मनु मन्जिल |
एउटा कविलाई नदेखिने एउटा सानु देश मान्न मिल्छ कि मिल्दैन, म भन्न सक्तिनँ । तर यो पुस्ताको यौटा लोभलाग्दो कवि रमेश क्षितिजको 'घर फर्किरहेको मानिस' कवितासङ्घ्रह पढेपछि भने उनी यौटा घुमी हिँड्ने देश हुन्- मलाई त्यो लागिरह्यो । उनका कवितामा कहीँ न कहीँ यो राष्ट्रको सपना छ । यहाँका मानिसका आशाहरु छन् । निराशाहरु छन् । तिनले चित्रित गरेका नायक(नायिकाहरु यहीँका छन् । तिनका कवितामा कोही अनुपस्थित नै छ भने पनि द्धन्द्धमा, बाढीमा, पहिरामा परेर यहीँ बेपत्ता भएका मानिसहरुको अनुपस्थिति छ । कविले सम्झेका पुराना मित्रहरु प्नि यही देशका छन् । तिनले लेखेको साँझ, रात, बिहान, ऋतु आदि यहीँ देखिने समयका अनेक रङहरु हुन् । पहाड, गाउँ, सहर पनि यही मुलुकका छन् । तिनको डायरी हराएको बाटो पनि यहीँ कतै छ । तिनले प्रेमले झुकेर देखेका मानिस र अरु कुराहरु यही धर्तीका छन् । उनका कविताभित्रका युद्ध र प्रेममा हरबखत यही मुलुक आउँछ । बाजाहरुमा हाम्रै सारंगी आउँछ । हाम्रै सहनाई आउँछ । टोकियोमा हुँदा होस् वा बर्लिनमा यहीँको मानिस र माटाको कथा लेख्छन् रमेश कवितामा । देशको यत्ति धेरै भावना र चित्र हृदयमा लिएर लेख्ने यी कविलाई सानु राष्ट्र भनिदिँदा के होला र ? मलाई यही लागिरहन्छ ।
कोही देखिन्न पर घुम्तीमा आउँदै गरेको
फगत ! जँड्याहा भुइँकुहिरो मातेर एकाबिहानै
ठोक्किँदै हिँडेको छ मोडहरुमा
(हिउँद)
कवि क्षितिज यो देशको कविताको भाषा फर्काएर ल्याउने कवि पनि हुन् । हामीलाई थाहा छ- गएका केही दशकहरुमा हाम्रा थोरै कवितामा बाहेक साँचो कविताको भाषा कवितामा थिएन । बरु कविता कथा माग्यो, उपन्यास माग्यो, गीत माग्यो । तर कविता स्वयम् चाहिँ अरुलाई कपडा बाँड्दा बाँड्दै आफैं नांगिएर भागेको कुनै मिथकको उदार सम्राट जसरी बाँचिरहयो । कविताको भाषाको जिकिर कुनै कठिन र दश ठाउँ टालेको भाषाको आग्रह होइन । त्यसो त कवि रिमालले पनि त सरल भाषाको नै प्रयोग गरे- सरल तर कविताकै भाषा । भूपीले पनि सरल भाषाको नै प्रयोग गरे बुझिने तर सुन्दर काव्यकै भाषा । पछि थोरै प्रतिभाशाली कविहरुले मात्रै कविताको भाषामै कविता लेखे । तर धेरै कविताचाहिँ बिल्कुल भाषाविहीन भाषामा लेखिए । त्यस्ता कविताबाट वाक्क भएका कवि वैरागी काइँला त्यसलाई रोक्नुपर्ने कुरा गर्छन् । खासमा घाटा के भयो भने भाषाको सौन्दर्य र सामथ्र्यका निम्ति कविता अब पढ्नै नपर्ने भयो । सौन्दर्य र सामथ्र्यका कारण इतिहासभरि प्रतिष्ठत कविता पछिल्लो समयमा आएर स-साना कुण्ठा र विरह व्यक्त गर्ने मरन्च्याँसे भरियाको काम गर्ने भयो । साहित्यमा यो यौटा ठूलो घाटा थियो जसलाई प्रतिभावान् कविहरुले मात्र पूरा गर्न सक्थे । रमेश क्षितिजको यो नवीन संग्रहको आगमन यसर्थ महत्वको छ कि प्रत्येक कवितामा उनले यो देशको काव्यको सरल तर रहस्यमय, मौन र शालीन भाषाको उपयोग गरेका छन् । कविले कविताले हराएको भाषा आफ्नै मौनता सम्म पुगेर, खोजेर, फर्काएर ल्याएका छन् ।
