संघर्षको बाटो हिंडिरहेको म एउटा सामान्य मानिस हुं । दुर्गम गाउंमा जन्मे हुर्केर, प्रकृतिसंग अत्यन्त नजिक भएर खेल्दै बांचेकोले मेरो संवेदना पातलो र कोमल भयो । मानिसहरुका प्रति मलाई ठूलो प्रेम र श्रद्धा छ । यसले मलाई कविता, गीतहरु ल्ेख्न सिकायो । मेरो पारिवारिक र सामाजिक वातावरण अनि परिवेशले नै हार्दिक कुराहरु अमूल्य हुन्छन् भन्ने संस्कार दियो । त्यसैले, एउटा कवि, गीतकार वा लेखकको रुपमा मेरो कुनै परिचय छ भने मलाई त्यही खुशी लाग्नेछ ।
कवितामा डुव्दा तपाई कस्तो महसुस गर्नुहुन्छ ?
मैले धेरै ठाउं भन्दै आएको छु । कविता मेरा लागि विरह र वेदना पोख्ने माध्यममात्र होइन । कविता लेखन, श्रवण वा पठन एक प्रकारको ध्यान नै हो । जुन तहमा पुगेर कविले लेख्छ, त्यही तहमा पुगेर पाठकले पढ्न सक्यो भने कविताले सम्पूर्ण अभिव्यक्ति सम्प्रेषण गर्न सक्छ । कवितामा डुव्दा मलाई ध्यानमा बसेजस्तो लाग्छ ।
कविता लेखेर केही उपलव्धि भयोजस्तो लाग्छ ? कविता नै किन ?
मानिसको जीवनमा उपलव्धि केलाई भन्ने, त्यो नै जटिल प्रश्न हो । धेरै ठूलो ख्याति कमाउंला, आर्थिकस्तर धेरै माथि पुग्ला, आयआर्जन गरुंला भनेर मैले कविता लेखेको होइन । मसंग केही प्रश्नहरु थिए, त्यो सोधूं भनेर, मसंग मानिसहरुप्रति हार्दिक प्रेम थियो त्यो पोखूं भनेर मैले लेखें सायद । मेरा कविताले पाठकलाई थोरै भए पनि उर्जा र उज्यालो दिन सके भने त्यो मेरो उपलव्धि हो । मेरा कविताले मानिसको हृदयमा कतै ठाउं पाए भने त्यही मेरो उपलव्धि हो । त्यो चाहि मैले पर्याप्त पाएं भन्ने मलाई लाग्दछ । कविता नै, किनभने अभिव्यक्तिको सबैभन्दा प्राञ्जल र कलात्मक माध्यम कविता नै हो, सयौं पेजको कुरा तपाई्रं कविताका केही हरफमा भन्न सक्नुहुन्छ ।
कवितालाई केले राम्रो बनाउंछ ?
कवितालाई विचार र कलाको संयोजनले नै राम्रो बनाउंछ । त्यसमा पनि काव्यिक सौन्दर्य वा कला अझ बढी महत्वपूर्ण हुन्छ होला ।
गद्य र कवितामा कविताको लहर मलिन भईरहेको अवस्थामा अबको कविताको स्वर कस्तो हुनुपर्छ ?
कविताको लहर मलिन भयो भन्ने मलाई लाग्दैन । कविता भौतिक कुरा होइन, बिक्रीका आधारमा वा बजारका आधारमा मात्र त्यसका मूल्याङकन गरिनु हुंदैन । किताबभन्दा सूर्ति बढी बिक्री हुनसक्छ तर किताब त किताब नै हो । सस्तो लोकप्रियतातिर भन्दा कविताको स्वर ओजपूर्ण र गरिमायुक्त हुनुपर्ने देख्छु म ।
तपाईका कविताका फ्यानहरुलाई अब कस्तो शैलीका नयाँ कविता लिएर आउँदै हुनुहुन्छ ?
"अर्को साँझ पर्खेर साँझमा" कविता संग्रह २०५७ र "घर फर्किरहेको मानिस" २०६९ दुवै संग्रहमा म फरक रुपमा प्रस्तुत भएँ । यही हप्ता दुवै संग्रहका दोस्रो संस्करणहरु प्रकाशित भए । अब तेस्रो धारका कविताहरु लेखिरहेको छु म । अबको संग्रहमा आध्यात्मिक, दार्शनिक र सांस्कृतिक विषयवस्तु बढी हुनेछन् भने शैलीगत नवीनता पनि हुनेछ ।
कविता लेख्दा पहिले पात्र वा घटनाका आधारमा तयार गर्नुहुन्छ कि काल्पनिक हुन्छ ?
