अनुभूति
मूर्तिकारले विशालकाय ढुंगालाई ताछ्दै ताछ्दै मूर्ति बनाएजसरी कविता तयार हुन्छ । जीवन पग्लेर सुनौला अक्षर बन्छन् कविता ।
lll
तलाउको पानीमा झल्मलाइरहेको चन्द्रमाजस्तो त्यही तस्बिरको प्रतिविम्ब हो कविता !
lll
(अनुभूति), कान्तिपुर
प्रकाशित मिति: २०६९ आश्विन २७ १०:५३
कवि बुद्धजस्तै हुन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो । बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरूले मानिसको हृदयलाई हल्लाएर जाने अचम्मको क्षमता बोकेका हुन्छन् । कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ । कविताको एक पंक्तिले आन्तरिक शक्ति र अथाह ऊर्जा भरिदिन सक्छ ।
कविता इतिहासको सर्वाेत्कृट साक्षी हो जो सत्यको भाषा बोल्छ, जो साहसको भाषा बोल्छ । संसारका दुःखहरूले बुद्ध जन्माए । एउटा बुद्धको पछि लागे अनेकौं सारीपुत्र र मौदगल्यायनहरू अर्थात् आनन्दहरू । एउटा असल कविताले पनि जन्माउँछ अनेक नयाँ विचारहरू र बन्छ परिवर्तनको बाहक ।
परिवर्तनकामी त्यस्तो कविता बेलाबखत कठघरामा उभ्याइएको आरोपीजस्तो प्रश्नचिह्नहरूमाझ घेरिन्छ र चर्चा हुन्छ- कविताको बजारमूल्य के ?
एउटा कविता बराबर कति किलो चामल ? वा कति कमायो कविताले ?
घामको तुलना झरीसँग कसरी गर्नु ? बाल्यकालको उमेर मिठो कि यौवनका दिनहरू ? आमाको आशिषलाई कुन मूल्य राख्नु ? त्यसैले कविता कति हजार प्रति बिक्नुसँग, कविता यसैले बजारमा कति पढिनुसँग -अझ, कति लोकपि्रय हुनु) को सम्बन्धसँग असम्बन्धित भएर हुर्किन्छ । कविताले मानिसका हृदयका तारहरूलाई हल्लाएर जाने अर्थपूर्ण झङ्कारहरू सिर्जना गर्न सक्छ कि सक्दैन, प्रश्न त्यत्ति हो ।
कविता अभौतिक वा पराभौतिक हो भन्ने थाहा हुँदाहुँदै हामी यसको बजारमूल्य निर्धारण गर्न खोज्छौं । समस्या यहीँनेर उत्पन्न हुन्छ । कविताको कुनै मूल्य हुँदैन । यो त अमूल्य हुन्छ । दर्शन, विचार, संस्कृतिलाई मूल्यमा कसरी नाप्नु ! कविताले बृहत् संस्कृति र सभ्यता निर्माण गर्छ । समाजलाई सिर्जनशील र गतिशील बनाउँछ । असल बाटोमा वा न्यायको बाटोमा हिँड्न अभिप्रेरित गर्छ ।
कहिलेकाहीँ मलाई सोधिन्छ, 'यो कवितामा भन्न खोजेको के हो ?'
कवितामा मैले लेख्न खोजेभन्दा बढी अर्थ हुन्छ अथवा कहिलेकाहीँ पाठकले बुझेभन्दा पनि बढी अर्थ हुन्छ । कवितामा प्रयोग गरिएका शब्दभन्दा पनि पर केही हो, कविता । किनभने लय वा संगीतको सम्मिलन हुन्छ कवितामा । कहिलेकाहीँ शब्दहरूबीचमा, स्पेसमा समेत लुकेको हुन्छ अर्थ र कहिलेकाहीँ प्रश्नचिह्न, विस्मयादिबोधकमा पनि । यसरी शब्दहरूले तयार गर्ने अर्थ, लय, सम्प्रेषण र अनुभूतिको व्यापकता विस्तार हुन्छ कवि र श्रोता वा पाठकबीच !
