रोहित राई-
कवि रमेश क्षितिज |
चर्चित गीतकार तथा कवि रमेश क्षितिज शनिबार धरानमा पाठकहरुको मायाले नर्भस भएछन् । 'एउटा कविले पाटकहरुको माया, हार्दिकतापूर्ण प्रेमको आशा गरेको हुन्छ तर तपाईंहरुको यति धेरै माया र सम्मान पाएर म अहिले नर्भस भइरहेको छु,' फ्यान क्लब अफ रमेश क्षितिजले आयोजना गरेको कार्यक्रममा उनले भने, '२५ वर्षे मेरो साहित्यिक यात्रामा यो क्षण मेरो जीवनकै अत्यन्तै महत्वपूर्ण भएको छ ।'
स्रष्टा क्षितिज नर्भस नहुन पनि किन रु जीवनमा कहिल्यै प्रत्यक्ष भेटघाट नभएका साहित्यप्रेमीहरुले उनलाई धरानमा निमन्त्रण गरेका थिए । धरान त के यसअघि उनले पूर्वाञ्चल क्षेत्रमा पाइला पनि टेकेका थिएनन् । तर, उनको कविता लेखन (खासगरी पछिल्लो कृति 'घर फर्किरहेको मानिस')बाट प्रभावित पाठकहरु संगठित हुँदै उनलाई पहिलो पटक पूर्वी सहर धरानमा भव्य कार्यक्रमबीच पाठकमाझ उभ्याएको थियो । स्रष्टाको सम्मान हाम्रो उद्देश्य नारा दिएर फ्यान क्लबले शनिबार 'क्षितिजका कविताहरुसँग हामी' नामको कार्यक्रम आयोजना गरेको थियो । म पहिलो पठक पूर्वाञ्चल आउन पाएँ, तपाईंहरुले यो मञ्च दिनुभयो, मेरो लागि यो नै पर्याप्त छु कविता वाचनअघि उनले भने, 'तपाईंहरुको कारण मैले अनुभूति गरेको यो पल मैले हृदयमा साँचेर राखेको छु । कुनै दिन यो भावना, अनुभूतिलाई लेख्नेछु ।'
होटल रत्ना इनको सभाहलमा आयोजित एकल कविता वाचन र चर्चा कार्यक्रम साहित्यकार, साहित्यप्रेमी तथा पाठकहरुले खचाखच भरिएको थियो । सशुल्क आयोजित कार्यक्रममा उनको कविता सुन्न ताप्लेजुङ, धनकुटा, तेह्रथुम, मोरङ जिल्लाबाट साहित्यप्रेमीहरु धरान आएका थिए । स्रष्टा क्षितिजले २०५१ सालमा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता गोष्ठीमा प्रथम भएको कविता 'शिविरबाट फर्किएपछि बाट कविता वाचन सुरु गरेका थिए । त्यसपछि उनले अगेनाछेउ गरेको बकस पत्र, कुभिण्डे दह, पुरानो दरबार, भुइँचालो, लडाकुको रुमाल, ईश्वरको रहस्य, एउटा मानिसको प्रस्थानलथायत कविताहरु सुनाए । उनको संग्रहबाटै पाठकहरु धरानकी पञ्चमाया ताम्ली, डा. कुम्भराज जोशी, धनकुटाकी मीना राई, अन्जना ताम्ली र मोरङ बेलबारीकी बादल देवी चाम्लिङले पनि कविता पाठ गरेका थिए । स्रष्टा रमेश क्षितिजले कविता वाचन गर्नुअघि कवितासँगको सन्दर्भ उल्लेख गरेर थप रोचक बनाइदिएका थिए ।
कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार गणेश रसिकले पाठकहरुले कविलाई खोजेर आमपाठकहरुमाझ उभ्याएको देख्दा आठौं आश्चर्यजस्तै भएको बताए । साथै, उनले दाङका कविलाई पूर्वी सहरका पाठकहरुले निम्त्याएर नेपालीपन, संस्कृति र संस्कारलाई थप हौसला बढाएको पनि बताए । कवि मनु मन्जिलले सकेसम्म कविता बुझिदैन भनेर नपढ्ने चलनलाई तोड्दै पाठकहरुले फ्यान क्लब नै गठन गरेर साहित्यमा नौलो संस्कार प्रवेश गराएको बताए । फाइन प्रिन्ट्सका अजित बरालले कार्यक्रमलाई नेपालमा कविताको पुनर्जागरणको संज्ञा दिए । कार्यक्रम संयोजक तथा फ्यान क्लबकी सदस्य नीला तमाङले स्रस्टाको सम्मान गर्न तथा स्रष्टा र पाठकहरुबीच सामिप्यता बढाउन कार्यक्रम आयोजना गरेको बताइन् ।
आइतबार २८ माघ, २०६९ (नागरिक)
Sunday, 10 February, 2013
No comments:
Post a Comment