समसामयिक नेपाली कविताको माहौलमा रमेश क्षितिज मावनीय भावनालाई प्रदीप्त पार्ने विषादमय अनुभूतिका विषय, लयात्मक सञ्चेतना र दृश्यबिम्बहरुको आयोजनाबाट प्रभावकारी वैचारिक झट्का दिन सक्षम कवि हुन् । उनको 'घर फर्किरहेको मानिस' (२०६९) यस्तो अनुभूतिमूलक झट्का दिने खालका कविताको सङ्कलन हो । उनका कवितामा पृथक् पृथक् बिम्बहरुको सहसंयोजन र शृङ्खलाबाट पाठकहरुको मनमा नवीन प्रभावको तीव्रता सिर्जना गरिएको हुन्छ । कवि क्षितिजका कवितामा दृश्यांश सिर्जना गर्ने बिम्बहरुको सघनता पाइन्छ र ती दृश्यबिम्बहरुलाई सिनेमामा जस्तो मोन्टाज प्रविधिले सहसंयोजन गर्दा कविको वैचारिकता भावमय हुन पुगेको छ । उनलाई कविता भनेको चारैतिर जीवन हेर्ने आँखा छोपिएको एक्काको घोडा होइन, बरु अर्धपारदर्शी खामले छोपिएको तर दूरतामा उज्यालोको सुरुङ देखिने चेतनाको अबिराम यात्रा हो भन्ने थाहा छ । रहस्य, जटिलता एवम् विविधताले भरिएको जीवनका आत्मिक अनुभूतिको एकान्तमय लय मिश्रित मधुर सङ्गीतलाई कोलाहलमय बोलीहरुको प्रतिनिधित्व गर्ने उपन्यासले पाठकसमक्ष सम्प्रेष गर्नु असम्भव नै हुन्छ । त्यसैले अहिले क्षितिजका मोन्टाजयुक्त कविताको महत्त्व रहेको हो ।
कविता र सिनेमाका अध्येता सुसन मोकाबे भन्छन्— ‘कविको वैचारिकता बिम्बमा बुनिएर भावमय भई आउनु उत्कृष्ट कविताको अभिलक्षण हो ।’ रमेश क्षितिजका कविता मानवीय परिचयलाई सर्वोच्चता दिन्छन् अनि बिम्बमय लयात्मक अनुभूतिलाई मोन्टाज प्रविधिले खिपिएका हुँदा ती सुन्दर बनेका छन् । त्यसैले क्षितिज समसामयिक कविताका सक्षम र सफल कवि हुन् ।
By Netra Atom
Facebook Status
July 21, 2013
No comments:
Post a Comment