Saturday, July 28, 2012

मदानीमा रमेश क्षितिज

ऐरावती समाचारदाता
दाङ, १३ साउन ।
मदानी साहित्य समूह नेपालले शनिवार घोराहीमा आयोजना गरेको “मदानीमा रमेश क्षितिजः कवि, व्यक्तित्व र कविता” विषयक कार्यक्रममा आफ्ना कविता सुनाउँदै कवि एवं गीतकार रमेश क्षितिज । तस्वीर : डिल्ली मल्ल
 “कहिलेकाहीं हामी जे चीजलाई दुःख ठानिरहेका हुन्छौं, त्यही चीज जीवनको सौन्दर्य बन्छ” भन्ने कुरा बिर्सिरहेका हुन्छौं ।” हो, शनिवार घोराहीमा मदानी साहित्य समूह नेपालले आयोजना गरेको “मदानीमा रमेश क्षितिजः कवि, व्यक्तित्व र कविता” विषयक मन्थन कार्यक्रममा मथिदै यी कुरा बोल्दै थिए, गीतकार एवं कवि रमेश क्षितिज ।


“त्यो अन्त्य होइन तिमीले सोचेजस्तो
अझै नयाँ पात्रहरु फेरि देखिनेछन् रङ्गमञ्चमा
आउनेछ एउटा अर्कै नयाँ मोड
मध्यान्तरपछि– फेरि झुल्किनेछ नयाँ रङ
र तिम्रो शिरमाथि खस्नेछ प्रकाशको फोहरा
कथा अझै बाँकी छ,
निराशाको हुस्सुले छोपेको टाकुराको ठिक माथिबाट
बादलको काक्रोलाई चरक्क चिर्दै निस्कनेछ चुलेसीजस्तो सूर्य
र तिम्रो ओठमा फक्रिनेछ मृदु मुस्कानको कोपिला
फेरिनेछ आँखा हुदै बगिरहेको बर्सादी दिन
थामिनेछ गड्याङगुडुङ चट्याङहरुको जनयुद्ध
चैतको प्रचण्ड गर्मीमा बेला बेलामा सुम्सुम्याएर जाने चीसो वतासजस्तो
एउटा नयाँ चेतना बौराउनेछ वरिपरि”

“बाँकी कथा” शीर्षकको यो कवितासहित क्षितिजले मदानीमा आफ्ना पाँच कविता वाचन गरे दर्जनौं स्रोतामाझ । फाइन प्रिन्टद्वारा छिट्टै बजारमा ल्याउन थालिएको “घर फर्किरहेको मानिस” कवितासंग्रहबाट उनले पाँच कविता मदानीमा सुनाएका हुन् । आफ्ना ४५ वटा कविता समेटिएको “घर फर्किरहेको मानिस” कवितासंग्रहमा रहेका टोकियो शहर, बेपत्ता, नयाँ सपना र साँझपख शीर्षकका कविता सुनाएका थिए रमेशले । रुख, पातजस्तै गलेर जाने नभई इतिहासमा एउटा थोप्लोजत्तिकै भए पनि परिचय बनाउनका लागि आफूले कविता लेख्ने गरेको कवि क्षितिजको भनाई थियो । “एकताकाका संघर्षका दिनहरुमा यो सारा संसारमा मैमात्रै दुःखारी हो कि जस्तो लाग्थ्यो”, क्षितिजले थपे, “तर मानिसलाई संघर्षले बलियो बनाउँदो रहेछ । हामीले दुःख ठानिरहेको चीज नै जीवनको सुन्दरता हुँदोरहेछ ।”

“मान्छेलाई भगवान बनाउनु हुँदैन”, कवि क्षितिजले जोडे, “मान्छेलाई मान्छे नै रहन दिने हो भने मान्छे वास्तवमा सुन्दर हुन्छ ।” कुनै औपचारिकताबिना चलेको मदानी साहित्य समूहको पहिलो कार्यक्रममा स्रोताहरुको राम्रो सहभागिता रहेको थियो ।

आफूले साहित्य लेख्न थालेपछि गुरुहरुको पहिलो प्रतिक्रिया थियो रे, “फलानोको छोरो बिग्रियो ।” तर कवि रमेश क्षितिजले दावी गरे, “लोकसेवामा सफल भएपछि कसरी सफलता मिल्यो भनेर एउटा कार्यक्रम भएको थियो । त्यसमा मैले एउटै जवाफ दिएको थिएँ, म साहित्य लेख्छु ।” साहित्यकारले समाजलाई बुझ्ने, पर्गेल्ने र विश्लेषण गर्नसक्ने भएकाले सफलता प्राप्त हुने उनको दावी थियो । पठन–संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै गीतकारको अर्को परिचयसमेत बनाइसकेका कवि क्षितिजले आशा जगाए, “अब साहित्य पनि व्यवसायिकरुपमा अघि बढ्न थालेको छ । साहित्यको विकासका लागि वातावरण बन्दै गएको छ ।” उनले सूचना प्रविधिको विकासले अबका स्रष्टाहरुले पहिलेजस्तो दुःख नपाउने पनि उल्लेख गरे ।

कवि तथा गीतकार रमेश क्षितिजको प्रस्तुतिपछि समीक्षकत्रय टीकाराम उदासी, कृष्णराज डीसी र हरिलाल पौडेलले कवि रमेश क्षितिजको कवि, व्यक्तित्व र कविताबारे समीक्षा गरेका थिए । उनीहरुले क्षितिजका कवितामा कला, भाव, बिम्ब, प्रतीक, लय र चेतनाका कोणबाट हेर्ने प्रयास गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले शुभकामना व्यक्त गरेका थिए भने मदानी साहित्य समूहका श्रीधर भावुकले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुका जिज्ञासाको जवाफ कवि क्षितिजले दिएका थिए ।


No comments:

Post a Comment