रमेश क्षितिज |
एउटा नेपाली दैनिक समाचारपत्रको ब्यानरन्युजमा सनसनीपूर्ण खबर छापियो, जसको निचोड यस्तो थियो – आगामी असार १५ गते सबै भौतिक र मानवीय स्वरूपहरू तिनको पूर्वावस्थामा एक दिनका लागि परिवर्तन हुने ।
राजधानी सबैभन्दा बढी प्रभावित भयो यो समाचारले मानिसहरूबीच चर्चाको विषय यही नै थियो । केही मानिसहरूले समाचारको विश्वसनीयतामाथि आशङ्का प्रकट पनि गरेका थिए । जस्तो पटकपटक हुन्छ – यसपल्ट पनि तरकारीको भाउ बढ्यो, मट्टितेल र ग्याँसको अभाव हुन थाल्यो, खाद्यान्नको कृत्रिम–अभाव सिर्जना भयो बजारमा ।
हजुर, दैनिक पत्रिकाले कभर गरेको समाचार हामीले प्रसारण गर्ने कि नगर्ने? भविष्यवक्ता, खगोलशास्त्री, भूगोलशास्त्री, भूगर्भविद् र वैज्ञानिकहरूले एक मत भएर किटानी गरेका छन् असार १५ गते १० बजेदेखि ५ बजेसम्म ग्रहहरूको अवस्थाले गर्दा वस्तु र मानवीय स्वरूपको परिवर्तन भई सबै पूर्वावस्थामा फर्कने छन् ।’ राष्ट्रिय प्रसारण संस्थाका प्रमुखहरू सञ्चारमन्त्रीलाई सोध्दै थिए । सरकारनियन्त्रित सञ्चारमाध्यमले कुनै महत्वपूर्ण समाचार प्रसारणअघि सञ्चारमन्त्रीसँग अनुमति लिनुपर्ने परम्पराअनुरूप नै उनीहरू सञ्चारमन्त्रीको सरकारी–निवासमा भेला भएका थिए ।
हैन त्यो कसरी सम्भव छ ? के हो रूप–परिवर्तन ?’
सञ्चारमन्त्रीले बाहिर उनीहरूसँग सोध्यो र भित्री मनले समाचारको प्रसारणले पार्टीलाई खासगरी आफ्नो मतदान क्षेत्रमा पर्ने प्रभावको बारेमा मूल्याङ्कन गर्न थाल्यो ।
समाचारमा आएअनुसार बरफ पानीमा, चामल धानमा परिवर्तन हुनेछ किनभने बरफको पूर्वावस्था पानी र चामलको धान हो ।’ उनीहरूले व्याख्या गरे ।
यसैबेला सञ्चारमन्त्रीलाई कहाँबाट फोन आयो । प्रमुखहरूले देखे सञ्चारमन्त्रीको अनुहारको रङ लोकतन्त्र आउनु ठीकअघिको सडकजस्तो ध्वाँसे र अस्तव्यस्त भएर परिवर्तन भयो । हतारिँदै उसले भन्यो, यो कुनै राजनीतिक समाचारजस्तो देखिएन, तपार्ईँ–हाम्रो पार्टीलाई जे गर्दा फाइदा हुन्छ, पेसागत हिसाबले निर्णय लिनुस् है । मलाई जरूरी काम प¥यो पार्टी कार्यालयमा ।’
तपार्ईँ–हाम्रो पार्टीभन्नाले सत्तासीन बुझिन्थ्यो । हाम्रो मात्रै नभई तपार्ईँ भन्ने शब्दको प्रयोग भएको थियो किनभने एउटा सञ्चारसंस्थानको अध्यक्ष मन्त्रीको जिल्लाको जि.वि.स. सदस्यको पराजित उम्मेद्वार थियो भने अर्काेचाहिँ पार्टीको वफादार कार्यकर्ता कर्मचारी थियो । प्रमुखहरूले ढाड कुक्र्याएर नमस्कार गरे, सायद मन्त्रीको सुझबुझ र पेसागत स्वतन्त्रताप्रतिको सम्मान देखेर होला ।
०० ०० ००
निजी तथा सरकारी सबै सञ्चारमाध्यमबाट स्वरूप परिवर्तनको समाचार प्रसारणमा आएपछि देशभरि यो खबर डढेलोझैँ फैलियो । घटना वा तथ्य एउटामात्रै थियो । एक दिन ६ घन्टाका लागि भौतिक र मानवीय स्वरूपमा परिवर्तन अर्थात् पूर्वावस्थामा गमन । तर त्यसको प्रत्यक्ष प्रभाव राष्ट्रिय–जीवनका सबै क्षेत्रमा पर्न थाल्यो जस्तै –
