धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013) मा Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा "एउटा मानिसको प्रस्थान" कविता वाचन गर्दै कवि रमेश क्षितिज
मानिस सर्वोत्कृष्ट कला हो संसारको
ऊ थयो भने ऊसँगै जान्छन्
कुनै सोचमा डुबिरहेजस्ता उसका गम्भीर आँखा वा दुर्लभ
मुस्कान
उसको सीप र कतिपय सहस्यहरु
जाँदा आफूसँथै बोकेर लान्छ उसले कल्पनाको ठूलो सहर
आफूले हिँडिसकेको समयको चौडा सडक
र बिताएको रोमाञ्चक इतिहासलाई रुमालझैंँ गोजीमा
हालेर
हिँडिदिन्छ ऊ कुनै अनिर्दिष्ट दिशातिर
कति रोएको थियो हृदयमा लागेका
चोटहरु एकान्तमा गन्दै
वा कति हाँसेको थियो यात्राका मिठा घटनाहरु सम्झिँदै
अनेकन यस्ता कथाहरु आफूसँगै लिएर
छोडेर जान्छ ऊ केवल केही धमिला सम्झनाहरु
एउटा मानिस गयो भने हुँदैन हजारौँ मानिसको
भीडमा ऊ
सुनिँदैन उसको स्वर र देखिँदैन अनुहार
भेटिँदैन कुनै पनि रात्रिभोजमा उसको सशरीर उपस्थिति
एउटा मानिस साँच्चै गइदियो भने
सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार ।
अभावको चस्माबाट हेरेपछि मात्र
हामी देख्दछौ टाढा गइसकेको मानिसको मूल्यको आकृति
तर सुन्दैन ऊ हाम्रो आवाज त्यसबेला र फर्केर आउँदैन
हामीछेउ
अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले ।
रमेश क्षितिज
(घर फर्किरहेको मानिस)
No comments:
Post a Comment