मेरा अधिकांश कविताहरु एलबममा राखिएका पूरा तस्विरजस्तै हुन् । म थोरै लेख्छु तर कुनै घटना वा व्यक्तिले मनमा झङकार नै उठ्ने स्पर्श दिएपछि मात्र लेख्छु । म कसरी लेख्छु भन्ने वृत्तान्त घर फर्किरहेको मानिस को १८ पेज लामो भूमिकामा मैले लेखेको छु । वास्तवमा म कविता लेख्दिन कल्पना गरेर, मसंग भेट भएका मानिसहरुले मलाई कविता दिएर जान्छन् ।
कविता साहित्यमा पनि धेरै वादहरु छन्, तपाई ती वाद वा शैली वा लेखाइलाई के भन्नुहुन्छ ?
हो, साहित्यमा धेरै वाद छन् । ती वादलाई म धन्यवाद भन्छु । सिर्जनाचाहिँ त्यो वादको अनुवाद हुनु हुँदैन पनि भन्छु । वादलाई लिएर विवाद नगरुँ भन्छु । कुन वाद हो त्यो तिम्रो भनेर कसैले सोधे म त कवितावाद भन्छु ।
नेपाली साहित्य अझै पनि भारतीय साहित्यको दाँजोमा पुग्न सकेको छैन तर नेपाली साहित्यकारहरु नोबेल साहित्य पुरस्कारका लागि भनेर हल्ला गर्छन् नि र? यस सम्बन्धमा तपाईको के धारणा छ ?
जसरी प्रत्येक मानिस सृष्टिको बेग्लो/पृथक सिर्जना हो, त्यसरी नै कुनै एक कविलाई अर्को कविसंग, एक देशको साहित्यलाई अर्को देशको साहित्यसंग दांज्न सकिँदैन । नेपाली साहित्यमा राम्रा र स्तरीय कृतिहरु छन् तर बाहिर पुगेका छैनन् । रह्यो पुरस्कारको कुरा, त्यो विषयमा निकै कम जानकारी भएको मानिस, मैले के भन्नु !
कतिपय साहित्यकारहरु पुरस्कारका लागि भनेर लेख्छन्, तपाई यस विषयमा के भन्न चाहनुहुन्छ ?
प्रत्येक लेखक-कविको आ-आफ्नै उद्देश्य हुन्छ होला । पुरस्कारका लागि मात्र लेख्दा त्यो अर्थपूर्ण, दिगो र स्तरीय हुंदैन कि रु सबैभन्दा ठूलो पुरस्कार त पाठकले दिने रेस्पोन्स नै होइन र ?
नयाँ पुस्तका साहित्यकारका लागि तपाईको सुझाव केही छ ?
प्रत्येक साहित्यकार नयाँ साहित्यकार नै हो जस्तो लाग्छ मलाई । प्रत्येकपल्ट सिर्जना गर्दा चुनौती उत्तिकै हुन्छ । लेख्नु र निरन्तर लेख्नु नै सिर्जना कर्मको एकमात्र बाटो होजस्तो लाग्छ मलाई । अध्ययन र भ्रमणले लेखनलाई नवीनता दिन्छ । आफ्नो कर्मप्रतिको समर्पणले तपाईको कर्मलार्य बलियो बनाउँछ । राम्रो लेखक बन्न असल मानिस हुनु पहिले शर्त हो, भन्छु म त ।
यही माघ २७ गते धरानमा फ्यान क्लबले आयोजना गर्न लागेको "क्षितिजका कविताहरुसंग हामी" एकल वाचन कार्यक्रममा आउँदै हुनुहुन्छ, कस्तो महशुस गर्दै हुनुहुन्छ ?
एउटा लेखक-कविले आफ्नो जीवनकालमा प्राप्त गर्ने सबैभन्दा ठूलो पुरस्कार पाएँ मैले । धरानले देखाएको सद्भाव र प्रेम मेरो जीवनको महत्वपूर्ण अध्याय हो । कहिलेकाहीं लाग्छ- पहिल्यै मेरो कुनै आत्मीय सम्बन्ध भएको ठाउँ हो यो । यहांका उदार र असल मानिसहरुका प्रति मेरो ठूलो सम्मान छ । खासगरी "घर फर्किरहेको मानिस" पढेपछि "फ्यान क्लब अफ रमेश क्षितिज" गठन भएर पाठकहरुले नै कार्यक्रम आयोजना गर्नुले मलाई मेरो जीवनको दुई दशकभन्दा बढीको अमूल्य समय त्यसै खेर गएको रहेनछ भन्ने महसुस भयो । म निकै खुशी छु र मनमनै भनिरहेछु – धन्य धरान ! धन्यवाद धरान !!
व्लाष्ट टाईम्स
बिहीबार २५ माघ २०६९
Thursday, 7th February 2013
No comments:
Post a Comment