मितिः माघ २० गते शनिबार, २०६९ गोरखापत्र
धरान समाचारदाता
धरान समाचारदाता
धरान, माघ १९ गतृे । पछिल्लो समयमा कविहरुको एउटै असन्तुष्टि सुनिन्छ- 'जति राम्रो कविता लेखे पनि के गर्नु, मान्छेहरु कविता पढ्नै छाडे ।' समालोचकहरुको पनि एउटै टिप्पणी हुने गर्छ- 'नेपालमा सबैभन्दा धेरै लेखिने तर कम पढिने विधा नै कविता हो ।'
तर धरानको वातावरण हेर्दा यी दुवै तर्क अर्थहिन लाग्छन् । यहांको एक साहित्यिक गतिविधिले कविताका सच्चा पाठकहरु पनि छन् र कविले निराश हुनुपर्ने अवस्था छैन भन्ने दर्शाएको छ । प्रसंग कवि रमेश क्षितिजको एकल कविता वाचन आयोजनाको हो । यो कार्यक्रम यही माघ २७ गते शनिबार धरान बगैंचा टोलस्थित होटल रत्न इनमा आयोजना हुंदैछ ।
कार्यक्रम कुनै साहित्यिक संस्थाले नभई क्षितिजका कविताका सचेत पाठकहरुको स्वतस्फुर्त आयोजनामा हुन लागेको हो । धरानका यो सचेत कविता पाठकहरुले फ्यान क्लव अफ रमेश क्षितिज नामक समूह नै निर्माण गरेका छन् र यही समूहले "क्षितिजका कवितासंग हामी" नामक रमेश क्षितिजको एक कविता वाचनको कार्यक्रम निश्चित गरेको छ । 'स्रष्टाको सम्मान हाम्रो उद्देश्य' नारासहित आयोजन गर्न लागिएको यो सशुल्क एकल कविता वाचनको टिकट दर ५० रुपियां तोकिएको छ ।
आयोजक समूहको एक सदस्य पञ्चमाया ताम्लीका अनुसार आफूहरु साहित्यका पाठक भएकोले पठन संस्कृतिको विकास र स्रष्टाको सम्मान एकसाथ गर्ने मनसायले कार्यक्रम आयोजना गरिएको हो । रमेश क्षितिज नै किन भन्ने जिज्ञासामा उहांले यो समूह क्षितिजका कविताबाट अत्यन्तै प्रभावित भएको बताउनुभयो । आजभन्दा १२ वर्ष अघि क्षितिजको 'अर्को सांझ पर्खेर सांझमा' र गत महिनामात्र विमोचित 'घर फर्किरहको मानिस' दुवै कवितासंग्रहहरु हेर्दा उहांका कविता ज्यादै शक्तिशाली लागेकाले क्षितिजलाई नै एकल कविता वाचनमा उभ्याउनुपर्छ भन्ने अवधारणा आएको उहांको भनाइ छ ।
समूहको अर्की सदस्य निला तामाडले साहित्य जगत्को समकालीन पुस्ताका अग्रणी युवाकवि रमेश क्षितिजका कविताहरु जीवनप्रति आशावादी, जन्मभूमिप्रति राष्ट्रवादी, चेतना तथा परिवर्तनका संवाहकका रुपमा रहेकाले उहां छनोटमा पर्नुभएको बताउनुभयो । यस कार्यक्रमबाट साहित्य पठन संस्कृतिको विकास संगसंगै साहित्य सेवामा टेवा पुर्याउने लक्ष्य पनि रहेको उहांले बताउनुभयो । 'कविताका सचेत पाठक नभएका कहां हुन् र यसलाई संस्थागत गर्न नसकिएको मात्र हो' भन्ने कुरा स्पष्ट गर्नलाई पनि कार्यक्रम आयोजना गर्न लागिएको उहांको भनाई छ ।
गीतकार समेत रहनुभएका क्षितिजका 'आफै आफ्नो साथी भए' नामक गीतसंग्रह र 'क्षितिज' नाम गिती एलबम पनि प्रकाशित गरिसक्नुभएको छ ।
—
No comments:
Post a Comment