Thursday, October 13, 2011

स्थानीय विकास अधिकारीदेखि साहित्यकार हुँदै गीतकारसम्म

अधिकारी क्षितिजको गीति एल्बम 'क्षितिज'को विमोचन 

- सुवास डि.सी.

घोराही, २५ असोज ।

दङ्गाली गीतकार एवं दाङ जिल्लाको स्थानीय विकास अधिकारी रमेश क्षितिजको 'क्षितिज' नामक एल्बमको बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी समीक्षा गरिएको छ ।

समीक्षा गर्ने संगीतप्रेमीहरुले क्षितिज एल्बमका गीतहरु मानवतावादी, जीवनवादी र प्रेमको प्रतीकको रुपमा रहेको भन्दै क्षितिज एल्बमको सफलताको शुभकामना वयक्त गरेका थिए । उनीहरुले गीतमा समाजको अपेक्षाअनुसार सामाजिक मनोविज्ञानलाई पनि समेटेर अघि बढ्न क्षितिजलाई सुझाव दिएका थिए । संगीतकर्मीहरुले क्षितिज एल्बमले सांगीतिक क्षेत्रको विकासका लागि थप सहयोग पुग्ने अपेक्षा गरे । कार्यक्रममा बोल्दै गीतकार क्षितिजले एल्बममा वास्तविक जीवनमा घटेका घट्नाहरुलाई समावेश गरिएको भन्दै सबै श्रोताहरुलाई मनपर्ने विश्वास व्यक्त गर्नुभयो । उहांले आलोचना र प्रशंसालाई आत्मसात् गरेर आगामी दिनहरुमा अझै उत्कृष्ठ गीतहरु सिर्जना गर्ने बताउनुभयो । 


कार्यक्रममा गीतकार क्षितिजले आफ्नो साहित्यिक यात्राको बारेमा जानकारी गराउनुभएको थियो । क्षितिज २०४५ सालदेखि साहित्यिक यात्रामा क्रियाशील रहनुभएको छ । उहांले गीतसंगै कविताहरु पनि लेख्ने गर्नुहुन्छ । क्षितिजका थुप्रै गीतहरु चर्चित बन्न सफल भएका छन् । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले संगीतले जीवनमुखी, क्रान्तिकारी तथा प्रजातान्त्रिक बन्न प्रेरणा दिएको बताउनुभयो । कम्पनीले आफ्नो फाइदालाई मध्यनजर गर्दै गीतहरु निकाल्ने भएकाले सोचेअनुरुपको गीतहरु आउन नसकेको बताउनुभयो ।

'क्षितिज' एल्बमका संगीतकारसमेत रहनुभएका श्रेष्ठले यस एल्बममा रहेका ९ वटा गीतहरुमध्ये ४ वटा गीतहरुको सिआरविटि समेत आइसकेको बताउंदै एल्बम चाडौ बजारमा आउने जानकारी दिनुभयो । श्रेष्ठले गीतकार क्षितिज स्थापित गीतकार भएकाले एल्बम निकाल्नलाई धेरै सजिलो भएको अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा संगीतकार यादव योगी, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल , साहित्यकारहरु डा.कृष्णराज डि.सी., डा. शिवकुमार सुवेदी, बमबहादुर डिसी, शरद अधिकारी, सुशिल गौतम, कमलमणि देवकोटा, रामप्रसाद जैसी, गिरिराज शर्मा, टीकाराम उदासी, मधुराप्रसाद श्रेष्ठ, हुमबहादुर डिसी, नवीन विभाष, तिलक केसी, शारदा शर्मा, गायिका जमुना धिताललगायतले क्षितिज एल्बमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडितले गर्नुभएको थियो । कार्यक्रममा 'क्षितिज' एल्बममा रहेका गीतहरुको रचनाकारमा रमेश क्षितिज, संगीतकारमा सन्तोष श्रेष्ठ र गायक राजेश पायल राई, रामकृष्ण ढकाल, मनोजराज, गायिका अन्नु पन्तलगायतको स्वर रहेको जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । 

राप्ती आवाज
२०६८ असोज २६ गते बिहीबार
October 13 2011, Thursday

No comments:

Post a Comment