Tuesday, January 29, 2013

धरानमा रमेश क्षितिजको एकल कविता वाचन

विश्वस्त सूत्र
मंगलबार, २०६९ माघ १६ 

यति सुन्दर, शक्तिशाली र संगीतात्मक कवितामार्फत् आफ्ना पाठकहरुमा आशा, सम्भावना, चेतना र परिवर्तनको लहर ल्याउने क्षमता भएका स्रष्टासंग साक्षात्कार गरी कविताको गहनता र वास्तविक सन्देशलाई अझ नजिकबाट बुझ्ने तथा कविका ओजस्वी स्वरमा कविता वाचनको रसास्वादनको चाहनाले नै कार्यक्रमका अवधारण प्रशंसकहरुमा आएको र यो कार्यक्रम तय भएको हो ।

'फ्यान क्लब अफ रमेश क्षितिज' नामक संस्थाले धरानमा आफ्नै पहलमा कवि क्षितिजको एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ । एकल कविता वाचन हुनु कुनै ठूलो वा नौलो कुरा होइन, तर साहित्य अर्थात काव्य कविताबाट प्रभावित भएर फ्यान क्लब गठन हुनु र त्यसले एकल कवता वाचनको कार्यक्रम आयोजना गर्नु शायद नेपालमै पहिलो घट्ना हो ।


यो घट्नाले साहित्य वा काव्य क्षेत्रका सर्जकहरुलाई पनि "सेलिब्रेटी" को स्तरमा पुर्याएको छ । यस अर्थमा फ्यान क्लबको यो कार्यक्रम साधुवादीय देखिन्छ । काव्यसर्जकलाई यो जस्तो उच्च सम्मान अरु हुन सक्दैन । धरानमा गठित फ्यान क्लबले "क्षितिजका कविताहरुसंग हामी" भन्ने मूल भावधाराअन्तर्गत "स्रष्टाको सम्मान हाम्रो उद्देश्य" भन्ने नारासहित कवि क्षितिजका कविताहरुको एकल कविता वाचन र उनका कविताहरुमाथि परिचर्चा गर्ने कार्यक्रम गर्न लागेको हो । आगामी माघ २७ गते शनिबार धरान ९, विनायक पथ (बगैचा चौक) स्थित होटल रत्न इनको सभाहलमा सम्पन्न गर्न लागिएको सो कार्यक्रमका लागि कविता श्रवणको मूल्य रु. ५०/- तोकिएको छ । कविता श्रवणको मूल्य तोकाइले सर्जकहरु सस्तो हुंदैनन् भन्ने अर्को सन्देश खोजेको देखिन्छ ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सोमबार पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राख्दै फ्यान क्लबले पठन संस्कृतिमा रम्ने तथा साहित्यसम्बन्धि विशेष चासो र रुचि राख्ने एवं साहित्य सेवामा टेवा पु¥याउने गरी गरी केही कार्य गरौं भन्ने सोंच राख्ने पाठकहरुको समूहको रुपमा फ्यान क्लब रहेका बताउंदै साहित्यका विभिन्न विधामध्ये क्लबमा धेरै जसो कवितामा विशेष रुचि राख्नेहरुको जमात बढी रहेको जनाएको छ । कविता गोष्ठी र समालोचना कार्य विद्धत वर्गका लागि मात्र नभएर साधारण पाठकहरुको लागि पनि हो भन्ने मान्यतामा विश्वास राख्दै कार्यक्रमको आयोजना गर्न लागिएको कुरा क्लबका एक सदस्य कमला लिम्बूले बताउनु भयो ।

अर्का सदस्य नीला तामाङ्ले कविता पठन क्रममा पूर्वकालीन तथा समकालिन कविताहरुको पठन अनुभवलाई पर्गेल्दै जांदा साहित्य जगतको समकालीन पुस्ताका अग्रणी युवाकवि रमेश क्षितिजका कविताहरु जीवनप्रति आशावादी, जन्मभूमिप्रति राष्ट्रवादी, संवेदनापूर्ण, चेतना तथा परिवर्तनका बाहक भएकाले उनको एकल कविता वाचन धरानमा गर्ने निर्णय गरिएको जनाउनु भयो । उहांका अनुसार मौलिक शव्दयोजनाशील्प, नवीन काव्यशैली, विशिष्ट अभिव्यक्ति सौन्दर्य एवं कलाका प्रशंसक मात्र नरही उनीजस्ता प्रतिभाशाली स्रष्टाको सम्मानार्थ साक्षात्कार कार्यक्रम किन नगर्ने भन्ने परिकल्पनाको साकार रुप हो "क्षितिजका कविताहरुसंग हामी" नामक कार्यक्रम । 

क्षितिज फ्यान क्लबका अर्का सदस्य पंचमाया ताम्लीले "हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै स्रष्टाको सम्मान हो" भन्दै नेपालीहरु माझ स्रष्टालाई भन्दा सृजनालाई महत्व दिने संस्कृति प्रचलनमा रहेको अवस्थामा सुन्दर तथा सर्वाधिक सशक्त सृजनाका स्रष्टाहरुको सम्मान गर्नु आवश्यक लागेर सो कार्यक्रम तर्जुमा गरिएको बताउनु भयो ।

