मिति २०६९ माघ २७ गते (9th February, 2013) मा धराने फ्यान Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा कवि रमेश क्षितिज "लडाकुको रुमाल" कविता वाचन गर्दै
स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिँडेछ बाटोछेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल
कुन तर्कनामा थियो होला ऊ
र बिर्सेर हिँड्यो आँसुको अक्षरहरुले लिपिबद्ध गरेको
अनेक कथाहरुको एउटा संग्रहजस्तो
थोपा-थोपा पसिनाले भिजेको कुनै गम्भीर तेलचित्रजस्तो
अझ क्यान्टोन्मेन्टका उदास दिनहरुमा
कहिले हातमा कहिले गलामा भएर
नछुटिृने साथीजस्तो - रुमाल
घर पुगेर हेर्नेछ उसले
किलामा झुन्डिएको स्कुलको झोला
जुन उसले छोडिहिँडेको थियो आँगनमा वर्षौ पहिले
र सामेल भएको थियो सैन्य तालिममा
ह्ेर्नेछ सहिद घोषणा गरिएकी निर्दोष बहिनीको तस्विर
त्यसमाथि सुकिसकेको माला
सम्झिनेछ – जनताको मुक्तिका लागि भनेर आफैंले दिएको
सदस्यता
केही सोधेझैं लाग्नेछ उसलाई तस्विरका
चम्किला आँखाहरुले
कठै भनेर सुम्सुम्याउने दयालु हजुरआमा हुनेछैनन् अब
हुनेछैन रोएर बाटो छेक्ने कोही
साँझको आकाशबाट झरेको ताराजस्तो
गयब हुनेछ उत्साह अचानक
सामुन्नेमा हुनेछन् जटिल प्रश्नजस्ता बाआमाका अनुहार
बाबु ! कहाँ फर्फरायो क्रान्तिको रातो झन्डा रु
आँखामा टिलपिल टिलपिल हुनेछन् आँशुहरु
अनि खोज्नेछ उसले यही रुमाल !
स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिँडेछ बाटोछेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल !
- रमेश क्षितिज
No comments:
Post a Comment