कविता होस् वा गीत नेपाली प्रेमको अभिव्यक्तिमा त कवि क्षितिजलाई थोरैले मात्र छुने आँट गर्लान् । किनकि उनको भाषा नै प्रेमिल र सपनामय छ- एकखास प्रेमीकै जस्तो । उनका गम्भीर र प्रेममय अभिव्यक्ति आउनाका पनि अनेक कारणहरु छन् । उनले सानैमा गाउँ छोडे - गाउँको प्रेम, आफन्तको प्रेम, स्कूल, बाटो र खेलमैदानको प्रेम उनीभित्र अजर भएर जागेर बसिरह्यो । काठमाडौंमा बस्ता डेरा गरेर बसे – दशकौंपछि त्यो छोड्दा डेराकै प्रेम उनको आदत बनिसकेको थियो । द्धन्द्धकालमा पश्चिमका पहाडी जिल्लाहरुमा गएर काम गरे- टुहुरा, बिधवा र अनाहकमा ज्यान गुमाएका निर्दोष मानिसहरुको प्रेमले उनको हृदय भरियो । उहिलेका साथीहरु यात्रामा छुट्दै गए- तिनको प्रेम बिर्सन सकेनन् । आफ्नै किशोरवय र 'गैरजिम्मेवार इच्छा' र रहरहरुको प्रेमबाट पनि उनी मुक्त भएनन्, जसरी अरु पनि हुँदैनन् । विदेश गए- राष्ट्रको प्रेमले बसिखान दिएन । फर्केर आए- विदेशमा भेटेका मित्रहरुको याद आइरह्यो । सिल्भियाहरुसित काठमाडौंमा बिताएका साँझमध्ये साँझ र सम्झनाहरु मात्र बचे । उनको सारा कवितामा प्रेम त्यसरी अनेक रुपमा पोखिएको छ । उनको हरेक कवितामा कतै न कतै नोस्टाल्जिया र यो देशको मौलिक मुड छ, प्रेम अलग गरिदिए क्षितिजका कवितामा ज्यादै थोरै मात्र कविता बांकी रहलान् । त्यसो गरे बिहान ताराहरु मेटिए जसरी उनका कविताको सजावट सहजै मेटिएर जान्छ ।
हेर्दा सुकिलो सुट लगाएर हिँड्ने साधुजस्ता कवि क्षितिजका कविताहरु नै बोल्छन- उनको अध्यात्मसित कति गहिरो र अगाध प्रेम छ । उनको भाषा एकदमै मौन लाग्नुको कारणसमेत सायद त्यही नै हो । पूर्वीय जेन कविहरुले आफ्नो ध्यानस्थ 'मुड' लाई व्यक्त गर्न प्रकृतिको बेजोड प्रयोग गरेका छन् । कवितालाई अध्यात्मको उज्यालो ठान्ने क्षितिजका कवितामा पनि प्रकृति हमेसा उपस्थित छ । उनको संगीतले जोडिएको चित्रात्मक भाषा जेन कविहरुको हाइकुको एकदम नजीक छ र नै चम्किला छन् उनका कविता- पेन्टिङ्गमा गहिरो अध्यात्मको आभा देखिए जसरी । प्रेम, अध्यात्म र नोस्टाल्जियाका निम्ति उनको भाषा विशेष किसिमले बनेको लाग्छ । सिर्जनात्मक भाषा प्रयोगकै दृष्टिले पनि यी युवाकवि महत्वपूर्ण छन् ।