कार्यक्रमका थप उद्देश्यहरुमा लेखन र पठन दुवै संस्कृतिको बढोत्तरीमा टेवा, साक्षात्कार कार्यक्रम मार्फत स्रष्टा र पाठकहरुलाई जोड्ने साँघु निर्माणको प्रयास, कवितानुरागी पाठकहरुलाई संगठित बनाउने, मोफसलका पाठक पनि उत्तिकै साहित्य अनुरागी तथा क्रियाशील छन् भन्ने सन्देश दिने रहेको सदस्य ताम्लीको तर्क रहेको थियो ।

वास्तवमा समकालिन कविता सहित्यमा सक्रिय र सशक्त हस्ती हुन् रमेश क्षितिज । प्रायोजित रुपमा चिनेजानेका कवि कवयित्रीहरुका कविता वाचनको मात्र कार्यक्रम हुँदै आएको अवस्थामा नचिनेका तर कविता पठनको हिसाबले मात्र चिनेर यस्तो कार्यक्रम आयोजना गर्नु स्वतःस्फूर्तता हो र यसले नेपाली साहित्यमा नयां मार्गको निर्माण गरेको छ भन्दा कुनै अत्युक्ति हुंदैन ।

रमेश क्षितिज नै किन ?

मथिको उपशीर्षक पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले तेस्र्याएको घोचोरुपी प्रश्न हो । तर कार्यक्रम आयोजक फ्यान क्लबका सदस्यहरु  रमेश क्षितिजका साँच्चा र पक्का फ्यान रहेछन् । उनीहरु त पूर्ण तयारीका साथ आफ्नो छनौटमा परेका कविका बारेमा अध्ययनमात्र गरेर आएका थिएनन्, काव्यिक समालोचनाको क्षमतासमेत राख्न सक्नेहरु रहेछन् । उहाँहरुको तर्क थियो, "बाह्र वर्ष पहिले प्रकाशित 'अर्को साँझ पर्खेर साँझमा' कविता संग्रहपछि हालै केही महिनाअघि विमोचित 'घर फर्किरहेको मानिस' कविता संग्रह पढिसकेपश्चात हामी कविता अनुरागी पाठक मित्रहरुबीच कविताहरुमाथि चर्चा परिचर्चा हुँदा साहित्यको सार्वभौम मूल्यहरुका मानक र नेपाली कविताको उपलव्ध सापेक्षतामा उनका कविताहरु श्रेष्ठ एवं स्तरीय छन् भन्ने हाम्रो ठहर रहेको छ । यति सुन्दर, शक्तिशाली र संगीतात्मक कवितामार्फत् आफ्ना पाठकहरुमा आशा, सम्भावना, चेतना र परिवर्तनको लहर ल्याउने क्षमता भएका स्रष्टासंग साक्षात्कार गरी कविताको गहनता र वास्तविक सन्देशलाई अझ नजिकबाट बुझने तथा कविकै ओजस्वी स्वरमा कविता वाचनको रसास्वादनको चाहनाले नै कार्यक्रमको अवधारणा प्रशंसकहरुमा आएको र यो कार्यक्रम तय भएको हो ।" फ्यान क्लबका सदस्यहरुको उपर्युक्त जस्तो समालोचनात्मक टीप्पणी शायदै अहिलेका 'घाघडान' भनिने समालोचकहरुले गर्न सक्छन् ! किनकि यो टीप्पणी घाघडान समालोचकलेजस्तो प्रलोभनको आधारमा नभई मनको निष्कपट फलकबाट आएको हो!!

पपत्रकार भेटघाट कार्यक्रममा क्षितिजको काव्यिक परिचय पनि पस्किइने काम गरिएको थियो । कार्यक्रममा वितरित प्रेस विज्ञप्तिअनुसार कवितामा मात्र सीमित नभई गीत रचनामा पनि उत्तिकै अग्रसारिता भएका कवि क्षितिजले 'आफै आफ्ना साथी भएँ' नामक गीति संग्रह र 'क्षितिज' गीति एलबमसमेत निकालिसकेका छन् भने 'अर्को साँझ पर्खेर साँझमा' (२०५७) र 'घर फर्किरहेको मानिस' (२०६९) कविता संग्रहहरु प्रकाशित गरिसकेका छन् । 

दुई दशक अघिदेखि कर्णप्रिय, हुदय छुने मिठो गीतहरुका गीतकार तथा आफैले बाँचेको जिन्दगी, अनुभूत गरेका सत्य र दृष्टिचिन्तनको सहज र कठिन अभिव्यक्ति हो कविता । समय, प्रश्न अनि आफैसँगका अन्तरंग सम्वाद हुन् मेरा कविताहरु भन्ने कवि रमेश क्षितिज नौला र नितान्त वैयक्तिक तर सकारात्मक विचार प्रक्षेपण, शीर्षक चयनको नवीन चेत राख्ने तथा संवेदनाको गहिराइमा पुगेर चिन्तनको कोमल प्रवाह सरल शव्दहरुको कलात्मक संयोजन गरी कविता सृजना गर्ने यस समकालिन चरणका अगुवा कविहरुमध्यमा पर्दछन् ।


विश्वस्त सूत्र
मंगलबार, २०६९ माघ १६ 
Tuesday,  2013 January 29


No comments:

Post a Comment