– परिवारका सदस्यहरूमात्रै कार्यकारिणी सदस्य रहेको एक गैरसरकारी संस्थाले दाताहरूबाट १० लाख डलर सङ्कलन ग¥यो र अपनाउनुपर्ने सावधानीका बारेमा २ मिनेट १० सेकेन्डको सूचना ३ दिन लगातार रेडियोको प्राइम–टाइममा प्रसारण गर्यो ।
– केही व्यापारीहरूले महँगो रूपमा परिवर्तन भएका सामान सोही स्वरूपमै बेचबिखन गर्ने र प्रशस्त कमाउने योजना बनाए ।
– केहीवातावरणविद्हरूले बाग्मती फेरि सफा हुने, सगरमाथाको फोहोर हट्ने, विनाश भएको जङ्गल र लोप भएका जीवजन्तु र वनस्पति फर्किने भएकाले त्यसैबेला डकुमेन्ट्री खिचेर विदेशी संस्थाहरूमा पठाउने प्रस्ताव तयार गरे ।
– नेपालको सीमाना फैलिने र नेपाली जातिको वीरता, राष्ट्रप्रेम र एकता प्रत्यक्ष अनुभूति गर्न सकिने कल्पनामा एक गीतकारले राष्ट्रगान लेख्यो ।
– धर्म परिवर्तन गरेका केही व्यक्तिहरू द्विविधाग्रस्त देखिन्थे– त्यो दिन मन्दिर जाने कि चर्च ?
– सम्बन्धविच्छेद भएका केही जोडी रमाए र केही जोडीले विषाद् व्यक्त गरे ।
०० ०० ००
१० बज्न केही समय अझै बाँकी थियो । हातमा माइक्रोफोन बोकेका एफ्.एम्. रेडियोका समाचारदाताहरू बाटोभरि छ्याप्छ्याप्ती देखिन्थे । बाटोबाटोमा प्रत्यक्ष–प्रसारणका लागि टी.भी. क्यामरा तयारी अवस्थामा थिए । वातावरण एकतमासको कौतुहलपूर्ण र एक प्रकारको भययुक्त पनि भएको थियो । अब के हुने हो – जनजीवनमा केही समस्या आइपर्ने हो कि जस्तो उत्सुकता जाडोको हुस्सुजस्तो यत्रतत्र व्याप्त थियो । एम्बुलेन्स, दमकल र बख्तरबन्द गाडी सडकमा उभ्याइएका थिए ।
पजेरोमा गुड्दै गरेको एक नेतातिर टी.भी. क्यामरा तेर्सियो – ‘नेताज्यू, के आउँदो घटनाप्रति यहाँलाई विश्वास छ ?’
‘हेर्नुस्, यस विषयमा केही भन्न सकिन्न, फेरि हाम्रो पार्टीको आधिकारिक निर्णय आइसकेको छैन । तैपनि म त केही फरक पर्दैन भनेर घुम्न निस्केको ।’
‘कृपया १० बजेसम्म हामीसँग कुराकानीमा रहन सक्नुहुन्छ ?’
‘हुन्छ ।’ अधिकांश नेतालाई भएजस्तो उसका लागि पनि टी.भी. एक आकर्षक भाँडो थियो, कतिसम्म भने सुरुसुरुका दिनमा ऊ टी.भी.मा अन्तर्वार्ता दिने अभ्यास घरका भित्ता हेरेरसम्म गर्ने गर्दथ्यो । ऊ मख्ख प¥यो तर एकै छिन मात्र किनभने तुरुन्तै उसले सम्झ्यो – मन्त्री हुनुपूर्व उसको अवस्था दयनीय थियो, वर्षाै जागिर खोज्दै हिँड्दा पनि भेटिएन, व्यापार गर्न लगानी थिएन केही गरूँ हातमा विशेष कुनै सीप थिएन । सधैँ घरमा कचकच कलह । एक दिन लहैलहैमा जुलुसमा हिँडेको बेला दैवको खेला त्यसै दिन पुलिसको मुठभेडमा परेपछि एकाएक उसको नाउँ चर्चामा आयो ।
यसपछिको कथाको उतारचढाव निकै लामो र विस्मयपूर्ण छ तर निष्कर्षमा भनौँ भाग्यले उसलाई भू.पू. मन्त्रीसम्म बनायो किनभने त्यसबेलाको मिलीजुली सरकारमा एक सांसदको मूल्य निकै महँगो हुने गर्दथ्यो ।
‘ओहो ! माफ गर्नुहोला, जरूरी काम सम्झँे, म हिँडे है अहिले ।’ उसको पजेरो जवाफसम्म नपर्खेर धूलो उडाउँदै हुइँकियो ।
यसपछि प्रत्यक्ष प्रसारण गरिरहेको क्यामरा एक जना व्यापारीतिर तेर्सियो । ‘ओहो हनुमानदासज्यू नमस्कार, एक छिन कुराकानी गरौँ है ?’
