Saturday, November 24, 2012

कवितामा सुन्दर चित्र

क्षितिजका कविताहरुको इन्द्रेनी र इन्द्रेनीहरुको कोरसले भन्छन् उनका बिम्बहरु दर्घटित भएका छैनन् । 

सरस्वती प्रतीक्षा
आकलनको दायराभित्र अटाउने गरी सबै कुराको मौद्रिक मूल्य हुँदैन ।  हँुदो हो त शून्यप्राय रहेको कविताको मौद्रिक मूल्यको कारण कविता साह्रै निरीह र टीठलाग्दो देखिनुपर्ने । तर, समकालीन नेपाली साहित्यमा कवि र कविताको अनुहार झन्झन ओजपूर्ण हुँदैछ । तिनैमध्ये एउटा ओजपूर्ण अनुहार हुन् रमेश क्षितिज र उनको पछिल्लो कविता संग्रहको नाम हो 'घर फर्किरहेको मानिस'।

कवि क्षितिज कवितालाई ख्यालख्यालको आवरण ओढाउन  रुचाउँदैनन् । लहैलहैमा लेखिने वा टाइमपास जस्ता हल्काफुल्का पखेटाहरुको  सहायताले उनी कविताको उडान भर्न स्वीकार गर्दैनन् । भन्छन्, कवि बुद्धजस्तै हन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो । बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरुले मानिसको हृदय हल्लाएर जाने अचम्मको क्षमता बोकेका हन्छन् । कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ ।

कविताप्रति क्षितिजको यो विश्वास समकालीन कविहरुको गम्भीरता, बौद्धिकता, कविताप्रतिको अथाह लगाव, र संवेदनशीलताको गतिलो उदाहरण हो । कविताको काव्यिक आर्यसत्यलाई बुझेका कवि क्षितिज कहीँकतै रिम्पोछेझैँ कविताका आदिम गुफाहरुमा ध्यानमग्न भेटिए कसैले आश्चर्य नमाने हुन्छ किनभने उनलाई थाहा छ, कविताको गुफा युगकै अँध्यारो पखाल्न सक्ने आलोचकहरुको तपोभूमि हो ।

'समवन हु नेभर लिभ्स द होम, नेभर गेट्स द जोय अफ रिटनिङ होम’ भनेझैँ घर फर्किरहेको मानिसले यात्रामा धेरै कुरा देखेको हुन्छ, धेरै भोगेको हुन्छ र धेरै सिकेको हुन्छ । यसरी घर फर्कँदा ऊ घर फर्कनुको परम आनन्द र सम्बोधीसँगै फर्केको हुन्छ । यात्रामा रुचि राख्ने र यात्राका रोमाञ्चकताहरुसँग आफूलाई साट्न मन पराउने कोही पनि अनभिज्ञ हुनै सक्दैन साइबेरियाको चिसो मरुभूमिदेखि अलास्काका दुर्गम सथलहरुसम्म, इजिप्टका पिरामिडहरुदेखि मेक्सिकोको माया मन्दिरसम्म । रातरातभर ननिदाउने सहर लस भेगासदेखि टाइम्स स्क्वायरसम्म । ुघर फर्किरहेको मानिस’ भित्रका ४६ थान कविताले कविताका माध्यमबाट हामीलाई यात्रा गराउँछ- विभिन्न ठाउँमा । किताबले विभिन्न ठाउँका फरक परिवेश र घट्ना, दुर्घटनाहरुसँग हाम्रो जम्काभेट गराइदिन्छ ।

संग्रहमा क्षितिज कहीँकतै 'इन टु द वाइल्ड’का नायकझैँ लाग्छन्, जो निर्जनताहरुमा पनि जीवनको उच्च अर्थ र भावहरुको उत्खनन गर्न तम्तयार भइरहन्छ । कहीँकतै हर्मन हेसको उपन्यास सिद्धार्थका नायकझैँ लाग्छन् जो जीवनका अनुत्तरित कतिपय ज्ञात, अज्ञात प्रश्नहरुका उत्तरको खोजीमा हुन्छ । ट्रान्जिट, जहाजमा उडिरहँदा, आधार शिविर, बर्लिनमा साँझ, रेलमा फर्किँदै गर्दा, नर्वेमाथिको आकाश, टोकियोमा एक दिन, युद्धग्रस्त  सहरमा, साँझमा समुद्र, पिपलबोट लगायत शीर्षकले नै संकेत गर्छन्, यी कविता विभिन्न यात्राका विभिन्न परिदृश्यका काव्यिक क्यानभासहरु हुन् । कुनै ठाउँ विशेष, परिवेश र भूगोल विशेष सम्बद्ध यी कविता आफैँमा कतै रंगीन र कतै रंगहीन लालित्यहरु हुन् । यात्राको क्रममा भेटिएका विभिन्न पात्रको चित्रणमा पनि उत्तिकै काव्यात्मक रंग दलेका छन् क्षितिजले । पुराना मित्रहरु, एउटा मानिसको प्रस्थान, छाया, एक्ली गीत, चरित्र अभिनेता, अनाम, सानीमा, लडाकुको रुमाल, नाटक हेरेर घर फर्किरहेको एउटा दर्शक, फोनमा रोइरहेकी केटी आदि कविता पात्रगत चित्रणका खास नमुना हुन् । 