उनका कविताको विषय र शैली नै पनि मनोवाद अर्थात् अध्यात्मवादीहरुले भन्ने गरेजस्तो 'सेल्फ-टक' ले सजिएको छ । कुनै वस्तु वा घटनालाई हेर्दा, देख्ता एक संवेदनशील मानिसको हृदयमा जे उभार आउँछ, त्यसको प्रतिविम्व ल्याउन सके मनोयोगपूर्ण अभिव्यक्ति बन्दछ । कुनै विषय पक्रेपछि त्यसमाथि ध्यानमा स्थिर भएर त्यसबाट उठेका झिल्काहरु लेख्ने भएकाले पनि क्षितिजको कवितामा प्रकृतिले चुपचाप बोलेजस्तो, प्रेमिकाको आँखाले बोलेजस्तो, अनुहारले भनेजस्तो यौटा अभिव्यक्तिसहितको मौनता आउँछ । ध्यानमा उज्यालो देख्ने हाम्रो संस्कार पनि हो । बुद्ध, ऋषिमुनि, ध्यानी, योगीहरुले यही पुँजी हामीलाई दिएजसको प्रयोग यी कविले प्रेमले गरेका छन् ।
प्रख्यात अमेरिकी कवि वाल्ट ह्विटम्यानको यौटा सन्दर्भ छ । एकपटक तिनले के भने भने एउटा स्वतन्त्र देशका निम्ति स्वतन्त्र कविहरु चाहिन्छ । त्यसमा जंगलीपन, पाशविकता, क्रूरता, बहादुरी, सपना, खुला यौन विम्बहरु चाहिन्छन् । त्यसको आशय के थियो भने कसैले यौन पढ्न चाहँदा पनि कविता पढ्थ्यो । पाशविक सुख खोज्नेले पनि सपना पढ्थ्यो । तर उनले जे भने त्यो सबै राम्रा कविहरुका कवितामा धेरथोर हुन्छ नै । क्षितिजको कवितामा नि मौन आवाज सुन्दासुन्दै पाठकले उनको सुन्दर भाषामा खिचिएका चित्रहरु नियाल्छ । जनयुद्धको कथा पढ्दापढ्दै कुनै काव्यिक रोमाञ्च ऊभित्र प्रवेश गरिसक्छ । अध्यात्मको उज्यालो आत्मामा पुगिसक्छ । कविको नोस्टालजिया पढ्दापढ्दै पाठकले आफ्नै बितेको समय र जीवन सम्झन्छ । कविको प्रेम पढ्दापढ्दै उसले त्यस कविताभित्रका समग्र पँुजीमा आँखा लगाउँछ । पाठक अनुभूतिशील बन्छ जन एक अहम करा हो । तर उनको कविता पढ्दापढ्दै वाचाल कविाको पनि अभाव महसस गर्लान् पाठकहरुले । तानाशाहलाई ललकार्ने, हकार्ने कविता खोजिएलान् । व्यंग्य, जन अव्यवस्थित देशमा धेरै बिक्छ, त्यसको खोजी पनि होला । विम्बको पिरामिड वा राजनीतक अर्थ बोक्ने तर्कहरु खोजिएलान् । नाराहरु खेजिएलान् । म ठान्छु( ती खोजीहरु पनि जायज छन् र खोजेको सबै कुरा क्षितिजको कवितामा नभेटिएलान् पनि । तर उनको कवितामा जे भेटिन्छ त्यसले चाहिँ हृदय हल्लाउँछ । त्यो एस्थेटिक्स को धर्म उनको कवितामा छ । कविताको धर्म उनको कवितामा छ ।
उसको गोजीमा थियो सुनौलो रङको कलम्
हातमा खोपेको थियो अर्धाङ्गिनीको नाउँ
छातीमा थियो चोटको निसाना र
ऊ बोल्थ्यो स्वाधनिताको
उखान
उसलाई कसैले देख्यौ कि ?
(बेपत्ता)
घर फर्किरहेको मानिस, विधाः कविता, लेखकः रमेश क्षितिज, प्रकाशकः फाइन प्रिन्ट, मल्य रु.१९९।-
कोसेली, कान्तिपुर
शनिबार, १३ असोज, २०६९
Saturday, 29 September, 2012
No comments:
Post a Comment