बजारमा हल्ला छ, यो देशमा जति मानिस छन्, त्यति नै कवि । कोही यसलाई मिलाएर भन्छन्, प्रत्येक नेपाली आफ्नो जीवनमा एकपटक त कवि बनेकै हुन्छ । तर, कवि रमेश क्षितिजलाई ठ्याक्कै त्यस्तो लाग्दैन । 'समाज हो, कसका कुरा गर्ने भन्ने बहाना खोजिरहेको हुन्छ, कुरा काट्न एउटा मानक खोजिरहेको हुन्छ, कवि पायो भनिदिए,' पुतलीसडकमा कफीको पहिलो चुस्की लिन नपाउँदै उनले पनि भनिदिए, 'तर कविता गहन हुन्छ । कहिलेकाहीँ कविताको अर्थ क्या गज्जबको हुन्छ, कहिले सामान्य । कहिले लेखेको पनि बुझिँदैन, कहिले लेखेको भन्दा धेरै बुझिन्छ ।'
आजभोलि कविताको बजार बढ्दो छ । दिनदिनै नयाँ कविताकृति निस्किएका छन् । र, झन् कसको कविताकृतिको संस्करण छिटो र धेरै आउने भन्ने होडबाजी नै चलेको जस्तो पनि लाग्छ । 'कविता लेख्दा कहिलेकाहीँ शक्तिशाली शब्द नै भेटिँदैन, भित्री मनका अनुभूतिलाई कस्तो शब्दले व्यक्त गर्ने ?' कफीको दोस्रो चुस्कीमै एकै श्वासमा रमेशले भने, 'केन्द्रीय कुरा त सम्प्रेषण हुन्छ, तर ठ्याक्कै कुरा भने के-के ।' उनले उदाहरण पनि दिन भ्याए, 'जस्तो देशको चिन्ता लागेर मैले लेखेको कविता पाठकले त बुझ्छ, तर मेरै मनको चिन्ता भने पाठकलाई ठ्याक्कै ठम्याउन गाह्रो पर्दो हो ।'
देशको चिन्ता कवितामा उतार्छन् कवि रमेश, अरू थुप्रै कवि पनि । त्यसैले त बजारमा अर्को हल्ला पनि छ, 'कविहरूलाई जत्तिको देशको चिन्ता अरू कसैलाई हुँदैन । कविहरू यति सारो चिन्तित हुन्छन् कि मानौँ दुई दिनमा नै उनीहरू देशमा कायापलट गरिदिन सक्छन् ।' कवि नै त हुन्, रमेशलाई कविको पक्षमा नै बोल्न के डर ? उनी भन्छन्, 'होइन, कविहरू मात्रै होइन, सबैलाई हुन्छ । गाउँका सामान्य मानिस, मजदुर सबैलाई चिन्ता हुन्छ तर कविहरू सम्प्रेषण गर्छन् । उनीहरूको मन नै कवि हृदय जो हुन्छ ।' यतिमात्र होइन, रमेशलाई लाग्छ, कविमा संवेदनशील ग्य्राभिटी बढी हुन्छ । दुःखको ग्य्राभिटी बढी भएपछि दुःख जति सबै कविहरूकै प्यारो त हुने भइहाल्यो ।
आजभोलि चिया पसलमा कुरा हुन्छ, देश त डुब्योे नि, खत्तमै भयो । के देश डुबेको वेला कविहरूलाई तान्छ देशको ग्य्राभिटीले ? 'होइन, होइन । त्यस्तो होइन । देश सप्रँदा पनि कविको जमात बढ्छ, बिगँ्रदा पनि ।' भनेपछि, देशको विकास र कविको संख्या डाइरेक्ट्ली प्रपोसनल रहेछ । 'ठ्याक्कै त्यस्तो होइन, कविता साहित्यको पहिलो ग्राउन्ड भएकाले त्यस्तो लागेको हो,' उनी अथ्र्याउँछन्, 'कवितालाई माया गरेपछि बल्ल मान्छेले साहित्यको रस चाख्न सक्छ ।'
कवितालाई माया । संसारभर कति होलान् र कविता नाम गरेका ? को रहेछ रमेशको जीवनको कविता । 'होइन-होइन,' आत्तिँदै उनी भन्छन्, 'हो-हो । ओ कविता, माई फस्ट लभ । कविता त मेरो पहिलो प्रेम हो । पहिलोपटक कसैलाई माया गरेँ भने कवितालाई नै गरेँ ।' तर, युद्धताका भने उनी दुःखी भएछन्, उनको प्रेम नै वर्जित भएछ सहरमा । उनको पछिल्लो कवितासंग्रह 'घर फर्किरहेको मानिस'मा पनि छन् यस्तै भावका केही कविता ।