क्षितिजको कवितामा घरबाट हिँडेको मान्छे अन्ततः घर नै फर्किरहेको छ । घरसँग मान्छेका जराहरु जोडिएका हुन्छन् । घरसँग मान्छेको आस्तित्विक पृष्ठभूमि अनि हर थालनी र अन्तहरु जेडिएका  हुन्छन् । जेट विमानसँगै भूगोलको जुनसुकै छेउमा पुगे पनि अन्ततः कवि क्षितिज घरतर्फै फर्कन्छन् अर्थात् जीवनका वास्तविक जराहरुतर्फै फर्कन्छन् । सरसर्ती हेर्दा यी कवितामा घर केवल घर हो, गहिरिएर हेर्दा घर भन्नु नै देश र देश भन्नु नै घर हो । घर भन्नु नै आमा र आमाको पर्याय पनि हो । यसर्थ भन्न सकिन्छ, माटोको चेतना अनि समाज र आफ्नो राष्ट्रप्रतिका सम्पूर्ण निष्ठाका लाभाहरु बगेका छन् क्षितिजका कवितामा । सामाजिक विषमताहरुले जन्माएको हतियार र हतियारले जन्माएको विद्रुपतालाई देशप्रेम र देशविग्रहका अनेकन ध्वनिमार्फत ध्वन्यकरण गरेका छन् उनले ।

झिलिमिली सभ्यताहरुको रौनक छाडेर अर्गानिक र तीख्खर जीवनसारहरुतर्फै फर्कन्छन् उनी, भलै ती जीवनसारहरु पुरातात्विक दुःखहरुले निथुक्क रुझेका किन नहुन् । कविताप्रतिको विश्वासजस्तै जीवनप्रति कवि क्षितिजको विश्वास पनि असाध्यै रहरलाग्दो र जीवन्त छ । आफ्नो कविता 'जीवनगीत' मा उनी लेख्छन्, 'सांच्ची एकपल्ट बाँच्न जानेपछि जति निमोठ्यो उति पलाउँछ जीवनको मुना ।’

यो विचारको युगमा कवि क्षितिजका कविताहरुमा प्रदत्त विचार अलि अस्पष्ट अस्पष्ट सुनिन्छ । परिवेश र पात्रहरुको कवितात्मक व्याख्यामा अल्झँदाअल्झँदै उनले कविताको सटीकता र खँदिलोपनामा ध्यान दिन बिर्सेको आभाष हुन्छ थुप्रै कविताहरुमा । घुमिफिरी घरेलु र ग्रामीण बिम्बहरुलाई पालिस लगाउनमा त खप्पीस छन् उनी, तर उनका कवितामा नयाँ बिम्ब र नयाँ स्वादहरुको अभाव भने महसुस हुन्छ पाठकहरुलाई ।

संग्रहमा 'पहिलो प्रेम र प्रिय कविताको आत्मकथा’ शीर्षकमा उनको आफ्नै प्रकारको आत्मकथ्य पनि छ । कविले यति धेरे कुरा नबोलेर (बोल्नै परे छोटकरमिा बोलेर) आफ्ना कवितालाई नै बोल्न दिएको भए हुन्थ्यो । जे होस्, क्षितिजको पहिलो प्रेम अर्थात् कविता, आफ्नो पहिलो प्रेमप्रतिको कविको आस्था र निष्ठा प्रशंसनीय छ । अक्सर धेरै जनाको पहिलो प्रेम दुर्घटित हुन्छ । घटित हुनुपर्ने प्रेम दुर्घटित भएपछि बिम्बहरुले सौन्दर्य हराउँछन् । अवतरण नहँुदै अवतरणले लय हराउँछ । रमेश क्षितिजका कविताहरुको इन्द्रेणी र इन्द्रेणीहरुको कोरसले भन्छन्, उनका बिम्बहरु दुर्घटित भएका छैनन् । आफ्ना सबैजसो कवितालार्ई न्याय गरेका छन् उनले । कविताको नदी रचेँ भन्दै निकास नभएको पोखरीझैँ फोहोर पानी र झारहरु जम्मा गरेका छैनन् उनले ।

'इट, प्रे, लभ'मा एलिजावेथ गिलबर्टले आफैंलाई खोज्दै अनि आफ्नो सक्कली खुसी, संतुष्टि र सन्तुलनको खोजमा इटालीदेखि भारतसम्म र अन्त्यमा इन्डोनेसियाको बालीसम्मको यात्रा तय गर्छे । यात्रामा एकपछि अर्को अनुभव र अनुभूतिको अध्यायसँगै अन्त्यमा आफूले खोजेको सौन्दर्यसँग एकाकार हुन पुग्छे । अब एकाकार हुने पालो कविताप्रेमी र पारखीहरुको । समकालीन नेपाली कविताको एउटा ओज र स्वरुप बुझ्न एकपल्ट रमेश क्षितिजका कविताहरुसँग यात्रारत हुनैपर्छ । 'घर फर्किरहेको मानिस' अर्थात एउटा चित्रमय हस्तक्षेप जहाँबाट रसास्वादन गर्न सकिन्छ कविताको वृत्तमा उनिएका यात्राका सुन्दर चित्रांकनहरुको । 


कविः रमेश क्षितिज
प्रकाशकः फाइन प्रिन्ट
पृष्ठ: ९८
मूल्यः रु. १९९/-

नागरिक
शनिबार, ९ मसिर २०६९
Saturday, 24 November 2012

No comments:

Post a Comment