धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013) मा Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा "अगेनाछेउ गरेको बकसपत्र" कविता वाचन गर्दै कवि रमेश क्षितिज
अगेनाछेउ गरेको बकसपत्र
लैजानू – यी स्वप्निल आँखाहरु लैजानू
पग्लेर कहिल्यै नसकिने यिनीहरुलाई
गाडिदिनू कुनै फराकिलो सुख्खा चउरमा
वर्षौपछि निर्माण हुनेछ
कुनै नुनिलो पानीको दह
र हेर्नू त्यसभित्र सल्बलाइरहेका झुप्राहरुको प्रतिविम्ब
गरिबहरुले मात्रै माया गर्नुपर्ने
यो देशसँग विरक्त भएर
म छु रहरहरुको सम्मोहनबाट पर
कतै अगेनाको डिलनेर
आगो भएर आफैँ आगो तापिरहेको !
सधैँ सपनाहरुको
गरुंङ्गो भारी किन बोकाउँछ यो देश र?
माटोभन्दा बढी मलाई मान्छेसँग स्नेह छ,
लैजानू यो छाती र टुक्र्याउनू असंख्य टुक्राहरुमा,
सैनिकले कवाज खेलिरहेको मैदानजस्तो भइसकेको
यसलाई
सिलेट बनाएर बाँडिदिनू
बाबु मुग्लान झरेका असक्त नानीहरुका हातमा
र लेख्न सिकाउनू तिनको उज्यालो भविष्य,
यी हातहरु लैजानू र गाडिदिनू कुनै दोबाटोमा
यी कर्मशील छन् – झाङ्गिदै–झाङ्गिदै
कुनै दिन वृक्ष बनेर छहारी दिनेछन्
गोठालाहरुलाई
त्यसमुन्तिर बसेर हेर्नेछन् उनीहरु
चरनमा छोडेका वस्तुहरु र उनीहरुको छात्रीजस्तो
सडकमा चिप्लिरहेका चिल्ला कारहरु,
खुटृाहरु लैजानू र पुल बनाउनू दुर्गम गाउँहरुमा
पत्रपत्र उप्काएर छाला लैजानू र पाल दिनू
सुकुम्बासीहरुलाई,
हाडहरु लैजानू र लट्ठी दिनू आरोहीलाई
निचोरेर सम्पूर्ण रगत पनि लैजानू र रङ दिनू
मजदुरहरुलाई
अनि रंगाउनू यो देशको झन्डा,
यो मुटु पनि लैजानू सहँदासहँदा ढुङ्गा भइसकेको
यसलाई हथौडा बनाउँछ कुनै श्रमिकले !
वर्षौँ पछि सबैले बिर्सिनेछन् मलाई
कुनै दिन थिएँ म पनि
हाँस्थेँ, खेल्थेँ र माया गर्थे जिन्दगीलाई
मेरै हातमा वृक्षमुन्तिर तोक्मा अड्याएर
बिसाइरहेका भरियाहरुलाई समेत थाह हुनछैन
कुनै बेला म पनि मान्छे थिएँ उनीहरुजस्तै
सम्पूर्ण षड्यन्त्रबाट अनभिज्ञ उनीहरु
कुनै लोकगीत गुन्गुनाउँदै हिँड्नेछन् आफ्नो बाटो,
कुनै ढुंगाको देउता बन्नु छैन मलाई
र छैन कुनै स्वर्णिम नाम लेखाउने मोह पनि
निर्धनहरुको अपदस्थ इतिहास
उसका सन्तानहरुले सम्झिने कथामात्रै हुन्,
मन्जुर छ, मलाई सबै मन्जुर छ !
तर एउटा सर्त स्वीकार्नुपर्छ तिमीले पनि"
"बाँच्न जन्मिन्छन् रमेश क्षितिजहरु"
रमेश क्षितिज
(अर्को साँझ पर्खेर साँझमा)
No comments:
Post a Comment