तर, रमेश पहिलो प्रेमबाट खुसी छन् । 'कविताबाट पाउने जस्तो स्वर्गीय आनन्द अरू केहीबाट पाएको पनि छैन,' उनी हतारहतार आफ्नो कुरा भनिहाल्छन्, 'मेरा अरू सबै कुरा टर्सियरी हुन्, कविता भयो भने मलाई अरू केही चाहिँदैन ।' भन्न त उनी यसो भन्छन् तर उनका कविताका पात्र भने सिल्भियादेखि बर्लिनका पबका सुन्दरीहरूसम्म छन् ।
ààà
बजारमा अर्को चर्को हल्ला छ, लभ एन्ड ट्रयाजिडीको । केही क्षणमा लभ पर्छ, तत्कालै बिछोड हुन्छ । केही मानिस यसलाई जीवनलीला हो पनि भन्छन् । यही हल्लाले अलि-अलि छोएको छ रमेशलाई पनि । कविताले उनको मन दुखाएको छ । होइन, समाजको लभ एन्ड ट्रयाजिडीको हल्लाले । 'कवितालाई सस्तो बनाइयो,' उनको आपत्ति छ, 'कवितामा भएको इनर्जी बुझ्न सकिएन । निराश भएका वेला तपाईंले गीत सुन्ने हो भने कति शक्ति आउँछ, आउँछ । जे पायो त्यहीलाई कविता भनेर बिगि्रएको हो ।' कविता नै अन्तिम सत्य हो र आशा तथा शक्तिको मुहान हो भन्ने प्रमाणित गर्न उनीसँग दर्जनौँ उदाहरण छन् । 'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक..., ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल..., भूल हो तेरो भागी हिँड्नु जीवनसँग डराएर...' उनी हत्तारिँदै भन्छन्, 'आजभोलि कवितालाई चिप बनाउने षडयन्त्र रचिएको छ, तर असली कविता त समुद्रको मोतीजस्तै हो ।' यसपछि बल्ल देखिन्छ उनको मुहारमा मुस्कान । मीठो हाँस्छन् रमेश जति मीठा लेख्छन् कविता । त्यसपछि उठाउँछन्, कफी कप । लौ जा, सकिएछ कफी त । कफी सकिएर के भयो र ? उनका लागि कविता कहिल्यै नसकिने गरी मनमा बसेको छ । 'त्यस्तोे क्षण पनि नआउला भन्न सक्दिनँ, तर आजसम्म त्यस्तो भएको छैन, कुनै कुराले मन छोयो कि कविता आइहाल्छ । तर, कुनै वेला कविता नै पनि सकिएला । मनमा कुनै कुरा नहुँदो हो,' अनुहार सबै बिगि्रसकेको छ रमेशको, तैपनि उनी भन्न छाड्दैनन्, 'त्यो जीवन बढो पीडादायी हुनेछ ।'
तर, कविता सकिए पनि उनलाई त्यति तनाव नहोला । बजारमा उपन्यासको जो चर्को हल्ला छ । 'तर, कवितालाई चटक्कै भने म छाड्दिनँ, उपन्यासलाई साथ लिएँ भने पनि सँगसँगै लैजान्छु,' उनलाई पहिलो प्रेमिकालाई धोका दिन लागेको भान भएर पो हो कि उनी भन्छन्, 'मजस्ता अरू मान्छे कैयौँ छन्, तर कविता पनि छ मसँग, म यसमा गर्व गर्छु । उपन्यासलाई नै साथ दिएँ भने पनि कवितालाई छाड्दिनँ, सँगै मिलाएर राख्नेछु ।'
रमेश कवि मात्रै होइनन् । नेपाल सरकारका कर्मचारी पनि हुन् । कसरी चल्छ त उनको दैनिकी ? 'सरकारको काम गर्दा त कवि मन कता हराउँछ कता,' उनी अर्कोपटक आत्तिए, 'मन छुने केही घटना आयो कामको सिलसिलामा भने त्यो मेरो बोनस काम हुन्छ । बोनस काम गर्छु म, केही त यस्ता मन छुने कुरा हुन्छन् जो तपाईं चाहेर पनि कहिल्यै बिर्सन सक्नुहुन्न ।'
ààà