‘अरे, भइहाल्छ नि ¤’ उसले पानको असरले कालाम्मे भएका दाँत देखायो ।
‘आज धेरै मान्छेहरू पनि पूर्वावस्थामा फर्किने हल्ला छ, तपार्ईँको विचारमा नि ?’
‘कुरा के छ कि ...........’ कुरा के छ उसले भनेन । ऊ भासियो विगतको गर्तमा – एउटा लोटा र गम्छाको साथ, सडकको बास । घोषित–अघोषित धन्दा पार्टीलाई चन्दा । बैङ्कको ऋण र कालो सूची, एल्.सी. को कथा, एक हातले देना, दुई हातले लेना ।
निधारमा चिटचिट पसिना आयो, ब्लडप्रेसर बढ्लाजस्तो भयो, उसले रिङ नबजेको मोबाइल सुनेजस्तो ग¥यो । हातले बाइबाई इशारा गरेर हुइँकीहाल्यो । अलिपर पुगेर उसले फर्केर हेर्दा क्यामराको तोप अर्कैतिर सोझिएको देखेपछि उसलाई हाँसो उठ्यो ।
१० बज्नुअघि धेरैले सम्झे आफ्नो विगत ।
नेताले गाउँ सम्झ्यो, घिउ बेचेर गुजारा गरेको दिन सम्झ्यो, पहाडको जेठी स्वास्नी डल्लीलाई सम्झ्यो, सम्झ्यो दुःख गरेर हुर्काउने, पढाउने सरल निष्पाप बाआमा ।
प्रशासकले विद्यार्थी बेलाको भोक सम्झ्यो, महिनावारी भात खाएको, बाँकी तिर्न नसकेर हिँडेको घुमाउरो बाटो सम्झ्यो र सम्झ्यो घरबेटीको रातभरि बत्ती नबाल्ने चेतावनी ।
ड्राइभरले खलासी हुँदाको दुःख सम्झ्यो । बृद्धले जवानी सम्झ्यो । भनिसाध्य छैन धेरैले धेरै सम्झे – मानौँ समय नोस्टालजियाको वृत्ताकारमा परिक्रमा गरिरहेछ सबैलाई आफूसँगै हिँडाएर ।
०० ०० ००
अन्तत: १० बज्यो, प्रतीक्षाको घडी सकियो । हिँड्दाहिँड्दैका मानिसहरू परिवर्तन भए, भौगोलिकस्वरूप पनि परिवर्तन भयो ।
सफा, कञ्चन बाग्मती, शुभ्र हिमालहरूको मनोरम दृश्य, मन्दिरैमन्दिरहरूले सुसज्जित काठमाडौँ, गुञ्जिरहेका लोकभाका, उत्कृष्ट मौलिक कला र हरियालीले गर्दा उपत्यका एक पुण्यभूमि, देवभूमिजस्तो देखियो । र देखियो – खर्पनमा तरकारी बोकेर हिँडिरहेका ज्यापूहरूको ओठओठमा बिहानजस्तो मुस्कान ।
तर सबै कुरा राम्रैमात्र देखिएन । वातावरण एकतमासको त्रासमय, कौतुहलपूर्ण र अनुमान गर्न नसकिने किसिमको भयो ।
– गाडीमा चढिरहेको एक जना चर्चित भ्रष्टाचारीमा र पजेरो ‘कालो धनमा’ परिणत भयो ।
– एक जना वंशज नेपाली विदेशी नागरिकमा परिणत भयो ।
– काठमाडौँको एउटा भव्य महल ‘लागू पदार्थ’ मा बदलियो ।
– एउटा नेपाली चलचित्र हिन्दी सिनेमामा परिणत भयो ।
– एक जना शिक्षक दलालमा फेरियो ।
– एक जना सांसद गरिबमा परिणत भयो ।
– जनताहरु विभिन्न चुनावचिन्ह अंकित भोटमा परिणत भए ।