वैदिक युगदेखि प्रविधिको उच्चतम विकास भएको वर्तमानसम्म कविता उसैगरी मानिसहरूसँगै छ । पवित्र ऋचाहरू काव्यिक छन् । हाम्रा धार्मिक सांस्कृतिक र परम्परागत शृंखलामा समेत कविताको महत्त्वपूर्ण भूमिका छ । एउटा पुस्ताले अर्काे पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने ज्ञान, सीप, संस्कृति र अर्तीसमेत कवितात्मक हुनु अर्थपूर्ण छ भन्ने लाग्छ मलाई ।
श्रुति परम्परामा समेत किन छ काव्यात्मकता ? यसको अर्थ हो कवितामा त्यो शक्ति छ जसले स्मरणीय हुने क्षमता राख्छ अथवा यो हृदयस्पर्शी र मर्मस्पर्शी भाषा हो, मानिसको दुर्लभ आविस्कार हो । अथवा कवितामा हुने संगीतकला र विचारले मानिसलाई गतिशील, जागरुक र संस्कारयुक्त बनाउँछ । अहिलेसम्म मानिसले सिर्जना गरेको सबैभन्दा प्राञ्जल, ओजपूर्ण र सुसंस्कृत भाषा कविता नै हो, जसमा प्रयोग हुन्छ भाषा सौन्दर्यको अन्तिम उचाइ ।
कहिलेकाहीँ आफैंलाई सोधी हेर्छु- किन लेख्छु म कविता ? अथवा, जीवनमा के अर्थ छ कविताको ? अझ कहिलेकाहीँ, कसका लागि लेखिरहेछु म कविता ?
यसरी पटक-पटक प्रश्नको जंगलमा हराइरहन्छु म । संसारमा प्रश्नहरूको जुलुस छ । उत्तर खोज्नेहरूको शृंखलाबद्ध लाम पनि छ- बुद्ध, ओशो, रमण महषिर्, लाओत्से, खप्तड बाबा वा देवकोटा, सम, भूपी, रिमाल, घिमिरे... ।
संसारमा एउटा अर्काे र फेरि अर्काे पुस्ताले क्रमशः उधिनिरहन्छ ढुंगेखानीजस्ता प्रश्नका अनेकौं पत्र । प्रत्येक कवि त्यसरी नै उभिन्छ लाममा- प्रश्नहरूले घेरिएर र कविता जन्मिन्छ लिपिबद्ध अनेकौं भविष्यका खातिर ।
ब्रह्माण्डभित्र कविता हो एउटा बेग्लै
संसार ! र कविभित्र छ एउटा ब्रह्माण्ड !!
मूर्तिकारले विशालकाय ढुंगालाई ताछ्दै ताछ्दै मूर्ति बनाएजसरी कविता तयार हुन्छ । जीवन पग्लेर सुनौला अक्षर बन्छन् कविता ।
lll
एउटा मौन भाषा हो कविता । कवितामा लेखिएभन्दा पनि बढी अर्थ हुन्छन् । र प्रत्येक जीवन दुर्लभ रहस्यले भरिपूर्ण छ, प्रत्येक मानिस आफैंमा बेग्लो संसार हो । यो रहस्यमयी दुनियामा कविता अझ ठूलो रहस्य हो । कविभित्रको उथलपुथल, सामाजिक, पारिवारिक र वैयक्तिक अनुभूतिले निर्माण गर्ने एक बृहत् संस्कार र संस्कृति कवितामा पोखिन्छ ।
असल कविताहरू पुराना मित्रजस्तै हुन्छन् एकदम आत्मीय !
कलेज पढ्दा 'पञ्चायत' भन्ने त एउटा विषय नै थियो जसमा घोक्नुपथ्र्याे संसदीय व्यवस्था असफल हुनुका कारण । राजतन्त्र, सशस्त्र द्वन्द्व, संसदीय व्यवस्था, अनि राजाको शासन, गणतन्त्र, शान्ति र संविधान त्यस्तै अरू के-के । एक दिन २४० वर्षको इतिहासलाई पूर्णविराम लाएर दरबारबाहिर निस्कँदै गरेको पूर्वराजाको अनुहार हेर्यौं हामीले । जिन्दगीको सुन्दर यौवन 'जनयुद्ध' का लागि खर्चेर घर फर्किरहेको लडाकुसँग संवाद गर्यौं हामीले !
