि कविताले शक्ति दिन्छ ।’ तर, त्यसमा एउटा मीठो बन्देज भने पक्कै छ । मानिसले कविता पढेर शक्ति कसरी लिने भन्ने । अहिले सयौँ समस्यामा अल्झिरहेको मानिसका लागि त्यस्ता कैयौँ पुस्तक छन्, जसले नयाँ आश सञ्चार गरिदिन्छ । हो, त्यही शक्ति कवितामा पनि भएको रमेश दाबी गर्छन् । कविता लेख्नुपछाडि थुप्रै कथा लुकेको रमेशलाई बारम्बार आभास हुन्छ । जब ती कथाबाट शब्दहरू माझेर बाहिर ल्याइन्छ, त्यसले पक्कै पनि कविताको स्वरूप लिने उनमा विश्वास छ ।
कविता मनको कुरा हो । मनकै कुरा लेखिरहेछन् कविहरू । तर, त्यो मनको कुराले कति स्वच्छ बनाउँछ र शक्ति दिन्छ भन्ने प्रमुख पाटो भएको रमेशलाई लाग्छ । ‘मानिस बाहिरबाट हेर्दा जस्तोसुकै होस्,’ रमेश भन्छन्, ‘उसको मनको भित्री कुनाका आवाजलाई कविताबाट पोख्न सकिन्छ ।’ तर, रमेशसँग एउटा गुनासो छ । उनी कवितामा सत्य लेख्नुपर्ने बताउँछन् । नकारात्मक चित्र कोरेर कविताले कुनै प्रभाव नपार्ने उनी सोच्छन् । त्यसैले त उनलाई कविता अन्तिम सत्य हो भन्ने लाग्छ ।
‘कविता नै यो संसारको अन्तिम सत्य हो ।’
रमेश यही वाक्यलाई आफ्नो लेखनीको मूलमन्त्र बनाइरहेका छन् । त्यसैले उनी कवितामा सार्थक शब्द लेख्छन् र त्यसलाई जीवन्त बनाउन लागिरहेका छन् । यसका लागि उनी अध्ययनलाई प्रमुख प्राथमिकता दिन्छन् । त्यसलै उनी इतिहासको लगानीलाई थेग्ने गरी आफूले कविता लेखिरहेको बताउँछन् । तर, उनी आफ्नै समयमा पनि कविताका लागि कविता नपढ्ने संस्कार बढ्दै गएकोमा अत्यन्तै दु:खी छन् ।
उनी नेपाली समाजमा सबैभन्दा ठूलो प्रभाव कविताको नै भएको बताउँछन् । ‘सडकमा उत्रिएर लेखिएका कविता, नारा र कुनै पार्टीको मुखपत्रका लागि मात्र लेखिएका कविताले कुनै अर्थ नराख्दा हुन्, तर खास कविताले सधैँ समयमा राम्रो हस्तक्षेप गर्छ,’ रमेश भन्छन्, ‘समाजलाई कुन दिशामा लैजाने भन्ने निर्धारण पनि कविताले राख्ने शक्ति हुन्छ ।’
होइन, आजभोलि सहरमा जुरुकजुरुक बनाउने कविताको मार्केट छ । त्यस्ता कविताको डिमान्ड छ । रमेश त्यसलाई वाहियात भन्छन्, बढो मुस्किलले । ‘त्यस्ता कविता पनि नआएका होइनन्,’ उनको शालीनता फेरि राम्रोसँग एकपटक यहाँ झल्किन्छ, ‘संख्या र क्षणिक कविताले तत्काललाई मनोरञ्जन देला, तर वास्तविक कविताको शक्ति त्यसमा पाउन सकिँदैन ।
रमेशलाई कविताका सन्दर्भ सधैँ साँचो हुनुपर्ने लाग्छ । उनी अहिलेका कविले लेख्नुपर्ने कुरा हजारौँ भएको बताउँछन् । तर, कविहरू एक–अर्कासँग अस्वस्थ प्रतिस्पर्धा गर्न खोजेझैँ एउटै विषयमा मात्रै लेखिरहेका छन् ।
हो, रमेश यही कुरा बुझ्दैनन् । किन कविहरू लडिरहेका छन्, किन कविहरू गुटमा हिँडिरहेका छन् ? ‘राम्रो कविता लेखियो भने त त्यसमा कुनै गन्ध पक्कै भेटिँदैन होला नि,’ उनी भन्छन्, ‘त्यस्ता कविता सबैका प्यारा भइहाल्छन् ।’
कविताले सपनाको कुरा मात्र होइन, वास्तविक विषयलाई पनि कलात्मक ढंगले बाहिर ल्याउनुपर्ने उनलाई लाग्छ । त्यसैले, उनी कलात्मकतालाई विशेष प्राथमिकता दिन्छन् । कुनै पनि घटनालाई न्युट्रल भएर हेरेपछि मात्र उसले कविता लेख्नुपर्छ । नत्र, त्यो त पक्षपाती भइहाल्छ । त्यसैले, उनी कवि प्रत्यक्ष रूपमा कुनै पनि राजनीतिक दल वा झन्डाको तल बस्न नहुने बताउँछन् । उनी पार्टीमै लागे पनि कविले कलात्मकतालाई मार्न नहुने बताउँछन् । बिपी, कृष्णसेन इच्छुकहरू पार्टीमै आबद्ध भए पनि लेखनमा कलात्मकता र लेखन कौशलयुक्त साहित्यकार भएको उनलाई लाग्छ । उनी पार्टीको नामलाई बेचेर कोही पनि कवि नहुने बताउँछन् । उनी कवि नै भइसकेपछि कुनै राजनीतिक दलमा सक्रिय भएपछि कोही पनि कवि मात्र रहन नसक्ने बताउँछन् । हो, उनी त्यसैले निरपेक्ष लेखनमा लागिरहेका छन् । उनलाई लाग्छ, कसैले झन्डा बोकेर चुनावमा लाग्छ भने ऊ कवि होइन, त्यही पार्टीको कार्यकर्ता हुन्छ ।
‘पार्टीको झन्डा लिएर चुनाव प्रचारमा लागेपछि केको कवि ?’
नयां पत्रिका, राष्ट्रिय दैनिक
सोमबार २०७० असोज २१ (Monday, October 7, 2013)
No comments:
Post a Comment