धेरेधेरै परिवर्तन भएपछि मानिसहरूबीच अन्यौलको सिर्जना भयो । को के हो, कुन कस्तो हो खुट्याउन नसकिने अवस्थाले भ्रमको सिर्जना ग¥यो र जनजीवन अस्तव्यस्त होलाजस्तो भएपछि आकस्मिकरूपमा सर्वदलीय बैठक बस्यो ।
‘क’ भन्ने पार्टीले भन्यो – ‘यसका केही राम्रा पक्ष छन् केही नराम्रा, त्यसैले यसको समर्थन र विरोध दुवै गर्नु उपयुक्त होला । भोलि आधा दिन विरोधजुलुस निकाल्ने त्यसपछि विजयोत्सव ! यसले गर्दा सबै पक्षलाई समेट्न सकिन्छ ।
‘ख’ पार्टीले भन्यो – ‘लोकतन्त्रमा जनतानै मालिक हुन् त्यसैले उनीहरूको जे निर्णय हुन्छ हाम्रो पार्टीको पनि त्यही सिद्धान्त हुनेछ ।’
‘ग’ ले भन्यो – ‘एक पल्ट छिमेकी देशसँग सम्पर्क र सरसल्लाह गरेर निर्णय लिनु राम्रो हुन्छ ।’
एक मत हुन सकेन र वादविवाद चर्केर हात हालाहालको स्थिति भयो । त्यसैबेला एक जना सहभागीको मोबाइलफोनको घन्टी बज्यो ‘हैन, हाम्रो कुरा मिलिसक्यो, खालि कुन मोडालिटीमा जाने भन्ने कुरा हुँदै छ ।’ उसले भन्यो ।
उसले यसो भनेपछि एफ्. एम्. हरूमा भटाभट घन्टे समाचार आउन थाले । बैठक निष्कर्षमा पुग्न नसकेर बहसमा अल्झिरहको थियो । त्यसैबेला सुरक्षाप्रमुख हस्याङफस्याङ गर्दै आफूतिर आइरहेको देखेपछि सबैजना आत्तिए ।
‘हैन कु त भएन ?’ एक जनाले भन्यो ।
‘कु’ को आशङ्काले सबैजनालाई ‘लु’ लागेजस्तो भएर होसहवासै हरायो ।
‘पन्ध्र हजार मानिसको विशाल जुलुसले काठमाडौँको मुख्य स्थानहरू घेरेको छ, ट्राफिक पूरै जाम भइसक्यो, सुरक्षाव्यवस्था जटिल भइसक्यो । निकै अप्ठ्यारो स्थिति छ ।’ उसका ओठमुख सुकेका थिए ।
‘हैन को हुन् उनीहरू? उनीहरूको माग के छ?’
‘ती विगतको द्वन्द्वमा मारिएका दुवैतर्फका जनता रे र उनीहरूको माग पनि निकै जटिल छ ।’
‘के हो त्यस्तो माग ?’
‘मारिएका मानिसहरू अहिले जिउँदा भएका छन् र यही अवस्थामै उनीहरू स्वतः स्थायी हुनुप¥यो रे तर उनीहरू निकै शान्त छन्, तोडफोड, आगजनी केही भएको छैन र पनि छिट्टै समाधान नभए एकै छिनमा विकराल स्थिति उत्पन्न हुनसक्ने सम्भावना छ हजुर ।’
सबै सोचमग्न भए, आ-आफ्नो राय प्रस्तुत भए र अन्ततः सर्वदलीय बैठकले उनीहरूसँग वार्ता गर्ने निधो ग¥यो । उनीहरूका केही प्रतिनिधिहरू र यताका केही प्रतिनिधिबीच गम्भीर छलफल भयो । सरकारी पक्षले मृत मानिसलाई जिउँदो मानिसमा स्थायी गर्न नसकिने र यो माग प्राकृतिक नियमविरुद्ध भएको अडान राख्यो ।
‘त्यसो भए एउटा विकल्प छ ।’ उनीहरूले भने । ‘पन्ध्र हजार सपनाहरू पूरा गर्ने !’