बजारमा अर्को पनि हल्ला छ, कविहरू कुनै चिया पसलमा बसे भने दिनै त्यहीँ कटाइदिन्छन् । कति ठाउँमा त चिया पसलेले एउटा चुरोट र चिया खाएर कति बस्न सक्या भन्दै धपाउँछ । कोही-कोही त जिस्काउँदा नै चुरोट खाँदा पनि कवि हुन लागिस् कि क्या हो भन्छन् । यसको कारण छ, कवि बजारमा नै भएको अर्को हल्ला हो, चुरोट खाए वा रक्सी पिउने जस्तो राम्रो कवि अरू को बन्न सक्ला र ? तर, रमेश यो वाहियात हो भन्छन् । 'गौशाला पुग्ने पुतलीसडकबाट कतिवटा बाटो होलान् ?' उनी उल्टै प्रश्न फालिदिन्छन्, 'चुरोट नताने पनि, रक्सी नपिए पनि के म कविता लेखिरहेको छैन र ? मैले फरक बाटो रोजेर एउटा कवि बन्ने निर्णय गरेँ, कविताकै लागि जिन्दगीका सबै भौतिक सुखसुविधा त्याग गरेँ ।'
ààà
बजारमा भएको अर्को हल्ला हो, कविहरूको पार्टी खोलियो र चुनावमा लडाइयो भने उनीहरूले नै जित्लान् । देश पनि बन्दो हो । 'कहाँ त्यस्तो हुन्छ,' हत्तपत्त रमेशले भनिहालेँ, 'कविहरू झुर हुन्छन् यो मामिलामा । अर्को कविलाई भोट दिनुभन्दा उनीहरू नेताकै पछि लागिहाल्छन् नि । तर, केही गरी जितिहाले भने पनि देश त बन्थ्यो होला ।' तर, डर पनि नभएको होइन कवि रमेशलाई । कोमल मन हुन्छ कविको, त्यसैले अलिक कठोर निर्णय लिन नसक्ने पो हुन् कि ? तर, सबै त्यस्ता पनि होइनन् । 'देवकोटाले राम्रो काम गरेनन् र ?' उदाहरणको के कमी साहित्यकारको कवि रमेशलाई, सरसर्ती नाम भनिदिन्छन्, 'बिपी कोइराला, प्रदीप नेपाल, मोदनाथ प्रश्रति, प्रदीप ज्ञवाली, बलदेव मजगैँया, कुन्ता शर्मा, आहुति अरू पनि नाम चाहिएला र ?'
ààà
यो बजारमा चलेको हल्ला होइन । रमेशले सिर्जना गरिदिए । उनी शाकाहारी भएको धेरै भएको छैन । अब शाकाहारी भएपछि उनका कविता पनि शाकाहारी हुने भए । 'हुन त ननभेज कविता कहाँ लेखियो र ?' उनी भन्छन्, 'कविभित्र जे छ, त्यही नै न हो कवितामा आउने पनि ।' त्यसैले होला, माया-प्रेम व्यक्त गर्न केही मानिस प्रेमकविता नै लेख्छन्, केही मानिस लभलेटरलाई नै कविता बनाएर वाचन पनि गरिदिन्छन् । 'हो, ठ्याक्कै कुरा त्यही नै हो,' बढो खुसी भए रमेश, 'मानिस म्याचुएर हुँदै गएपछि कविता पनि आफैँ म्याचुएर हुन्छ ।' यसका साथ उनीसँग थप्न आफ्नै प्रशंसा पनि छ । 'प्रशंसा होइन, वास्तविकता हो,' उनी झर्किऊँ, झर्किऊँ गरे तर नरम स्वरमा फेरि भने, 'बाल्यकालका क्षण खोलाको आडमा बित्यो, रूख चढेर मात्र खेल खेलिए । त्यसैले त्यतिवेलाका काम सबै प्रकृतिको नजिक रहेर भए, खेल पनि । बाध्यता, विवशता र रमाइलोले पनि । त्यसैले मेरा कवितामा बढी प्राकृतिक विम्ब आउँछन् ।'
योसँगसँगै बजारमा चल्ने अर्को हल्ला पनि छ, कविहरू पागल हुन् । हिजो देवकोटालाई पागल भनियो, गोपालप्रसाद रिमाललाई पागल भनियो, भुपीलाई पनि भनियो । 'होइन, होइन, कविहरू पागल होइनन्, यो समाज हो,' रमेशलाई आफ्ना पि्रय कविको बचाउ गर्न कुनै गाह्रो छैन, 'कविहरू अग्रगामी हुन्छन्, समाजले सोच्नै नपाएको कुराको पूर्ण मोडेल बनाएका हुन्छन् । अनि समाजले भनिदिन्छ, कसैलाई थाहा नभएको कुरा यसलाई कसरी थाहा भयो ? यो पागल होला । परेन त फसाद ।'
ààà
भुपीले त्यसै लेखेका रहेनछन्, यो हल्लैहल्लाको देश हो । बजारमा अनगिन्ती हल्ला छन् । यी हल्लाका बीचमा रमेश अर्को हल्ला थपिदिन्छन्, 'बजारमा साँच्चिकैका कविता पनि छन् ।'
शिखरि आरोहण
कवि संवाद, सप्तरङ्ग, नयां पत्रिका
बिहीबार २०६९ असोज २५
No comments:
Post a Comment