मखनटोलको पुरानो घरको बुइगलमा २ रुपैयाँ तिरेर भिडियोमा हेथ्र्यांै हामी अनेक सिनेमा । बागमतीमा नुहाउने पानी बग्थ्यो र अनामनगर भनिने अहिलेको घनाबस्ती दिउँसो एक्लै हिँड्न असजिलो मानिने एकान्त ठाउँ थियो ।
स्टोभलाई कुनै डाक्टरजस्तो भएर 'दम' को इन्जेक्सन दिँदै र खाना पकाउँदै म कविता खोजिरहेको हुन्थेँ । डेरामा बस्दा प्रशस्त समय र स्वतन्त्रता थियो । मन लागुन्जेल चुपचाप कोठामा बस्यो, मन नलागे ताल्चा झुन्डयायो, हिँडिदियो । अनेकौं राम्रा-नराम्रा संगतले उमेर माझिँदै गयो । कहिले ठेसले, कहिले उत्साहले जीवनका अध्यायहरू थपिँदै गए । मैले सयौं गीत र कविता लेखेँ र लेखेँ केही कथा । डेराहरूको प्रभाव मेरा सिर्जनामा प्रशस्त छ । 'साँझपख' होस् कि 'डेरा' वा 'नयाँ वर्ष' मा डेरा वरिपरिको तस्बिरलाई शब्दहरूमा टाँसेँ मैले ।
जीवन संघर्षको बाटोमा थियो । अनिदा र थकित रातहरूमा साथ थियो एउटा भरोसाको । नितान्त एक्ला दिनहरूमा पनि कोही त थियो जसले मलाई निराश हुन दिएन । क्लान्त मेरो शरीरलाई डोर्याएर हिँडाउँथ्यो ऊ । घन्टौं गुनगुन-गुनगुन कुरा गरिरहन्थेँ ऊसँग म । मानिस त हो आखिर, जब छोप्थ्यो निराशाले, अभाव, समस्याले उही हुन्थ्यो मार्गदर्शक । झरीले सर्लक्क पखालेर गएजस्तो धुम्मिएको आकाशलाई ऊ धुन्थ्यो मेरा पीरहरू, मनमा लागेका चोट र दागहरू । हो, कुनै कविता पढेपछि वा लेखेपछि मभित्र जग्मगाउँथ्यो उज्यालो, आशा र सपना । यिनै समयका हजारौं रङले अर्थपूर्ण बनाएका छन् जीवनको तस्बिर ।
तलाउको पानीमा झल्मलाइरहेको चन्द्रमाजस्तो त्यही तस्बिरको प्रतिविम्ब हो कविता !
lll
२०६६ वैशाखमा म रोल्पा पुगेँ । राजधानीभन्दा बाहिर कुनै दुर्गम क्षेत्रमा कामको पहिलो अनुभव । देश युद्धबाट शान्तितिर फर्किंदै थियो । मानिसहरूसँग जीवित थिए आक्रोश, आशा र नयाँ-नयाँ सपना । इतिहासले मिथकजस्तो बनाइसकेको थियो यो ठाउँको नाउँ ।
रोल्पामा नै भेटें मैले मेरै उमेरको एउटा पूर्वलडाकु । होलेरीको पहिलो आक्रमणमा संलग्न उनी पार्टीको केन्द्रीय सदस्य थिए र क. सिजल भनेर चिनिन्थे । कुहिनोदेखिको हात थिएन उनको । सोधूँसोधूँ लागेर पनि धेरैसम्म सन्दर्भ जोड्नै सकिनँ मैले । गाउँगाउँमा फिल्ड जाँदा हामीसँगै हुन्थ्यौं । त्यसबेला ठाडो उकाली, भीर र भत्किएका पुलिस पोस्ट देखाएर सुनाउँथे उनी उसबेलाका 'क्रान्ति' का कथाहरू- कसरी हिँडियो रातभर, कसरी घुम्यो टाउकैमाथि हेलिकप्टर, कसरी घेरियो प्रहरीचौकी र कसरी गरियो युद्ध । हामी एउटै घरमा बस्थ्यौं तर एकसाँझ नेपालगन्जको कुनै होटलको कोठामा विश्राम गर्दै मैले भनेँ, 'सिजलजी, म एउटा उपन्यास लेखूँ भन्दै छु, साँच्चि तपाईंको हात कसरी यस्तो भयो, भन्न मिल्छ भने सुनूँ न त्यो कथा ।'
उनले भने, 'जूनेली रात थियो त्यसबेला, पाल्पाको सदरमुकाम भुसालडाँडा हुँदै 'शत्रु' को गस्ती निस्कने पूर्वसूचना आइसकेको थियो पहिले नै । म तार, डेटोनेटर र टर्च बोकेर लागेँ त्यो ठाउँतिर । सँगै थिए मेरो कमान्डमा सहयोद्धा कमरेडहरू । चन्द्रमाको प्रकाशमा ध्यान लाएर म जोड्दै थिएँ विद्युतीय तार, तीनवटा फिट गरिसकेर अन्तिम चारौं धराप जोड्दा-जोड्दै कतिबेला नजोड्नुपर्ने तारहरू जोडिएछन् अचानक ।
बिउँझिदा रक्ताम्मे थियो भुइँ, एउटा हात पूरै नभएजस्तो लाग्यो र अर्काे हातका चाहिँ थिएनन् औंलाहरू । बिउँझिनेबित्तिकै मैले पहिलोपल्ट खोजेको वस्तु थियो साथीले उपहारमा ल्याइदिएको मलाई अत्यन्त मन पर्ने घडी । मैले सहयोद्धाहरूलाई घडी खोज्न लगाएँ ।
धेरैबेर खोजेपछि कच्याककुचुक भएको टुक्रा भेटियो घडीको । मैले मायालु पाराले त्यसलाई हेरिमात्र रहेँ । घडी भेटिएको नै भए पनि त्यो लाउनलाई अब मसँग हात थिएन ।'
(अनुभूति), कान्तिपुर
प्रकाशित मिति: २०६९ आश्विन २७ १०:५३
No comments:
Post a Comment