Friday, February 1, 2013

धरानमा रमेश क्षितिजको फ्यान क्लब

धरान, माघ १८ (नागरिक) 

- गीतकार तथा कवि रमेश क्षितिज भाग्यमानी रहेछन् । यहाँका साहित्यप्रेमी पाठकहरु उनको पछिल्लो कृति घर फर्किरहेको मानिस (२०६९) बाट यति प्रभावित भए कि उनीहरुले 'फ्यान क्लब अफ रमेश क्षितिज' समूह बनाएका छन् ।
माघ २७ गते आयोजना हुने कार्यक्रमबारे जानकारी दिन भेला भएका रमेश क्षितिज फ्यान क्लबका सदस्यहरु
यही फ्यान क्लबको सक्रियतामा माघ २७ गते धरानमा छितिजका कविताहरुसंग हामी नामको एकल कविता वाचन र कवितामाथि चर्चा कार्यक्रम आयोजना हुँदैछ । यो क्लब रमेश क्षितिजका प्रशंसकहरुको स्वस्फुर्त जमात हो, समयचेतनाले भरिएका र सिर्जनाकौशलले खारिएका उहाँको कविताले नै हामीलाई जोड्यो, फ्यान क्लबका सदस्य कमला लिम्बूले भनिन ।


कविता निरन्तर अध्ययन गर्ने जमातबीच आपसी भेटघाट र फेसबुकमा कविता तथा कविताहरुबारे निरन्तर छलफल भइरहन्थ्यो । त्यसैक्रममा करिब दुई वर्षअघि साहित्यानुरागीहरुले फ्यान क्लबको अवधारणा ल्याएका थिए । साहित्यमाथि निरन्तरको अध्ययन, छलफलको क्रममा यो जमातले पछिल्लो पटक स्रष्टा रमेश क्षितिजको कवितासंग्रह घर फर्किरहेको मानिस पढेपछि उनको फ्यान क्लब बन्यो । "यो कवितासंग्रह पढिसकेपछि हामी कविता अनुरागी पाठकमित्रहरुबीच कवितामाथि चर्चा(परिचर्चा हुँदा उनका कविताहरु श्रेष्ठ र स्तरीय छन् भन्ने ठहर भयो, "  क्लबकी अर्की सदस्य पञ्चमाया ताम्लीले भनिन् । भविष्यमा अन्य उत्कृष्ट र शक्तिशाली कवि तथा स्रष्टाहरुलाई पनि पाठकमाझ उभ्याउने उनको भनाइ छ ।

 सुन्दर, शक्तिशाली र संगीतात्मक कवितामार्फत आफ्ना पाठकमा आशा, सम्भावना, चेतना र परिवर्तनको लहर ल्याउने क्षमता भएका स्रष्टासँग साक्षात्कार गर्ने र कविताको गहनता र वास्तविक सन्देशलाई अझ नजिकबाट बुझ्न कविकै स्वरमा वाचनको रसास्वादन गराउन स्रष्टालाई धरान ल्याउन लागिएको फ्यान क्लबमा फेसबुकको माध्यमबाट देश विदेशका साहित्यप्रेमी पाठकहरु पनि सदस्यको रुपमा छन् । यो क्लबमा साहित्यका विभिन्न विधामध्ये धेरैजसो कवितामा विशेष रुचि राख्नेहरुको जमात बढी छ ।

"यो कार्यक्रमले स्रष्टा र पाठकहरुबीच सामिप्यता मात्रै होइन, कविता अनुरागी पाठकहरुलाई संगठित बनाउने र मोफसलका पाठक पनि उत्तिकै साहित्य अनुरागी तथा क्रियाशील छन् भन्ने सन्देश दिने आशा राखेका छौं,"  सदस्य कमला लिम्बूले भनिन् । स्रष्टा स्वयम् उपस्थित भएर वाचन हुने कार्यक्रम सशुल्क (५० रुपैयाँ) रहनेछ । कवि तथा गीतकार रमशे क्षितिजको हालसम्म 'आफैं आफ्नो साथी भएँ' गीति संग्रह, 'क्षितिज' गीति एलबम निस्किएका छन् भने २०५७ सालमा 'अर्को साँझ पर्खेर साँझमा' र २०६९ सालमा 'घर फर्किरहेको मानिस' नामक दुई वटा कविता संग्रह प्रकाशित भएका छन् ।

नागरिक
शुक्रबार, १९ माघ, २०६९
Friday, 1 February, 201




No comments:

Post a Comment