एकै छिनअघिको उत्सुकता निराशामा बदलियो सरकारी टोलीको । पन्ध्र हजार सपना पूरा गर्नु निश्चयनै कठिन होइन असम्भव नै थियो ।
‘हैन यसको सजिलो उपाय छ ।’ धर्ना पक्षघर प्रतिनिधिले नजिकै रहेको बोर्डमा लेख्यो, सम्भवतः रुखमा झुन्ड्याएर मारिनुअघि ऊ शिक्षक थियो ।
H2+O = पानी
अथवा १+ १ + १ + १ सपना (पन्ध्र हजार सपना) = समृद्ध नेपाल
अब भने सहमतिको सम्भावना देखियो । नयाँ नेपालको परिभाषा केही अमूर्त भएता पनि स्वतन्त्रता, समानता, समावेसीकरण, कानुनको शासन, आर्थिक समृद्धि, न्यायपूर्ण समाज आदि बूँदाहरूमा एक मत भएपछि सबैले हात मिलाएको दृश्य प्रत्यक्ष–प्रसारण गरियो ।
पाँच बज्न केही समय बाँकी थियो । सहमतिले सबै प्रफुल्ल देखिन्थे । सहिदगेट गएर श्रद्धाञ्जलि अर्पण गर्ने, नयाँ नेपालको अठोट गर्ने प्रस्ताव पारित भयो । त्यसैबेला एक जनाले प्रस्ताव राख्यो ‘चिल्ला कारमा गएर हैन, पैदलनै जाने तर माल्यार्पणचाहिँ सबै एफ्.एम्. रेडियो र टिभीबाट प्रत्यक्ष प्रसारण गर्ने ! यसले जनतामा एक राम्रो मेसेज जानेछ । राष्ट्र निर्माणमा सबैले आ-आफ्नो भूमिका महसुस पनि गर्नेछन् ।’
‘राम्रो विचार!’ सबैले एकमतले समर्थन गरे ।
सबैजना सहिदगेटतिर लागे । सबैका आँखामा एक प्रकारको चमक, मनमा एक अठोट र उत्साह थियो । कमसेकम आउँदा सन्ततिमा एक समृद्ध नेपाल सुम्पिन सकिने भयो भनेर सबै आहृलादित देखिन्थे । अबीरमालाको व्यवस्था गरियो, वरिपरि प्रत्यक्ष प्रसारणका लागि क्यामरा तयार गरियो, छेउमा एफ्.एम्. र रेडियोका सम्वाददाताहरूसमेत तयारी अवस्थामा थिए । फूलको माला चढाइयो र अबीर अर्पण गरियो सहिदहरूलाई । सबैले हावामा मुठ्ठी उठाएर प्रतीज्ञा गर्दैगर्दा पाँच बज्यो ।
०० ०० ००
पन्ध्र हजारको जुलुस गायब भयो एक्कासी । पाँच बज्नासाथ सबै पूर्वावस्थामा फर्किए अचानक । भौतिक–मानवीय सबै स्वरूप परिवर्तन भए । तर अचम्म – जुलुसको पछिपछि आएको एक जना मानिस उस्तै रहिरहेपछि क्यामराहरू उतै तेर्सिए क्लोजअप लिन ।
दुब्लो मरन्च्याँसे मान्छे, खुम्चिएको अनुहार, निस्तेज आँखा, ठाउँठाउँमै च्यातिएका, टालिएका मैला कपडा, झुस्स दारी, निधारमा पसिनाको टाटो । बस, त्यत्रो हजारौँको जुलुसमा नफेरिने ऊमात्र थियो एक जना !
‘तपार्ईँको परिचय ?’ पत्रकारहरूले घेरे ।
‘म साधारण जनता हजुर!’ उ सुस्तरी बोल्यो ।
तपार्ईँ एक जनामात्रै फेरिनु भएन हजारौँमा, साँच्चि को हो तपार्ईँ ?’
‘म एक जना गरिब हुँ ।’
क्यामराहरूले क्लोजअप लिइरहेका थिए । माइकैमाइकले घेरिएको थियो ऊ ।
‘म उस्तै छु किनभने पहिले पनि म गरिब थिएँ र अहिले पनि । ममात्रै होइन मेरो बा र बाजे पनि गरिबनै थिए हजुर । अन्न उब्जनी, रोजगारी, शिक्षा, विकास केही छैन त्यो दुर्गम गाउँमा ।’
वातावरण एकतमासको विषाद्पूर्ण र करूणामय भयो । सबैजना स्तब्ध भए । योजनाकारहरू, प्रशासनविद्, राजनीतिज्ञ, समाजसेवी सबैसबैको बोली हरायो ।
पन्ध्र हजारमा फेरि एक सपना थपियो । तर यो सपनाको रङ पनि पन्ध्र हजार सपनासँगै मिल्दथ्यो । पन्ध्र हजार मानिस अदृश्य भए पनि हावामा कताकता एक नारा, एक गुञ्जन, एक समवेत स्वर गुञ्जिरहेको थियो ‘समृद्ध नेपाल !’
पाँच बजिसकेको थियो र स्थिति सामान्य रहेकोले मानिसहरू आआफ्नो घर फर्किरहेका थिए !!
**********
No comments:
Post a Comment