Thursday, October 13, 2011

क्षितिज लिएर क्षितिज


कान्तिपुर संवाददाता
दाङ-

परेलीको वर्षातले
तातिभित्र पहिरो गयो
बिर्सिजाने बैगुनीको
सम्झना झन् गहिरो भयो

स्थानीय विकास अधिकारी रमेश न्यौपाने बुधबार घोराहीमा गीतकार रमेश क्षितिजका रुपमा यही गीतसँगै सुनिए । उनले २५ वर्षे सांगीतिक जीवनमा पहिलोपल्ट आफै निकालेको एल्बम क्षितिज का गीत वाचन गरे ।


एल्बम बजारमा नआउंदै उनले गीतसंगीतमा चासो राख्ने जिल्लाका अग्रजहरुलाई आफ्ना रचना सुनाएका हुन् । 'यो एल्बममा मायाप्रेम, काठमाडौंमा डेरा खोज्दाका पीडा, डेरा खोज्नेका सुन्दर घरको सपना, विदेशमा बस्नेहरुले घरको सम्झना गरेको कथा समेटिएका गीत छन्,' उनले भने ।

एल्बममा १० गीत छन् । तिनलाई धुनबद्ध गरेका हुन् दाङकै संगीतकार सन्तोष श्रेष्ठले । रामकृष्ण ढकाल, अञ्जु पन्त, राजेशपायल राई, शिशिर योगी, प्रमोद खरेललगायतले तिनलार्य स्वर दिएका हुन् ।

संगीतकार श्रेष्ठलाई चाहि काठमाडौंमा डेरा खोज्नेका पीडा समेटिएको गीत मर्मस्पर्शी लागेको रहेछ । 'परदेश बस्नेको घरको सम्झना र डेरा खोज्नेको गीतमा संगीत भर्दा म पनि रोएको छु' उनले भने, 'यसमा बाहिरबाट आएर काठमाडौं बस्ने र घर छोड्नेको प्रतिनिधिमूलक कथा छ ।' अनि सुसाएः

काठमाडौंमा डेरा सर्दै गरेको मान्छे
गुन्टामाथि सोचिबस्छ सोचिरहन्छ
कहिले होला आफ्नो पनि
एउटा सानो घर
ओत लाग्ने भर...

क्षितिजका गीतमा जीवनप्रेम, देशप्रेम जस्ता विषय समेटिएको अर्का गीतकार डा. कृष्णराज डिसीले बताए । भने, 'जीवनवादी गीतहरु रहेछन् ।'

सल्यानको हिवल्चामा २०२६ मा जन्मेका क्षितिजका धेरै गीत गाइसकिएका छन् । २०५० मा उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत उनका गीतमा नातिकाजी, गोपाल योञ्जन, फत्तेमान लगायतले संगीत गरिसकेका छन् । कविताबाट लेखन सुरु गरेका उनले २०४५ तिर गीत लेख्न थालेका हुन् ।


कान्तिपुर:

असोज २६ २०६८
13 October 2011


No comments:

Post a Comment